नेपाल होटेल संघ (हान) का अध्यक्ष विनायक शाहले पनि मुलुकको पर्यटन क्षेत्र फेरि सामान्य अवस्थामा फर्किसकेको र अब फेरि यो क्षेत्र माथि उठ्ने बताए । शाहकाअनुसार सरकारले पनि पर्यटन क्षेत्रलाई पूर्ण साथ दिएको छ र अब पर्यटकले बुकिङ रद्ध गर्नुपर्ने कुनै कारण छैन । नेपाल आउने पर्यटकलाई उनीहरुले खोजेको सेवा दिन पर्यटन क्षेत्रका सबै पक्ष तयार रहेको उनले बताए । अहिले चाडपर्वको बेला भएकाले पनि नेपालमा पर्यटक आउँदा धेरै रमाइलो गरेर जान सक्ने बताए । शाहकाअनुसार नेपाल आउने पर्यटकका लागि लक्षित गरेर विभिन्न चाडपर्वलक्षित प्याकेजहरु समेत ल्याउने तयारी भइरहेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई अझ आकर्षित गर्न नयाँ योजना र स्किमहरू तयार भइरहेको छ ।
अध्यक्ष शाहले भने–‘अहिले हामी सबै कुराहरू पूर्ववत अवस्थामा फर्किसकेका छौं । होटेल, रेस्टुरेण्ट र जति पनि हाम्रा एयरलाइन्सका कुराहरूलाई, ट्रेकिङका, ट्राभलका सबै कुराहरू हामी पूर्ववत अवस्थामा सामान्यकरणमा आइसकेका छौं । कुनै यसमा बाधा, अवरोध केही पनि छैन । सरकारले पनि हामीलाई साथ दिएको छ । अब अगाडि बढ्ने हो । पर्यटकका लागि यो सिजन एकदमै राम्रो हो । अब जसले नेपाल आउने बुकिङ गर्नुभएको छ र अब उहाँहरूले क्यान्सिलिल गर्न आवश्यक छैन । आउनुस्, पर्यटकले खोजेको कुरा पाउन सक्नुहुन्छ र मौसम अब धेरै राम्रो हुन्छ । अब हाम्रो दशैँ–तिहारमा फेरि रमाइलो मौसम पनि हो, चाडपर्व पनि छ । पर्यटकका लागि हामीले नयाँनयाँ स्कीम पनि ल्याउँदै छौं । हाम्रो फोकस भारत र चीनमा अझ बढी फोकस हुन्छ । त्यहाँबाट आउने पर्यटकहरू धेरै हुनुहुन्छ । उहाँहरूलाई अझ आकर्षित गर्ने, हामी नयाँ–नयाँ स्किमहरू, नयाँ–नयाँ हाम्रो योजनाहरू पनि हामीले तयार पारिराछौं । प्याकेजहरुमा हामीले आमुल परिवर्तन गर्दैछौं । अब पर्यटकले आउँदाखेरि पनि त्यो परिवर्तनको महशुस उहाँहरुले पनि गर्नसक्नुहुनेछ । हामीले दिने सेवा पनि आत्मीयताले भरिएको हुनेछ ।’
अध्यक्ष शाहकाअनुसार अहिले नेपालका होटलहरुको क्षमता वार्षिक रुपमा ३५/३६ लाख पर्यटकलाई सेवा दिन सक्नेछ । ती पर्यटकले विश्वस्तरको सुविधा नेपालमै पाउन सक्छन् । तर अहिले नेपालमा १२ लाख मात्रै पर्यटक आउने गरिरहेका छन् । अब यो पर्यटकको संख्यालाई बढाउन जरुरी छ । पोखरा, भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट अर्बौँ लगानीमा बनाइएकाले तिनको समेत उपयोग गरेर पर्यटक भित्राउन सक्नु पर्ने शाहले बताए । पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, व्यक्ति र साझेदारहरूको सहयोग र माया समेत महत्वपूर्ण भएको उनको भनाइ रहेको छ ।