भारतमा ६ महिनामै ९१ हजार बढी विद्युतीय सवारी बिक्री, नयाँ भेरियन्टमा आउँदैछन् यी तीन मोडलहरु

Nov 08, 2025 11:06 AM merolagani



भारतमा पछिल्लो ६ महिनाको विद्युतीय सवारीको बिक्री ह्रवात्तै बढेको छ ।

अघिल्लो वर्षको तुलनामा सन् २०२५ को अप्रिल देखि सेप्टेम्बर ३० सम्ममा ९१ हजार ७६ युनिट विद्युतीय सवारीहरु बिक्री भएका छन् । जुन, अघिल्लो वर्षको सोही अवधिको तुलनामा इभी बिक्री १०८ प्रतिशतले वृद्धि भएको भारतीय इभी निर्माता कम्पनीले जनाएका छन् ।

अघिल्लो वर्ष सोही अवधि २०२४ को अप्रिलदेखि सेप्टेम्बर ३० सम्ममा विद्युतीय सवारी बिक्रीको संख्या भारतमा ४३ हजार ८४७ युनिट थियो । विद्युतीय सवारीमा सरकारी अनुदान, नयाँ र किफायती प्रडक्टका रुपमा परिचय बनाउँदै गएपछि त्यसको बिक्रि समेत बढेको हो । आगामी वर्षहरुमा समेत विभिन्न मोडेलका इभीहरु सडकमा आउनेछन् । यसले विद्युतीय सवारीको बिक्रिको तथ्यांक अझ बढ्नेछ ।

भारतका शीर्ष तीन कार निर्माता कम्पनीहरु मारुती, सुजुकी, टाटा र होन्डाले क्रमशः ई–भितारा, सियरा इभी र जिरो अल्फासहित मध्यम आकारको इलेक्ट्रिक एसयूभी बजारमा लन्च गर्ने तयारी गरिरहेका छन् । कार निर्माता कम्पनीले बताएअनुसार, मारुती ई–भितारा डिसेम्बर २०२५ भित्र बिक्रिमा जाने सम्भावना छ ।

त्यस्तै, टाटाको सियरा इभी सन् २०२६ जनवरीभित्र लन्च भइ बिक्रिमा जाने कम्पनीको दाबी छ । र, होन्डाको जिरो अल्फा इभी लन्च हुन भने केही समय लाग्ने देखिएको छ । कार निर्माता कम्पनीका अनुसार, जिरो अल्फा इभी सन् २०२७ को सुरुवातमा लन्च भइ बिक्रिमा जाने अपेक्षा गरिएको छ ।

लन्च हुने इभी कुन कस्ता ?

भविष्यमा सार्वजनिक हुन लागेको तीन मोडेलका इभीहरु विभिन्न परिवर्तित डिजाइन र मोडेलमा आउनेछन् । मारुती ई–भिताराका दुईवटा ब्याट्री विकल्पहरु प्रस्ताव गरिएको छ ।

४० किलोवाट र ६१ किलोवाटसहित दुई ब्याट्री विकल्पमा आउनेछन् । डुअल मोटर र अल ग्रिप इ प्रणालीमा विशेष रुपमा ठूलो ब्याट्री प्याकका साथ उपलव्ध हुनेछ । मारुतीले ती ब्याट्रीहरु बिवाइडी कम्पनीबाट प्राप्त गर्नेछ । मारुती ई–भितारा पूर्ण चार्जमा ५०० किलोमिटरभन्दा बढीको ड्राइभिङ दायरा रहने जनाइएको छ ।

त्यस्तै, टाटा मोर्टर्स ल्याउने सिएरा इभीमा ६५ किलोवाट र ७५ किलोवाटका दुई ब्याट्री विकल्पहरु समावेश हुनेछन् । यो इभी पूर्ण चार्ज गर्दा ५०० किलोमिटर भन्दा बढी ड्राइभिङ गर्ने क्षमता राख्ने अपेक्षा छ । यो सिएरा इभीको समग्र डिजाइन र स्टाइल यसको आइसीई समकक्ष जस्तै हुने कम्पनीको दाबी छ ।

जापनीज कार निर्माता कम्पनीले भारतमा आफ्नो इभी बजार विस्तार गर्न होन्डाको जिरो अल्फा इभी लन्च गर्ने तयारीमा छ । होन्डाले अझै यसको पावर ट्रेन बारे थप विवरण भने खुलाएको छैन् । तथापी, यसमा ६५ किलोवाट प्रतिघण्टा र ७५ किलोवाट प्रतिघण्टा ब्याट्री प्याक हुने गरी प्रस्ताव गरिएको छ । भारतमा हुन्डाइ क्रेटा, महिन्द्रा बिई ६ र एमजी जेडएसजस्ता एसयूभीसँग यसले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।