कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपिओ बिक्री गर्ने निवेदन दिएको छ।
लघुवित्तले जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५ प्रतिशतले हुन आउने ६ करोड ७४ लाख पाँच हजार रुपैयाँ बराबरको ६ लाख ७४ हजार ५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो।
साधारण शेयर निष्काशनका लागि इन्फिनिटीले सिभिल क्यापिटल मार्केटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ । लघुवित्त कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटीको चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले एक करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैयाँ ५२ पैसा कायम गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा एक करोड १७ लाख रुपैयाँले बढाएको हो।
हाल १४ करोड चुक्ता पूँजी रहेको कम्पनीले आइपिओ निष्काशन पछि चूक्ता पूँजी २० करोड ७४ लाख रूपैयाँ कायम हुनेछ।