समीक्षा अवधिमा २९ विकास बैंकको चुक्ता पूँजी औसतमा ५५.३३ प्रतिशतले बढेर ३९ अर्ब २२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यस्तै बैंकहरुको जगेडा कोष औसतमा २७.४५ प्रतिशतले बढेर १२ अर्ब ०५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा २९ विकास बैंकहरुले कूल ३ खर्ब ४० अर्ब २६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ३ खर्ब २ अर्ब ३ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । गत आवको पुस मसान्तको तुलनामा विकास बैंकहरुको निक्षेप संकलन औसतमा ३३.४५ प्रतिशत र कर्जा लगानी ३८.५२ प्रतिशतले बढेको छ ।
यस अवधिमा विकास बैंकहरुको सञ्चालन नाफा औसतमा ९२.३७ प्रतिशत बढेर ४ अर्ब ७८ करोड ७४ लाख रुपैयाँ कमाएका छन् ।
सूचाङ्कगत आधारमा कुनमा कुन बैंक अगाडि छ त हेरौं ।
चुक्ता पूँजी, सञ्चालन नाफा र खुद नाफा
२९ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंक चुक्ता पूँजी, सञ्चालन नाफा र खुद नाफा तीनवटै सूचाङ्कमा अब्बल देखिएको छ । बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड पूँजी परिचालन गरि ६२ करोड ५५ लाख सञ्चालन नाफा र ४० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
सप्तकोशी डेभलपमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको काबेली विकास बैंकको चुक्ता पूँजी सबैभन्दा कम २८ करोड ४३ लाख रुपैयाँ रहेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सञ्चालन नाफा सबैभन्दा कम ३३ लाख रहेको छ । खराब कर्जा उठाउँदा कम्पनीको खुद नाफा भने बढेको हो । कर्णाली डेभलपमेन्ट बैंकले सबैभन्दा कम ४९ लाख मात्र खुद नाफा आर्जन गरेको छ ।
गत आवको पुस मसान्त र चालू आवको यसै अवधिको तुलना गर्दा ग्रीन डेभलपमेन्ट बैंकको चुक्ता पूँजी, सञ्चालन नाफा र खुद नाफा तीनै सूचाङ्कमा सबैभन्दा धेरै प्रतिशतले बढाएको छ । बैंकले चुक्ता पूँजी ४०० प्रतिशत, सञ्चालन नाफा १०८७ प्रतिशत र खुद नाफा ४९० प्रतिशतले बढेको छ ।
प्रतिशतका आधारमा चुक्ता पूँजी वृद्धिमा हाम्रो विकास बैंकको सबैभन्दा कम ३.७७ प्रतिशत मात्र बढेको हो । कञ्चन डेभलपमेन्ट बैंकको सञ्चालन नाफा ३६ प्रतिशतले घटेको छ भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको खुद नाफा १७.४६ प्रतिशतले घटेको छ ।
जगेडा कोष, प्रतिशेयर नेटवर्थ र प्रतिशेयर आम्दानी
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २९ विकास बैंकमध्ये लुम्बिनी विकास बैंकको जगेडा कोष र प्रतिशेयर नेटवर्थ मजबुत रहेको छ भने प्रतिशेयर आम्दानीका आधार मुक्तिनाथ विकास बैंक नै अब्बल छ ।
लुम्बिनी विकास बैंकको जगेडा कोषमा एक अर्ब ३५ करोड रुपैयाँ सञ्चित रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ३६ रुपैयाँ रहेको छ । मुक्तिनाथ विकास बैंक प्रतिशेयर आम्दानी सबै विकास बैंकभन्दा धेरै २६ रुपैयाँ ४० पैसा रहेको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको जगेडा सबैभन्दा कमजोर एक करोड ५३ लाख मात्र छ भने प्रतिशेयर नेटवर्थ पनि यहि बैंकको कम १०३ रुपैयाँ ७ पैसा रहेको छ ।
गत आवको पुस मसान्त र चालू आवको यसै अवधिको वृद्दि प्रतिशतका आधारमा तुलना गर्दा ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै जगेडा कोषको आकार ३७५ प्रतिशतले बढेको छ भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको जगेडा कोष ४८ प्रतिशतले घटेको छ ।
मितेरी डेभलपमेन्ट बैंकको प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै १८.५४ प्रतिशतले बढेका छ भने काबेली विकास बैंकको करिब २४ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तसम्म घाटामा रहेको कर्णली विकास बैंकले खुद नाफा धनात्मक बनाउँदा प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ११२ प्रतिशतले सुधार गरेको छ भने काबेली विकास बैंकको इपिएस सबैभन्दा धेरै ४७ प्रतिशत बढीले घटेको छ ।
निक्षेप संकलन, कर्जा लगानी र खराब कर्जा अनुपात
दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेका २९ विकास बैंकहरुले कूल तीन खर्ब ४० अर्ब निक्षेप संकलन गरि तीन खर्ब २ अर्ब रुपैयाँ बराबरको कर्जा परिचालन गरेका छन् ।
जसमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ३८ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ३२ अर्ब ९७ करोड कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप संकलन पनि सबैभन्दा उच्च ७५.४३ प्रतिशतले बढेको हो भने लगानी विस्तारको बाबजुत बैंकमा खराब कर्जा अनुपात पनि अति कम ०.०५ प्रतिशत मात्र छ ।
ग्रीन डेभलपमेन्ट बैंकको निक्षेप संकलन र कर्जा परिचालन दुबै सबै विकास बैंकहरुभन्दा न्यून रहेको छ । यस अवधिमा बैंकले ५८ करोड निक्षेप संकलन गरि ७८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकको कर्जा लगानी रकम थोरै भएपनि कर्जा लगानीमा वृद्धिद्धर भने सबैभन्दा धेरै ७४.३९ प्रतिशतले बढेको हो । वेष्टर्न डेभलपमेन्ट बैंकको कर्जा लगानी सबैभन्दा कम १८.२९ प्रतिशतले मात्र बढेको छ ।
यस अवधिमा महालक्ष्मी विकास खराब कर्जा अनुपात उच्च हुने विकास बैंकमा दर्ज भएको छ । बैंकमा ४.४१ प्रतिशत खराब कर्जा अनुपात रहेको छ। वेष्टर्न डेभलपमेन्ट बैंकले गत पुस मसान्तको तुलनामा प्रतिशतका आधारमा सबैभन्दा धेरै ५९.६३ प्रतिशतले खराब कर्जा घटेर ०.८८ प्रतिशतमा घटेको छ भने लुम्बिनी विकास बैंकको खराब कर्जा अनुपात २३०० प्रतिशत बढेर २.३१ प्रतिशतमा बढेको छ ।
(स्पष्टिकरण :यहाँ उल्लेख गरिएको तथ्याङ्कमा राष्ट्रिय स्तर, दश जिल्ला र एक जिल्ला कार्यक्षेत्र रहेको विकास बैंकलाई एउटै डालोमा हालेर बुझ्न उपयुक्त नहुन सक्छ । त्यसैगरि सम्बन्धित बैंकको गत पुस मसान्त र चालू आवको यसै अवधिमा तथ्याङ्कगत प्रगतिलाई हेरेर मूल्याङ्कन गर्नु बढी सान्दर्भिक हुन्छ ।)