दुई कम्पनीको शेयरमूल्य समायोजन

Dec 06, 2024 06:34 AM Merolagani



मंसिर २१ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरेको हो।

 

नेप्सेले यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनआरएनको शेयरमूल्य १ हजार ६१ रुपैयाँ ९० पैसा कायम भएको छ भने फर्स्ट माइक्रोफाइनान्सको ७३१ रुपैयाँ १९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, एनआरएनको शेयर प्रतिकित्ता १ हजार १५० रुपैयाँ र फर्स्टको शेयर प्रतिकित्ता ७९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी दुई कम्पनीको शेयर कारोबार खुल्नेछ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। त्यसैगरी, कम्पनीले बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशनको लागि सभामा प्रस्ताव पेश गर्ने भएको छ।

कम्पनीले आगामी १२ औं वार्षिक साधारण सभा पुस १२ गते, शुक्रबार बिहान ९ बजे बोलाएको छ। सभा आम्रपाली व्यान्क्वेट, थिरबम काठमाडौंमा बोलाइएको हो।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) ले पुस ११ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




comments powered by Disqus