सेयर बजारमा अनलाइन प्रणालीको हाउगुजी, वाइकोको नालीबेली यस्तो

Mar 19, 2019 Merolagani

शेयर लगानीकर्ताको लामो समयदेखिको मागको उपज थियो, स्वचालित अनलाइन प्रणाली । लगानीकर्ताले शेयर बजार अनलाइन प्रणालीमा गएपछि कायापलट हुन्छ भन्ने सोचेका थिए । डिजिटल युगमा शेयर कारोवार अनलाइनमा जानै पर्ने थियो र नेपालका शेयर बजारका नियामक निकायले पनि स्वचालित अनलाइन प्रणालीलाई ढिलै भएपनि कार्यान्वयनमा ल्याए । ...

गत कार्तिकमा बिशेष समारोहका बिच अनलाइन प्रणालीको सुरुवात भयो । उद्घाटन समारोहमा अनलाइन प्रणालीलाई शेयर बजारको कोषे ढुंगाको रुपमा व्याख्या गरियो । 

अनलाइन प्रणाली शुरु त भयो । तर त्यसमा देखिएका प्राविधिक त्रुटीले अहिले सबैलाई हैरान बनाएको छ । आफनो सम्पत्तिको सुरक्षामाथि नै बिश्वास नभएपछि लगानीकर्ता आक्रासित हुने नै भए ।

स्वयं बजार र नियामक हैरानीमा

अनलाइनको के घाँडो भिरिएछ भन्ने स्थितिमा नेप्सेका कर्मचारी नै पुगेका छन् ।

धेरै प्राविधिक विषयमा जानकार नहुँदा पनि धितोपत्र बोर्ड समेत न त अनलाइनलाई जारी राख्नु या निकाल्नुको दोसाँधमा परेको छ ।

नेप्से र धितोपत्र बोर्डका पदाधिकारीहरु आफना प्रगतिका तीन पन्ना बिवरण दिन्छन् । तर अनलाइन प्रणालीले बजारमा पारिरहेका समस्याबारे चूँ सम्म बोल्दैनन् ।

अनलाइन प्रणालीमा भएको खर्चको बिषयमा पद धरापमा पर्ने त होइन भन्ने चिन्ता भएर पनि केही निकास दिने अवस्थामा उनीहरु छैनन् । उनीहरु सबैको लागि बजारमा हाउगुजीको बिषय भनेकै अनलाइन प्रणालीमा देखिएको प्राविधिक समस्या हो ।

जव सिस्टम डाउन हुन्छ तव नेप्सेमा कर्मचारीहरुलाई बाजा बज्छ । उत्तर नदिउँ, लगातार फोनको घण्टी बज्छ, दिँउ के भन्ने ? धेरै जसोलाई प्राविधिक समस्या थाह पनि हुँदैन ।

सर्भर डाउन छ, काम भइरहेको छ भन्नु बाहेक उनीहरुसँग केही जवाफ पनि हुँदैन । जवाफ दिन सक्नेहरु धमाधम समस्याको पहिचानमा जुट्दा अरुसँग तत्काल समन्वयमा आउन सक्ने अवस्था नहुँदा केही ढिलाई गरेर आन्तरिक समन्वय हुन्छ ।

पछिल्ला दिनहरुमा देखिएका सबै समस्याहरु सिधै अनलाइन प्रणालीसँग जोडिएका देखिएका छन् । वाईकोले भारतीय साझेदारहरुसँग मिलेर निर्माण गरेको प्रणालीमा आउन सक्ने प्राविधिक समस्याका विषयमा वाइको आफैं जानकार नभएको बुझ्न सकिन्छ ।

कुनै पनि प्राविधिक उत्पादनको तयारी मात्र निर्माताको जिम्मेवारी हैन । यो नियमित चलिरहने प्रकृया भएका कारण आफुले बनाएको प्रणालीका सम्बन्धमा जवाफदेहिता पनि उसमा रहनु पर्छ । र समस्याको तत्काल निराकरणमा जुट्न सक्ने क्षमता पनि उसमा हुनु पर्छ । तर पछिल्ला घटनाक्रमले बजारमा तरंग आउँदा पनि वाइको हाइसन्चोका साथ बसेको हो कि भन्ने आभाष हुन्छ ।

समस्या कस्ता ?

सामान्यतया अहिलेको अनलाइन प्रणालीमा देखिने समस्या २ किसिमका मानिन्छन् । पहिलो भनेको नेप्सेको सर्भर तथा डाटा सेन्टरमा आउने समस्याका कारण उत्पन्न समस्या । दोस्रो भनेको कारोबार प्रणाली भित्र नै उत्पन्न हुने समस्या ।

पहिलो किसिमको समस्या अनलाइन कार्यान्वायनमा आउनु पहिले पनि कहिलेकाँही देखिने गरेको थियो । जसको नेप्से आफैंले समाधान गर्दै आएको छ ।

दोस्रो समस्याको पहिचान तथा समस्या निराकरणको उपाय सफ्ट्वेयर निर्माता योमरी कम्पनी अर्थात वाईको प्रालिको पक्षमा रहन्छ ।

उल्लेखित समस्याहरु समग्रमा मात्र व्याख्या गरिने समस्या हुन् । आन्तरिक रुपमा विभिन्न १६ वटा मोडलमा तयार गरिएको अनलाइन प्रणालीमा भित्री रुपमा धेरै सुक्षम इञ्जिनहरुले काम गरिरहेका हुन्छन् । एउटा इञ्जिनमा मात्र केही खराबी आएमा पनि चलिरहेको बजार एकाएक अस्वभाविक बाटोमा जान्छ ।

केही समय अघि अनलाइन कारोबार प्रणालीमा देखिने फरक फरक विबरणका कारोबार रकम, अन्तिम बजार मूल्य लगायत पनि यसैका केही उदाहरण हुन् । यस्ता समस्या क्रमिक रुपमा सुधार हुँदै जानु पर्नेमा अहिले बजार नै अवरुद्ध हुने किसिमका समस्याहरु आउन थाले पछि सबैको ध्यान यसैतिर पर्न थालेको छ ।

यस्ता समस्याको पहिचान बजार तथा लगानीकर्ताका साथै शेयर दलालले मात्र गर्ने नभई निर्माता वाईकोले सुक्षम रुपमा अध्ययन गरिरहनु पर्ने विषय हो । तर वाईकोलाई अहिले बजारमा केही समस्या आयो भने त्यसको धेरै समय पछि मात्र समस्याको बारेमा जानकारी हुन्छ । अनि बल्ल उसले समस्याको जड पहिल्याउने काम थाल्छ । र लामो समय लगाएर समस्या पत्ता लगाउँदै गर्दा बजार बन्द भईसकेको हुन्छ भने नेप्से थप समय दिएर बजारलाई सुचारु गराउन नसक्ने अवस्थामा पुग्छ ।

अहिले हामीले अधिक प्रयोग गर्ने फेसबुक, गुगल, ट्वीटर मात्र नभई प्रविधिसँग जोडिएका नेपालकै स्थानीय सेवाहरुले पनि कुनै पनि किसिमको समस्या भएको समस्याका बारेमा प्रयोगकर्तालाई जानकारी गराउँछन् । तर करोडौं रुपैंया खर्चिएर तयार पारिएको अनलाइन प्रणालीमा वाईकोले समस्याका बारेमा लगानीकर्तालाई ए(एउटा सूचना समेत दिन सक्ने व्यवस्था मिलाएको छैन ।

शेयर दलालहरुको खातामा लगाइएको सीमा, लगानीकर्ताको खातामा लगाइएको सीमा लगायत विविध कारणले समय समयमा शेयर दलालहरुले डीएनए लगइन गर्न सकिरहेका हुँदैनन् भने कतिपय अवस्थामा छिन छिनमा लगइनबाट लग आउट हुने समस्याले शेयर दलालका साथै लगानीकर्ता आजित बनिरहेका छन् ।

यस्तो अवस्थामा लगानीकर्तालाई शेयर दलालको खाताको सीमा नाघेका कारण लगानीकर्ता टीएमएसबाट लगआउट हुने अथवा शेयर दलाललाई खाताको सीमा नाघेको जानकारी दिने किसिमका अलर्टको व्यवस्था नहुँदा समस्याको पहिचानमा समस्या हुने गरेको देखिन्छ । अर्कातिर स्वम् लगानीकर्ता एउटाको गल्तीले भोगिरहेको समस्याको दोष अर्को निकायलाई दिँदै बसिरहेका हुन्छन् ।

यसमा वाइकोले ध्यान नदिइ अह्राएको पुर्वाधार मात्र तयार पारेको बुझ्न सकिन्छ । हैन भने उसले समस्याको विषयगत अलर्ट लगानीकर्तालाई दिने प्रणाली किन बनाएन भन्ने पनि चासोको विषय बन्न सक्छ ।

मंगलबारको समस्याका विषयमा अहिलेसम्म कसैले केही जानकारी पाएका छैनन् । यस्तो अलर्टको व्यवस्था भएको खण्डमा लगानीकर्ताले कसको कमजोरीका कारण कहाँ समस्या आयो भनेर सहजै जानकारी पाउन सक्छन् । यसमा नेप्सेले वाइकोलाई चेतावनी नै दिएर काम अघि बढाउनु पर्ने देखिन्छ ।

कानुनी व्यवस्था अनुसार प्रणालीलाई चलाउन गरिएका कामहरुका बारेमा सम्बद्ध पक्षहरु जानकार नहुने गरेका कारण पनि कतिपय समस्याहरु आउने गरेका छन् । जानकार भएको निकायले वाइकोलाई प्रणालीमा धेरै पिचर भए पनि सञ्चालनमा आउँदा गर्नुपर्ने कामका बारेमा व्याख्या गरे पनि वाइकाले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वायन नगर्दा कतिपय समस्या आउने गरेको यस अघिका घटना क्रमहरुले देखाई सकेको छ ।

अनलाइन बनाउने वाइको कस्तो कम्पनी हो ?

योमरी कम्पनीको छोटकरी रुप नै अहिलेको अनलाइन प्रणालीको विकास गर्ने वाईको प्रालि हो । उसले आफुलाई सिष्टम इन्टिग्रेशन तथा प्रविधिको कन्सल्ट्याण्टका रुपमा व्याख्या गरेको छ । सफ्टवेयर डेभलपमेण्ट एण्ड आईसिटी सर्भिसमा केन्द्रित रहेको भनिएको वाईकोले आईएसओ ९००१ः२००८ समेत पाएको थियो कुनै बेला । तर यसले पाएको यो गुणस्तरलाई भने अहिले सञ्चालनमा आएको नेप्सेको अनलाइकन कारोबार प्रणालीले कमजोर बनाइदिएको छ ।

धेरैजसो सरकारी निकायका प्रविधिसँग जोडिएका विषयमा एक छत्र रुपमा काम गर्दै आएको वाइको यस अघि यातायात व्यवस्था विभागको स्मार्ट लाइसेन्स प्रकणमा पनि विवादित बनिसकेको छ ।

झट्ट हेर्दा सरकारी निकायहरुले अधिक विश्वास गरेका कारण नै अरु सरकारी कामहरुमा हात हालिरहेको जस्तो छनक वाइकोको हकमा देखिन्छ । यदि यस्तै हो भने पनि हामी प्रष्ट हुनु पर्ने विषय यो हो कि, नेपालको प्रशासन संयन्त्रमा बिश्वास जित्ने मानक अर्कै छ । यसले पनि अहिले नेप्सेको अनलाइन कारोबार प्रणाली किन वाईकोले नै बाजी मार्यो भन्ने प्रश्न उब्जिनु स्वभाविक हुन आउँछ ।

वाइकाले आफुलाई नेपाल पर्यटन विभाग, सडक विभाग, लोकसेवा आयोग, निर्वाचन आयोग, नेपाल प्रहरी, सञ्चार सूचना तथा प्रविधि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, यातायात व्यवस्था विभाग, उद्योग विभाग, अर्थ मन्त्रालय लगायतका सरकारी निकायको प्राविधिक काम आफैंले गरेको भनेर परिचित गराउँदै आएको छ ।

यही आडमा उसले विभिन्न परियोजनाहरु हातमा लिँदै गर्दा भारतीय समझेदारहरुसँग मिलेर भारतमा फेज आउट भैसकेका प्राविधिक उत्पादनलाई नेपाली बजारमा आधुनिक बनाउने जमर्को गरिरहेको छ । जसका कारण दशकभन्दा पहिले भारतका सेवाग्राहीले भोग्दै आएका समस्या आज नेपालीहरुले भोग्दै आईरहेका छन् ।

ठेक्कापटमा कार्टेलिग गरेर परियोजना फुत्काउने र कमिसन माथिल्लो कुर्सीसम्म पुर्याउन सक्ने कम्पनीलाई नेपालमा कहिल्यै पनि परियोजनाको कुनै कमी हुन्न । यही मानकबाट वाइको आएको हो कि भन्नेहरुलाई अनलाइन प्रणालीमा उसले गरेको कामले पुष्टि गर्छ ।

हैन भने आम सेवाग्राही जोडिएका यातायात व्यवस्था विभाग र अनलाइन शेयर कारोबार प्रणालीमा नै वाइकोले किन अपेक्षित नतिजा देखाउन सकेन भन्ने विषयको लेखाजोखा हुन जरुरी । माथि उल्लेख गरिएका अरु निकायका काम चलाउ योजनालाई नै वाइकोले ठुलो सफलता मानिरहेको छ भने अनलाइन कारोबार प्रणालीमा आईरहने समस्याको विकल्प दिने सम्बन्धमा वाईले आफ्नो प्रष्ट धारणा बनाउनै पर्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।