ग्रीनलाईफ हाइड्रोको आईपिओमा आवेदन गर्ने सोमबार अन्तिम, ९ हजार कित्तासम्म भर्नसक्ने

Mar 11, 2019 Merolagani

ग्रीनलाईफ हाइड्रोपावर लिमिटेड (GLHL) ले माघ २२ गते देखि निष्काशन गरेको १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयरमा आवेदन दिने फागुन २७ गते सोमबार अन्तिम दिन रहेको छ।यस आईपिओमा आयोजनाबाट प्रभावित क्षेत्र दोलखा जिल्लाको स्थानीयले मात्र आवेदन गर्न सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत शेयर निष्काशन गरेको हो।

कुन क्षेत्रका बासिन्दालाई कति ?

यस आईपिओमा दोलखा जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्र समूह 'क' अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत) का लागि आवेदन दिन पाउनेछन् ।

यसैगरि समूह 'ख' अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिनदाका लागि ७ लाख २० हजार (४० प्रतिशत) कित्ता शेयरका लागि आवेदन गर्न सक्नेछन् ।

यस्तै समूह 'ग' अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयर छुट्टाइएको छ ।

अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने, तीन वर्ष बिक्री गर्न बन्देज

तीनवटै समूहका बासिन्दाहरुको यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने ब्यवस्था गरिएको आयोजनाको शेयर पाइने बिक्री प्रबन्धक काठमाडौं क्यापिटलले जनाएको छ ।

हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटललाई रहेको छ।

हाइड्रोपावर कम्पनीहरुले आयोजनाबाट प्रभावित बासिन्दाका लागि पहिलो चरणमा निष्काशन गर्ने शेयर आरक्षित गरेर निष्काशन गर्न गर्दछन्। स्थानीय बासिन्दाहरु त्यस क्षेत्रमा आयोजना सञ्चालन हुँदा त्यस आयोजनाबाट प्रतक्ष्य रुपमा आयोजनाले प्रभाव पार्ने हुँदा आयोजनाबाट हुने आम्दानीमा स्थानीय जनताको हिस्सेदारी कायम रहोस् भन्ने उदेश्यले कानूनी रुपमा नै आरक्षण गर्ने व्यवस्था गरिएको छ ।

आरक्षणमा प्राप्त हुने भएकाले यस्तो शेयर बिक्री भएर बाँडफाँड गरेको तीन वर्षसम्म बिक्री वितरणका लागि बन्देज लगाइएको हुन्छ । यस्तै स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा नै शेयर निष्काशन हुने हुँदा त्यस क्षेत्रका बासिन्दाले सर्वसाधारणका लागि निष्काशन हुने साधारण शेयरमा आवेदन गर्न समेत बन्देज लगाइने गरिएको छ ।

कहाँ-कहाँबाट गर्न सकिन्छ आवेदन ?

स्थानीयहरुले ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंक सिंगटी र चरिकोट शाखा तथा प्राइम कमर्सियल बैंकको शाखा कार्यालयहरु जिरी र बैतेश्वर शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् ।

यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले फागुन २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

आईपिओ रेटिङ्गमा कमजोर

ग्रीनलाईफले निष्काशन गर्ने आईपिओका लागि केयर रेटिङ्गस् नेपालबाट क्रेडिट रेटिङ्ग गराएको छ ।
कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि जारी गर्ने आईपिओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

केयर नेपालले उक्त रेटिङ्गको अवधि एक वर्षसम्म कायम रहने जनाएको छ ।

कम्पनीको २०७४ पुस ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट स्थानीयका लागि आईपिओ जारी गर्ने प्रस्ताव पारित भएकोमा धितोपत्र बोर्डबाट १७ गते अनुमति पाएको हो। कम्पनीले गत भदौ पहिलो साता आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो।

सर्वसाधारणमा पनि १८ लाख कित्ता आउने

कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको ग्रिनलाईफ हाइड्रोपावरमा संस्थापक समूहतर्फ जारी पूँजीको ८० प्रतिशत अर्थात एक अर्ब ४४ करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको छ ।

पहिलो चरणमा स्थानीयलाइ निष्काशन आईपिओ बाँडफाँडपछि दोस्रो चरणमा पनि हाइड्रोले थप १८ लाख कित्ता सर्वसाधारणमा निष्काशन गर्ने जनाएको छ।

यस्तो छ आयोजना

कम्पनीले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कूल लागत ६ अर्ब ३९ करोड ३८ लाख अनुमान गरिएको छ । यसअनुसार प्रतिमेगावाट लागत १७ करोड ३३ लाख पर्ने देखिन्छ ।

आयोजनाबाट साधारण लगानी फिर्ता हुन ७.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.१६ वर्ष रहेको छ। नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच यस आयोजनाबाट उत्पादन हुने विद्युत २०६८ भदौ १९ गते २०७५ चैत व्यापारिक विद्युत उत्पादन गर्नेगरि खरिद बिक्री सम्झौता भएकोमा २०७४ साउन १ गते पाँचौं संसोधन गरेको छ।
ग्रीनलाईफ हाइड्रोपावर २०६६ असोज ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपामा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।

कम्पनीले विद्युत विकास विभागबाट वि.सं.२०६८ बैशाखमा विद्युत उत्पादन गर्ने अनुमति पाएको छ। यसअनुसार उक्त अनुमति प्राप्त भएको मितिले ३५ वर्ष अर्थात विं.स. २१०१ बैशाखसम्म कायम रहनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।