भूकम्प पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयका अनुसार फिर्ता गर्नेमा कुश्मा नगरपालिकाबाट छ जना र फलेवास नगरपालिकाका एक जनाले रकम फिर्ता गरेका हुन् ।
पहिलो किस्ता लगेर पनि घर निर्माण नगरेकालाई गत भदौदेखि कार्यालयले रकम फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । कम क्षतिको सूचीमा परेको पर्वतमा निजी आवास पुनःनिर्माण गर्नुपर्ने लाभग्राहीको सूचीअनुसार उपलब्धि निकै न्यून भएको पाइएको छ । जिल्लाका सबै स्थानीय तहमा गरी पूर्ण क्षति भएका लाभग्राहीको सङ्ख्या पाँच हजार २६९ रहेको छ ।
अहिलेसम्म घर निर्माण सम्पन्न गरेका १६४ छन् । लाभग्राहीको सूचीमा सूचीकृतमध्ये चार हजार ९५० जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लगेका थिए । दोस्रो किस्ता लिनेको सङ्ख्या दुई हजार ३७४ छ । भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा पनि निजी आवास पूर्णरूपमा सम्पन्न गर्नेको सङ्ख्या भने जम्मा १६४ रहेको छ । कतिपय भूकम्पपीडितले घर बनाउन प्राविधिक स्टिमेटसमेत गराउन पाएका छैनन् ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यालयका अनुसार सबैभन्दा बढी घर निर्माण मोदी गाउँपालिकामा भएको छ । मोदीमा ४९ ले घर निर्माण सकेर तेस्रो किस्ता लिइसकेको कार्यालय प्रमुख रामआशिष शाहले जानकारी दिए । “कतिपयले घर बनाइ सकेर पनि हिसाब राफसाफ भएको छैन”, उनले भने, “घर बनाइसकेकालाई हामीले तेस्रो किस्ता लिन बोलाइरहेका छौँ ।
कुश्मा नगरपालिकामा ३१, जलजलामा २८, महाशिलामा १५ र बिहादी गाउँपालिकामा ३२ ले घर निर्माण सकेर तेस्रो किस्ता लिइसकेका छन् । फलेबास नगरपालिका–८ को अर्चलेका २० घरधुरीको वासस्थान नै असुरक्षित भएपछि उनीहरूलाई एकीकृत बस्तीमा स्थानान्तरणको प्रक्रिया शुरु भएको छ ।