साताको दोस्रो कारोबार दिन नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन परिसूचक ९२.४२ अंक बढेर २५८६.०१ विन्दुमा पुगि नयाँ रेकर्ड बनाएको हो। यस अघि माघ २६ गते मात्रै नेप्सेले अलटाइम हाइ रेकर्ड बनाएको थियो।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा शेयर बजारलाई प्रभावित पार्ने नीतिहरु आउने हल्लाले पछिल्ला केही दिनहरुमा बजारमा त्रास देखिएको थियो। फलस्वरुप बजार पछिल्लो दुई कारोबार दिन करिब ५० अंक घटेको थियो। यही शनिबार मेरो लगानीले समीक्षामा बजारलाई प्रभावित पार्ने कुनै परिवर्तन नहुने समाचार सम्प्रेषण गरेको थियो। सोही अनुरुप आइतबारको समीक्षामा त्यस्तो कुनै व्यवस्था भएन। फलस्वरुप सोमबारको बजारमा उछाल आएको हो।
सोमबार २०५ कम्पनीको ६८ हजार ३१९ पटकको कारोबारमा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन जम्मा ६ कम्पनीहरूकाे मात्र शेयरमूल्य घटेकाे छ। जसमध्ये ३ ऋणपत्र रहेका छन्।
यस दिन विशेष गरी लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेको छ। सूचीकृत अधिकांश लघुवित्त कम्पनीहरुको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
वाणिज्य बैंक तथा विकास बैंकहरुले लघुवित्त कम्पनीहरुको शेयर खरिद गर्ने नीतिमा कडाइ गर्ने हल्लाले बढ्न नसकेको यस उपसमूहको परिसूचक यस दिन ८.७४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जीवन बीमा, अन्य, निर्जीवन बीमा, जलविद्युत र बैंकिङ्ग उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन निर्धन उत्थान शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ७० करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ६८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।