स्तरोन्नतिमा प्राथमिकता पाउने भएपछि लघुवित्तमा मर्जरको लहर, कुन- कुन जाँदैछन् ?

Mar 10, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजीसनबाट पूँजी जुटाउने वित्तीय संस्थालाई स्तरोन्नतिमा प्राथमिकता दिने घोषणा गरेयता लघुवित्त कम्पनीहरुमा मर्जरको लहर सुरु भएको छ। यसैबीच चार संस्थाले मर्जर सम्बन्धी सम्झौता गरिसकेका छन् भने आधा दर्जन बढी पाइपलाइनमा देखिएका छन्।

राष्ट्र बैंकले केहि साता अगाडि राष्ट्रियस्तरमा स्तरोन्नति हुन चाहाने वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशनबाट पूँजी जुटाउन प्रोत्साहान गर्ने बताएको थियो। साथै 'घ' वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रिय स्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्राप्तिमा जोड दिएको थियो ।

राष्ट्र बैंकले तोकेको मापदण्ड नपुर्याएका वित्तीय संस्थालाई राष्ट्र बैंकले मर्जरमा जान दबाबमुलक निर्देशन दिनसक्ने बताउँदै आएको छ। राष्ट्र बैंकले नयाँ लघुवित्त सञ्चालनका लागि आवेदन लिन समेत बन्द गरेको छ। लघुवित्त कम्पनीहरुको संख्या धेरै हुँदा राष्ट्र बैंकलाई नियमन गर्न पनि कठिन भएको राष्ट्र बैंकका अधिकारीहरुले यसअघि बताउँदै आएका छन् ।

अहिले देशभर पाँच दर्जन भन्दा बढी लघुवित्त कम्पनीहरु सञ्चालनमा छन् भने करिब ३ दर्जन कम्पनीहरु पाइपलाइनमा रहेका छन्। हाल थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड, राष्ट्रियस्तरको १० करोड, क्षेत्रीय स्तरको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पूँजी १ करोड रुपैयाँ छ।

वोमी र नागरिक लघुवित्त मर्जरमा जाने, शेयर कारोबार रोक्का

यसैबीच वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपमामा गाभिने सम्झौतामा हस्ताक्षर गरेका छन् । शेयर बजारमा सूचीकृत वोमी र आइपिओ जारी नगरेको नागरिक लघुवित्त एक आपसमा मर्जरमा जाने भएपछि वोमीको शेयर कारोबार रोक्का भएको छ ।

२०६८ साल देखि सञ्चालनमा आएको वोमी माइक्रोफाइनान्सको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको छ । हाल यो माइक्रोफाइनान्सले ३२ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

नागरिकलाई राष्ट्र बैंकले २०७४ मंसिर २४ गते माइक्रोफाइनान्सको रुपमा सञ्चालनका लागि स्वीकृति दिएको थियो। काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीको सेवा १० जिल्लामा विस्तार भएको छ।

वोमीको चुक्तापूँजी १० करोड १० लाख रुपैयाँ रहेको छ भने शतप्रतिशत हकप्रद बिक्री गर्ने तयारीमा समेत रहेको छ। नागरिक लघुवित्तको चुक्तापूँजी एक करोड ७५ लाख रुपैयाँ छ। जसले आइपिओ जारी गरेको छैन। लघुवित्तमा ७० प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ ।

 कुन-कुन लघुवित्त जाँदैछन् मर्जर तथा एक्विजीशनमा ?

यसअघि साधाना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्तिको सम्झौता सम्पन्न गरिसकेको छ। गत फागुन ८ गते गोरखामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको साधना लघुवित्तले तनहुँ डुम्रेमा रजिष्टर्ड कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता सम्पन्न गरेको हो । 

साधानाको चुक्ता पूँजी ४ करोड ९० लाख र आर्थिक सम्वृद्धिको ३ करोड ६ लाख २५ हजार रहेको छ ।

यसैगरी कालिका लघुवित्तको गत माघ १९ गते सम्पन्न नवौं साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरिसकेको छ। साधारण सभाबाट संस्थाले उपयुक्त वित्तीय संस्थाहरू गाभ्ने र गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको थियो । लघुवित्तको चुक्तापूँजी १० करोड ८० लाख रूपैयाँ छ। 

त्यस्तै स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाको दोश्रो साधारण सभाले पनि उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने वा गाभिने, एक्विीजिशन प्रयोजनका लागी आवश्यक सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ।

यस लघुवित्तले पनि सर्वसाधारणमा शेयर जारी गरिसकेको छैन। आइपिओ जारी गर्न एन.आई बि.एल एस क्यापिटल सँग सम्झौता भने गरिसकेको छ।  

चुक्ता पूँजी ६ करोड रूपैयाँ रहेको संसथाले हाल १० जिल्लाका १९ वटा शाखा कार्यालय मार्फत सेवा सञ्चालन गर्दे आएको छ ।

उन्नति माइक्रोफाइनान्सको गत माघमा सम्पन्न चौथो वार्षिक साधारण सभाले पनि मर्जर वा प्राप्तीमा जाने प्रस्ताव पारित गरिसकेको छ। संस्थाको चुक्ता पूँजी आठ करोड ८२ लाख छ। संस्थाले गतबर्षको मुनाफाबाट ४०.५० प्रतिशत बोनस वितरण गरेको थियो ।

हालै मात्र साधारण शेयर निष्काशन गरि बाँडफाँड गरेको चौतारी लघुवित्त वित्तीय संस्थाले पनि मर्जर वा एक्वीजिशनमा जान र कार्यक्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने तयारीमा छ। लघुवित्तले उक्त प्रस्ताव चैत १६ गते हुने साधारणसभामा लग्दैछ। लघुवित्तले साधारण सभा प्रयोजनको लागि फागुन २९ गते देखि चैत्र १६ गते सम्म बुक क्लोज गर्ने जनाएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।