नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीमध्ये खुद बीमाशुल्क आर्जनमा नेकोले आफुलाई अब्बल सावित गर्दा खुद नाफा आर्जनमा भने शिखर इन्स्योरेन्सले शीर्ष स्थानमा रहेको छ। यस अघि खुद बीमाशुल्क आर्जनमा पनि शिखर इन्स्योरेन्स पहिलो हुँदै आइरहेको थियो। नेकोले खुद बीमाशुल्क आर्जनमा शिखरलाई पछि पार्दै पहिलो बनेको हो।
सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गर्नेमा नेको इन्स्योरेन्स पहिलो बन्दा, नेप्सेमा भर्खरै सूचीकृत सानिमा जनरलले सबैभन्दा कम खुद बीमाशुल्क आर्जन गरेको छ। सबैभन्दा कम खुद नाफा आर्जन गर्नेमा भने युनाईटेड इन्स्योरेन्स रहेको छ।
यस अवधिमा बीमा समितिको निर्देशन अनुसार १७ कम्पनीले न्यूनतम चुक्ता पूँजी कायम गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्। राष्ट्रिय बीमा कम्पनी बाहेक सबै निर्जीवन बीमा कम्पनीहरुले समितिको निर्देशन अनुसार न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएका छन्।
शिखर इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्रै छ।
खुद बीमाशुल्कमा नेको र खुद नाफा आर्जन शिखर इन्स्योरेन्स पहिलो
१८ निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद बीमाशुल्क नेको इन्स्योरेन्स पहिलो बन्दा खुद नाफा आर्जनमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ। खुद बीमाशुल्क आर्जनमा शिखरलाई पछि पार्दै नेको इन्स्योरेन्सले पहिलाे स्थान हात परेकाे हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेकोले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरी ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेपनि खुद बीमाशुल्क आर्जनमा नेकोले उछिनेको हो। यस अवधिमा शिखरले १ अर्ब ८ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अर्ब माथि खुद बीमाशुल्क आर्जन गर्नेमा नेको र शिखर इन्स्योरेन्स मात्रै रहेका छन्। यस्तै, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सको खुद नाफा २१ करोड माथि रहेको छ।
यता सानिमा जनरल इन्स्योरेन्सले भने सबैभन्दा कम १३ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यस्तै सबैभन्दा कम नाफा कमाउनेमा युनाईटेड इन्स्योरेन्स रहेको छ। युनाईटेडले यस अवधिमा ५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। खुद नाफा आर्जनमा युनाइटेडलाई नयाँ सूचीकृत अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले पनि उछिनेको छ।
जगेडा र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी नै बलियो
सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम थुप्रिएको छ। कम्पनीको जगेडा कोषमा ३ अर्ब १० करोड ३३ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ रुपैयाँ सञ्चित छ।
यस्तै शिखर इन्स्योरेन्सको जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब २३ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। नेको इन्स्योरेन्सको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ७१ लाख रुपैयाँ सञ्चित छ।
यस सबैभन्दा कम जगेडा कोष र जीवन बीमा कोषमा हुनेको नेप्सेमा सूचीकृत नयाँ बीमा कम्पनीहरु रहेका छन्। जगेडा कोष कम हुनेमा अजोड इन्स्योरेन्स र बीमा कोष कम हुनेमा सानिमा जनरल रहेका छन्।
यस अवधिमा जनरल इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ। यस्तै सानिमा जनरल इन्स्योरेन्सको बीमा कोषमा ८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
प्रतिशेयर आम्दानी र नेटवर्थमा पनि राष्ट्रिय बीमा कम्पनी अघि
राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १३५ रुपैयाँ २ पैसा र प्रतिशेयर नेटवर्थ एक हजार २६३ रुपैयाँ ८८ पैसा छ।
यस्तै, नेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ७९ रहेको छ।
सबैभन्दा कम प्रतिशेयर आम्दानी युनाईटेड इन्स्योरेन्सको रहेको छ भने प्रतिशेयर नेटवर्थ अजोड इन्स्योरेन्सको रहेको छ। युनाईटेडको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा छ भने अजोडको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ५५ पैसा रहेको छ।
राष्ट्रिय बीमा कम्पनीको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात १४६.२७ गुणा बढी छ भने प्रिमियर इन्स्योरेन्सको सबैभन्दा कम ३६.२५ गुणा रहेको छ।