धितोपत्र बोर्डका अध्यक्ष कार्की ‘हाइपर एक्टिभ’ बन्दा बजार सुधार सुस्त, प्रतिशाेधकाे आतंकले सराेकारवाला माैन

Feb 25, 2019 Merolagani

झण्डै साढे ३ वर्ष पहिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भए पछि बजार सुधारका लागि डा. रेवतबहादुर कार्कीले एकदमै सक्रियता देखाए । उनको यो सक्रियताले बजारमा केही कामहरु पनि भए । तर नियामक निकायको प्रमुख नभई एउटा व्यवसायिक प्रतिष्ठानको प्रमुखको शैलीमा कार्कीले सबै काममा बोर्डलाई सिधै जोड्न थाले पछि विवादित बन्दै गएका हुन् ।

पछिल्ला दिनमा कार्कीले संघीय संसदकाे अर्थ समितिमा दिएको अभिव्यक्ति पनि नियामक निकायको प्रमुखको हैसियतभन्दा पनि व्यवसायिक प्रतिष्ठानको प्रमुखको झैं भए पछि उनी अहिले झनै विवादमा परेका छन् । तर, संसदीय  समितिमा झुठाे बाेल्दा नैतिकता कारण पद धरापमा पर्ने भएपछि अहिले मैले त्यस्ताे बाेलेकै  िथइँन, पत्रकारले बंग्याए भन्न थालेका छन् ।

यतिसम्म कि कार्कीको कार्यशैलीलाई शेयर दलाल व्यवसायीहरुले नियामक निकायको नेतृत्वकर्ता नभई ‘उतुण्डे’ व्यवहारमा सक्रिय रहेको भन्दै सुध्रिन चेतावनी दिएका छन् ।

कार्कीको कार्यशैलीबाट शेयर दलाल मात्र नभई मर्चेण्ट बैंकर, लगानीकर्ता पनि आजित बनिरहेका छन् । बोर्डबाट हुने कुनै पनि किसिमको कार्यसम्पादनको जस आफुले लिन खाज्ने प्रवृत्ति बोर्ड अध्यक्ष कार्कीमा छ ।जसका कारण नेपाल स्टक एक्सचेञ्ज, केन्द्रिय निक्षेप प्रणालीले पनि समय समयमा सास्ती खेप्नु पर्दा अपेक्षित नतिजा निस्किन नसकेका उदाहरण यस अघिका घटनाक्रमले देखाई सकेका छन् ।

तत्कालिन अवस्थामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया र धितोपत्र बोर्डका अध्यक्षका बिचमा पानी बाराबारको अवस्था आएको भनेर हुने गरेको टीप्पणीको मुख्य कारण पनि कार्कीको कार्यशैलीलाई मान्ने गरिएको छ ।

नियामक निकायले गर्नु पर्ने कामहरु मात्र नभई नेप्सेको कार्यक्षेत्रमा धमाधम कार्कीले हस्तक्षेप गर्न थाले पछि थपलियाले पत्रकार सम्मेलन नै गरेर धितोपत्र बोर्डको कार्यशैलीका कारण काम गर्न समस्या भएको खुलासा गरेका थिए ।

अनलाइन कारोबार प्रणालीको विकास तथा शेयर दलालहरुलाई शाखा थप गर्ने सम्बन्धमा सबै प्रकृया नेप्सेले अघि सार्नु पर्नेमा बोर्डको नाममा अध्यक्ष कार्कीले हस्तक्षेप गरेको कुरालाई पत्रकार सम्मेलनमा उजागर गरिएको थियो । २०७३ साल पुस १२ गते नेप्सेले आयोजना गरेको पत्रकार सम्मेलनमा जारी भएको प्रेस विज्ञप्ति यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

बोर्डले बजार विकास, सुधार र नियमनका लागि आवश्यक वाताबरण, कानुनी व्यवस्थामा सहजीकरण गर्नु पर्नेमा कार्की आफैंले अनलाइन कारोबार प्रणाली, शेयर दलाल व्यवसायीको शाखा सञ्चालन लगायत विषयमा सिधै हस्तक्षेप थालेका थिए ।

जसका कारण नेप्सेले आफुले गर्नु पर्ने सबै किसिमका काममा कार्कीको सहमति लिनु पर्ने अन्यथा सिधै बोर्डको पत्रको जवाफ दिनु पर्ने अवस्था उत्पन्न भएको थियो । यो क्रम चल्दा चल्दै बोर्डले नियममा नै परिवर्तन गरेर नेप्सेको कार्यक्षेत्रमा रहेको शेयर दलालको शाखा सञ्चालनको विषयलाई आफ्नो हातमा लिएको नेप्सेका कर्मचारीहरु बताउँछन् ।

वाइको प्रालिलाई अनलाइन कारोबार प्रणालीको काम जिम्मा दिने समयमा नेप्सेले एक चरणको काम अघि बढाए पछि सो सम्बन्धमा बोर्डलाई आवश्यक जानकारी नदिएको भन्दै कार्कीले नेप्सेमा सिधा हस्तक्षेप गरे पछि प्रकृया सुरु हुन नै लामो समय लागेको थियो । जसका कारण आफ्नो कार्यक्षेत्रको कामलाई थाँती राख्न नेप्से बाध्य हुँदा वाइको सम्झौता अनुसार अनलाइनको काम गर्ने वाताबरण मिलाइदिन भन्दै अदालतको शरणमा पुगेको थियो ।

यस विषयमा पनि नेप्सेले फेरि अर्को पत्रकार सम्मेलन गरेर धितोपत्र बोर्डले अनावश्यक चासो राख्दा नेप्सेले गरेको सम्झौता कार्यान्वायनका लागि वाइको अदालत पुगेको खुलासा गरेको थियो । भिडियोमा हेर्नुस नेप्सेका तत्कालिन प्रमुख कार्यकारीले के भनेका थिए ?

धितोपत्र बोर्डले कतिपय विषयमा जानकार नभएका कारण नै प्रत्यक्ष रुपमा काम गर्ने निकाय तथा पक्षहरुलाई दुख दिने गरेको  पनि थपलियाले यसै भिडियोमा उल्लेख गरेका थिए ।

घटनाक्रम अघि बढ्दै जाँदा नेप्सेले कार्कीको कृयाकलापमा चरम असन्तुष्टि जनाएको थियो । व्यवसायिक प्रतिष्ठानको प्रमुखको शैलीमा अनलाइन प्रणालीका हरेक काममा कार्कीले सहमति खोज्दै कामलाई गति प्रदान गर्नबाट बञ्चित गराएको विषयमा खबरहरु सार्वजनिक भए पछि सञ्चारकर्मीसँग कार्कीको सम्बन्ध केही धुमिल भएको विभिन्न सञ्चार गृहका कार्यरत सञ्चारकर्मीको
बुझाई छ ।

बोर्डका अध्यक्षको हाइपर एक्टिभ कृयाकलापका कारण नै अहिलेको अवस्था आएको नेप्सेका कर्मचारी, मर्चेण्ट बैंकर तथा शेयर दलालहरुको बुझाई छ । केहीले कार्कीको कृयाकलापलाई ‘उतुण्डे’ को संज्ञा दिएका छन् त कोहीले ‘हाइपर एक्टिभ’ ।

अर्कातिर कार्कीको कार्यशैलीबाट धितोपत्र बोर्डका कतिपय विभागीय प्रमुख तथा कर्मचारीहरु नै सन्तुष्ट छैनन् । कार्कीको कार्यशैलीको बोर्डकै कर्मचारीले बिरोध गरेको सतहमा नदेखिए पनि एक आपसमा भने कार्यालयभित्र नियमित रुपमा नै चर्चा परिचर्चा हुने गरेको छ । बोर्डमा ढोका बनाएकोदेखि अनलाइन प्रणालीसम्मकाे जस आफैंले लिन खाेज्ने शैली कार्कीमा भएका कारण नै बजार बिस्तारमा कुनै पनि पक्षको सहयोग नपाएको बजार सम्बद्ध पक्षहरु बताउँछन् ।

कार्कीको वा धितोपत्र बोर्डको कार्यशैलीमा सुझाव वा केही खण्डन गर्नेहरुलाई कार्कीले तत्कालै ठिक पार्ने भनेर आतंकित बनाएका कारण अहिले शेयर दलाल, मर्चेण्ट बैंकर, लगानीकर्ताका नेता लगायत शेयर बजारका भित्री विषयमा औपचारिक रुपमा कसैसँग कुरा गर्दैनन् ।

मार्जिन कारोबारका सम्बन्धमा पनि आवश्यक व्यवस्था मात्र गरेर काम भए नभएको हेर्नु पर्ने बोर्डले अनावश्यक हस्तक्षेप गरिरहेका कारण अपेक्षित नतिजा नआएको हो । यस सम्बन्धमा नेप्से, शेयर दलाल मात्र नभई लगानीकर्ताहरु अनौपचारिक रुपमा सामान्य कुरा गर्ने गरे पनि खुलेर कुरा गर्न चाहँदैनन् ।

एक जना मात्र बोलेको अवस्थामा बोर्डले कुनै पनि बहानामा कारबाही गर्ने डरले अहिले ५० वटै शेयर दलालहरु संगठित रुपमा कार्कीको कार्यशैलीको बिरोधमा उत्रिएका हुन् । यो अवस्थामा पनि बोर्डसँग भएका छलफलका विषयका साथै समग्रमा शेयर दलालहरु कसैसँग पनि खुलेर कुरा गर्न डराउँछन् ।

सबै जम्मा भएको अवस्था परेको खण्डमा सामुहिक रुपमा बजारका कुरा गर्ने दलाल व्यवसायीहरू कार्कीको डरका कारण  एकल रुपमा कुनै पनि विषयमा बोल्न चाहँदैनन् । यो अवस्था मर्चेण्ट बैंकरहरुको हकमा पनि उस्तै छ ।

अर्कातिर मार्केट डिलरशीपको सन्दर्भमा पनि बोर्ड अध्यक्ष कार्कीले काममा तगारो हालिरहेका छन् । कुनै पनि काम सम्बन्धित निकायले अघि बढाउनु पर्नेमा कार्कीले बोर्डलाई जानकारी गराएर, सहमति लिएर, पलपलको अपडेट दिएर मात्र काम गराउनु अन्यथा प्रकृया अघि नबढाउनु भनेर निर्देशन दिने गरेकाले सम्बद्ध पक्ष तथा निकायहरु हायल कायल भएको अवस्था छ । यो अवस्था चरम उत्कर्षमा पुग्दा नै शेयर दलाल व्यवसायीहरु कार्कीको कार्यशैलीको बिरोधमा उत्रिएका हुन् । यति मात्र नभई संगठित सूचीकत कम्पनीहरु, मर्चेण्ट बैंकरहरु पनि अहिले कार्कीका सम्बन्धमा चलिरहेको बहसलाई आनन्द मान्दै नजिकबाट हेरेर बसिरहेका छन् ।

सबै विषय, काम, प्रकृयामा आफु जानकार भएको, नभएको भए सम्बद्ध पक्षले जानकार बनाउनै पर्ने र आफु शेयर बजारको सुप्रिम कि  बन्न चाहने स्वभावका कारण नै कार्की अहिले समस्यामा परेका हुन् ।

लगानीकर्ताहरुले केही समय अघि गरेको आन्दोलनका दौरान पनि बोर्ड अध्यक्ष कार्कीको चरम आलोचना भएको थियो । कार्कीकै कारण बजार विकासको गति अपेक्षित हुन नसकेको भन्दै अनसनमा कार्कीको विषयलाई केन्द्रमा राखिएको थियो ।

आफ्नो व्यवहार सुधार गर्दै नजाने हो भने कार्कीले शेयर दलाल मात्र नभई मर्चेण्ट बैंकर, लगानीकर्ताहरुबाट पनि अरु आलोचना खेप्नु पर्ने अवस्था नआउला भन्ने अवस्था रहन्न ।

नीतिगत व्यवस्थामा केन्द्रित हुँदै सम्बद्ध पक्षहरुलाई निर्वाध रुपमा काम गर्न दिने वाताबरण कार्कीले तयार गर्नै पर्ने देखिन्छ । धितोपत्र बोर्डले गर्ने काम, नेपाल स्टक एक्सचेञ्जले गर्ने काम, केन्द्रिय निक्षेप प्रणालीले गर्ने काम, मर्चेण्ट बैंकहरुको काम, शेयर दलालहरुको काम लगायतलाई प्रष्ट पारेर अघि बढ्न सकेको खण्डमा कार्कीले बजार सुधार र विकासमा सबै पक्षको सहयोगमा अझै पनि धेरै काम गर्न सक्छन् । यदि उनी अहिलेकै स्वभावमा अलमलिने मात्र हो भने बोर्ड भित्रबाट पनि खुलेर सहयोग नपाउने निश्चित छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।