कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैंकले निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सेवा दिन सक्ने निर्णय गरेको थियो । त्यसका लागि राष्ट्र बैंकलाई सहजीकरण गर्न भनेको थियो ।
केन्द्रीय बैंकले आज नै सीसीएमसीको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न निर्देशन दिने भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि उक्त व्यवस्था गर्न लागेका हुन् ।
बैंक तथा वित्तीय संस्थाको यस्तो निर्णयले सेवा ग्राहीलाई भने मर्का पर्ने भएको छ । उनीहरुले नजिकका शाखाबाट बैंकिङ सेवा पाउनबाट बन्चित हुने र खुलेका अन्य नजिकका शाखाबाट सुविधा लिनु पर्ने छ ।
बैंक तथा वित्तीय संस्थाहरुले नागरिकलाई दैनिक उपभोग्य बस्तु खरिदका लागि इन्टरनेट बैंकिङ, एटिएमबाट नगद रकम झिक्न समेत आग्रह गर्ने भएका छन् । नागरिकले जुनसुकै बेला इन्टरनेट बैंकिङ सेवा र एटिएम जतिवेला पनि खुल्ने भएकाले त्यस मार्फत सेवा लिन सक्ने छन् ।
बैंकका केही शाखा निकै कम र न्यून कर्मचारीबाट सञ्चालित हुने भएकाले ऋण प्रवाह भने ठप्प हुने सम्भावना छ ।
केही बैंकले सबै शाखा कार्यालयको सम्पर्क व्यक्ति तोक्ने भएका छन् । उनीहरुको सम्पर्क नम्बर पनि दिइने भएको छ । ग्राहकले त्यस्ता सम्पर्क व्यक्तिलाई फोन गरेर आफ्नो नजिकको कुन शाखा खुल्छ, कतिबेला खुल्छ र के के सुविधा पाइन्छ भन्ने सुझाव लिन सक्ने छन् ।
प्रत्येक शाखाको मूल ढोकामा त्यस शाखाबाट प्रदान हुने सेवाको विवरण लेखेर सूचना टाँसिने भएको छ । त्यो शाखा नखुल्ने हो भने नजिकको कुन शाखा खुल्छ भन्ने पनि उल्लेख गरिने पनि एक बैंकका कर्मचारीले मेरोलगानीलाई बताए ।