शेयर बजारमा साढे ७ अंकको करेक्शन, युनाइटेड फाइनान्सको शेयरमूल्यमा उछाल

Mar 18, 2019 Merolagani

शेयर बजार परिसूचक नेप्सेमा सोमबार करेक्शन देखिएको छ। दुई सातादेखि नै बढ्दो प्रवृत्तिमा रहेको रहेको सूचकमा गत बुधबारपछि सोमबार थप करेक्सन भएको हो। घट्दो बजारमा पनि युनाइटेड फाइनान्सको शेयरमूल्यमा भने  एकाएक उछाल आएको छ।

गत सातादेखि नै युनाइटेड फाइनान्सको शेयरमूल्य बढोत्तरी देखिन थालेको थियो। फाइनान्सको शेयरमूल्य गत साता मात्रै २३.६१ प्रतिशत अर्थात ३४ रुपैयाँले बढेर १७८ रुपैयाँमा आइपुगेको थियो। त्यसयता दुई कारोबार दिनमा नै फाइनान्सको शेयरमूल्य ३४ रुपैयाँ बढिसकेको छ।

शेयरबजारमा कुनै एक वाणिज्य बैंकसँग एक्विजिशनमा जाने हल्ला चलेसँगै फाइनान्सको शेयरमूल्यमा उछाल आएकाे हाे।

सोमबार नेप्से परिसूचक ७.४७ अंकले घटेर ११५३.९८ बिन्दुमा झरेको छ। बजार खुलेदेखि नै दबाबमा रहेको परिसूचक करिब २ बजेसम्म सकारात्मक रहेपनि बिक्री चाप थेग्न नसक्दा अन्तत परिसूचक ऋणात्मक बन्न पुगेको हो ।

यसदिन १६९ कम्पनीको १३ लाख ९३ हजार कित्ता शेयर ४ हजार ८१९ पटक खरिद बिक्री हुँदा ३६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको ३ लाख ५९ हजार ६३६ कित्ता संस्थापक शेयर ६ करोड ३९ लाख रुपैयाँ बराबरमा कारोबार भयो ।

यसैगरि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक एक करोड ४७ लाख , एभरेष्ट बैंक एक करोड २४ लाख, र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एक करोड बराबरको कारोबार भयो । एनएमबि बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर पनि ९० लाख बढीको खरिद बिक्री भएको छ ।

कारोबारमा आएका दश उप सूचकमध्ये उत्पादन तथा प्रशोधन र वित्तको इन्डेक्स् मात्र सकारात्मक बनेका छन् । बाँकी सबै ऋणात्मक रहे । जीबन र निर्जीबन बीमा तथा जलविद्युतको इन्डेक्स् एक प्रतिशत बढीले घटेका छन् ।

सोमबारको बजारबाट साना तथा मझौला कम्पनीको शेयरधनीले नाफा कमाएका छन्। युनाइटेड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले बढेर  २१२ रूपैयाँमा पुगेकाे छ भने मल्टीपपर्स फाइनान्सको शेयरमूल्य पनि ७.१४ प्रतिशतले बढेको छ ।

आशा लघुवित्त, सिन्धु विकास बैंक, श्रीराम सुगर मिल्स र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले पनि सोमबारको बजारमा नाफा आर्जन गरेका छन् ।

उता जनउत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.१६ प्रतिशतले घटेर २ हजार २०३ रूपैयाँमा झरेको छ। खानीखोला, रैराङ्ग हाइड्रोपावर, अपि पावर, कालिका लघुवित्त र कञ्चन डेभलपमेन्ट बैंकको लगानीकर्ताले ३ प्रतिशत धेरैले सोमबारको बजारबाट गुमाएका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।