बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार साँझ सम्ममा १३ हजार ४३३ आवेदनबाट १५ लाख ९० हजार १२० कित्ता शेयर माग भएको हो ।
यस्तै स्थानीयतर्फ ७७ आबेदन मार्फत ३५ हजार ८३० कित्ता शेयरको लागि ७१ लाख ६६ हजार रूपैयाँ बराबरको आबेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ । सर्वसाधारणका लागि अंकित मूल्य एक सय रूपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रूपैयाँका दरले ४१ लाख २० हजार कित्ता र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रूपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रूपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।
आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपिओ आवश्यक माग परेमा छिटोमा फागुन ९ गते नै निष्काशन बन्द हुनेछ भने निष्काशित कित्ताको आवेदन नपरेको खण्डमा अन्तिम म्याद चैत ५ गतेसम्म खुला रहनेछ ।
इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर मार्फत आईपिओमा आवेदन गर्न सक्नेछन् भने यसका अलवा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमित प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सबै शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली मार्फत ७७ जिल्लाबाटै निवेदन दिन सकिनेछ ।
आयोजना प्रभावितले भने मकवानपुरबासी रहेको यकिन हुने नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रका आधारमा सि आश्वा प्रणाली मार्फत निवेदन गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग ग्रेड ३ प्लस प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउँछ । शिवम् सिमेन्टको आईपिओमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सिबिआईएल क्यापिटल लिमिटेडले शेयर प्रत्याभूति गरेका छन् ।