चालु आर्थिक बर्षको मध्यावधि बजेट समीक्षा सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पैसा हुनेले शेयर किनेमा बजार बढ्ने बताएका थिए । मध्यावधि बजेटका सूचकहरु सन्तोषजनक नरहेपनि सरकारले पूँजीगत खर्च बढाउन फास्ट ट्रयाक नीति अबलम्वन गर्ने भनेपछि यसको सकारात्मक प्रभाव बजारमा परेको हो ।
अर्कोतर्फ अर्थमन्त्रीले नै सार्वजनिक कार्यक्रममा बैंकर र उद्योगी व्यवसायीलाई पाखुरा सुर्कासुर्की नगरी ब्याजदर सन्तुलनमा राख्न निर्देशन दिएकाले पनि लगानीकर्तामा कर्जाको ब्याजदर घट्ने आशा जाग्दा शेयरबजार सकारात्मक देखिएको हो ।
कतिपय बैंकहरुले कर्जाको ब्याजदर घटाएका सूचनाहरु प्रकाशित गर्न थालिसकेका छन् । कर्जाको ब्याज घट्न थालेकाले पनि बजारमा सुधार आएको लगानीकर्ताहरु बताउछन् । कृषि विकास बैंक, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक लगायतले कर्जाको ब्याजदर घटाइसकेका छन् । अन्य बैंकहरुले पनि घटाउने आशा लगानीकर्तामा देखिएको छ ।
यसैगरी लामो समयदेखि एघार सय विन्दुकै वरिपरि बजार घुम्दा अब यो विन्दु भन्दा तल बजार नझर्ने विश्वासले लगानीकर्ता बजारमा फर्किएका छन् । सस्तो मूल्यमा लगानीकर्ताले शेयर खरिदको क्रम बढाउँदा बजारमा उच्च सुधार देखिएको हो । नेप्से सूचकसँगै कारोबार रकम समेत माथि लागेपछि लगानीकर्ता उत्साहित भएका छन् ।
साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको सुुधार देखिएको छ । नेप्से परिसूचक १६.०१ अंकले बढेर ११२७.७७ अंकमा पुगेको छ । यसदिन १७६ कम्पनीको११ लाख ६८ हजार ३०४ कित्ता शेयर २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएको उत्पादन तथा प्रशोधन बाहेकका सबै समूहको सूचक सकारात्मक देखिएको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १५९.३२ अंकले बढेको छ । निर्जीवन बिमा समूहको सूचक १०५.२४ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको सूचक २२.११ अंकले बढेको छ । यता उत्पादन तथा प्रशोधन समूहको सूचक भने १८.६९ अंकले घटेको छ ।
बिहीबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी एनसीसी बैंकको एक करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै कमाउने कम्पनीमा पूर्णिमा विकास बैंक रहेको छ । कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले बढेको छ । यस्तै राद्यी विद्युतको शेयर मूल्य ८.९२ प्रतिशतले बढेको छ ।
उता घलेम्दी हाइड्रोका शेयरधनीले सबैभन्दा धेरै ४.६७ प्रतिशत गुमाएका छन् । त्यस्तै सेन्ट्रल फाइनान्स ४.४६, कञ्चन डेभलपमेन्ट बैंकको ३.८२ प्रतिशतले घटेको छ भने सानिमा इक्वीटी फण्ड, यूनिलिभर नेपाल लगायतको शेयर मूल्य पनि घटेको छ ।