यस दिन नेप्सेले नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेशनल लघुवित्तको शेयरमूल्य १ हजार ३५५ रुपैयाँ र ङादीको २८९ रुपैयाँ कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा नेशनलको शेयर प्रतिकित्ता १ हजार ५४९ रुपैयाँ र ङादीको प्रतिकित्ता ४७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
नेशनल लघुवित्त (NMFBS) ले मंसिर २४ गते, अरनिको पार्टी प्यालेस, बनेपा नगरपालिका वडा नं. ५, भिमसेनमार्ग, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले ७ लाख ६५ हजार ३७७.६४ कित्ता एफपीओ निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।