शुक्रबार बजार बन्द हुने भएकाले प्राविधिक समस्या हल भएर आइतबारदेखि कारोबार सुचारु हुने अपेक्षा लगानीकर्ताले गरेका थिए। आइतबार शिवम् र युनिभर्सल पावर कम्पनीको कारोबार त खुल्यो तर नयाँ कम्पनीको कारोबार सुरु हुँदा नेप्सेको समग्र वेभसाइटमा डेटा इरर हरु बढेका छन् ।
शिवम् सिमेन्टर युनिभर्सल पावरको कारोबार सुरु हुँदा नेप्सेका फ्लोर सिटमा शिवम् सिमेन्ट लगायत कम्पनीहरुको लाइभ डेटा डिस्प्लेमा समस्या देखा पर्यो। सो समस्याको जानकारी नेप्सेले ढिलो गरि वेवसाइटमा प्रकाशन गर्दा धेरै बेर लगानीकर्ता अमलमलमा परे ।
त्यस्तै आशा लघुवित्तको कारोबार घटेर कारोबार हुँदा नेप्सेको वेवसाइटमा अधिक कमाउने कम्पनीको सूचीमा देखा पर्यो भने कूल कारोबार रकममा सोही कम्पनीको शेयर कारोबार मूल्य फरक देखियो । कमाउने सूचीमा कम्पनीकाे शेयरमूल्य ५४५ र कूल कारोबार (टर्नओभर) रकममा सोही लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ४९६ रुपैयाँमा कारोबार भएको देखियो। यसले लगानीकर्तालाई सूचीत भन्दा बढी भ्रमित गरायो ।
नेप्सेले लागू गरेको पूर्ण स्वचालित अनलाईन प्रणालीमा एकपछि अर्को नयाँ समस्या थपिँदै जाँदा अनलाईन कारोबार प्रणालीप्रति आम लगानीकर्ताको वितृष्णा बढ्दो छ । विशेषगरि नयाँ कम्पनीको शेयर कारोबार सुरु हुने दिनहरुमा अन्य दिनमा भन्दा नेप्सेमा धेरै समस्या देखिने गरेको छ ।
सिमेन्टको शेयर बिक्री गर्न लगानीकर्ता होडबाजी गरिरहेका छन् तर नेप्सेको वेबसाइटमा शिवम् लगायतका कम्पनीको शेयर खरिद तथा बिक्री मूल्यमा असामान्य समस्याहरु देखा परेका छन् । नेप्सेको वेवसाइटकाे मार्केट डेप्थमा उल्लेख भए अनुसार शिवम् सिमेन्टको शेयर १६२ रुपैयाँमा ३० कित्ता र ३०० रुपैयाँमा १० कित्ता शेयर बिक्री देखियाे भने साेही विवरण अनलाइन काराेबारमा देखिएन। काराेबार खुलेकाे दश प्रतिशतभन्दा कम मूल्यका बिक्री अर्डर नेप्सेकाे वेवसाइटमा देखिएपनि शिवम्को शेयर कारोबार खुलेको मूल्य ४६४ रुपैयाँको अधिकतम दश प्रतिशत तल अर्थात ४१८ रुपैयाँ भन्दा कम मूल्यमा कारोबार हुन सक्दैन।
नेप्सेको वेबसाइटमा शिवम् सिमेन्टको शेयर १६२ रुपैयाँमा ३० कित्ता र ३०० रुपैयाँमा १० कित्ता बिक्री अर्डरमा देखिँदा लगानीकर्ताहरु झुक्किएका छन् ।
नेप्से र अनलाईन कारोवार प्रणाली निमार्ता कम्पनी वाइको बीच एक महिनाभित्र अनलाईनमा देखिएको सबै समस्या हल गर्ने सहमति भएको छ । अब आशा गरौं अगामी दनिहरुमा यस्तै समस्या दोहोरिएर लगानीकर्ता भ्रमित बन्ने अवस्थाको सिर्जना नहोस् ।