सरकारले मंगलबार मात्रै कोरोना भाइसर नियन्त्रण तथा रोकथामको लागि गरेका निणर्यहरु राजपत्रमा प्रकाशित गरेका थिए। सरकारले काठमाडौं उपत्यका लगायतको विद्यालयहरु बन्द गर्ने, सार्वजनिक सभा सम्मलेन, भेटघाट, पुजाआजा गर्न नपाउने, २५ जना भन्दा बढी भेला हुन नपाउने जस्ता निणर्य गरेको छ। त्यससंगै लगानीकर्ताहरु फेरी लकडाउन हुने आशंका गर्न थालेको देखिन्छ ।
पुनः लकडाउन हुने आशंकामा खर्चको जोहो गर्न लगानीकर्ताहरुले शेयर बिक्री गर्न थालेको जानकारहरु बताउछन्। जसका कारण पछिल्लाे समय शेयर बजारमा गिरावट देखिएकाे उनीहरू बताउँछन्।
बुधबार नेप्से सूचक १.२२ प्रतिशत अर्थात ३२.४१ अंकले घटेर २६३२.२१ विन्दुमा झरेको छ। यस दिन २१४ कम्पनीका १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर खरिदबिक्री भएर ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
कारोबार रकम अघिल्लो कारोबार दिन मंगलबारको तलुनामा २४ करोड रुपैयाँले बढी हो। मंगलबार ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।
यस दिन बजारमा गिरावट देखिएपनि ४ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुधबार ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
उता लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य भने सवार्धिक ५.१७ प्रतिशतले घटेको छ। यस्तै हिमालयन पावर पार्टनर, नारायणी डेभलपमेन्ट बैंक,आईसीएफसी फाइनान्स, पाँचथर पावर, ग्लोबल आईएमई लघुवित्त लगायतको शेयरमूल्य पनि ओरालो लागेका छन्।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फण्डको सूचक मात्रै ०.१२ प्रतिशतले बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्स, उत्पादन तथा प्रशोधन, बैंकिङ्ग, हाइड्रोपावर, निर्जीवन बीमा र माइक्रोफाइनान्स परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रहेको छ। यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोड ४५ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस्तै हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ६ लाख, नागरिक लगानी कोषको १८ करोड ३७ लाख मञ्जुश्री फाइनान्सको १६ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।