धितोपत्र बोर्ड कर्मचारी काममा फर्किए पनि विरोध अझै निरन्तर, कहिले सकिन्छ विरोध ? कर्मचारी यसो भन्छन्

Nov 11, 2025 04:48 PM merolagani



सुवास निरौला

गत आइतबारदेखि धितोपत्र बोर्डका कर्मचारी नियमित काममा फर्किएमा छन्। कर्मचारीहरू नियमित काममा फर्किए पनि उनीहरूको विरोध कार्यक्रम भने अझै निरन्तर छ।

गएको ५० दिनदेखि विरोध गरिरहेका कर्मचारीहरूले मङ्गलवार पनि धितोपत्र बोर्ड कार्यालय परिसरमा एक घण्टा धर्ना दिए। उनीहरूले एक ब्यानर भित्र समेटिएर एक घण्टा धर्ना दिए। उनीहरूले धर्ना कार्यक्रम सुरु गरेको आज ५० दिन पुगेको छ।

यस अघि उनीहरूले कार्यालयमा पहिलो एक घण्टा धर्ना दिने र त्यसपछि ‘पेन डाउन’ गर्दै सबै काम ठप्प पार्दै आइरहेका थिए। तर अहिले भने उनीहरूले एक घण्टे विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् भने पेन डाउन मात्रै स्थगित गरेको बताएका छन्। जसले गर्दा उनीहरूको विरोध कार्यक्रम भने माग पुरा नभएसम्म चलिरहने बताइएको छ। “हामीले आन्दोलनको स्वरूप मात्रै परिवर्तन गरेको हो। सम्पूर्ण आन्दोलन नै फिर्ता लिएको होइन। हामीले निश्चित समयको लागि पेन डाउन मात्रै स्थगित गरेको हो। हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी नै छ,” नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुङ्गानाले भने।

कर्मचारीहरूले माग पुरा गर्ने समय कात्तिक मसान्तसम्म दिएका छन्। उक्त दिनसम्म माग पुरा नभए यस अघिको भन्दा पनि सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीले दिएका छन्। कर्मचारीहरूले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्। “२०८२ कात्तिक मसान्तसम्म कर्मचारीहरूसँग भएका प्रतिविद्धताहरू कार्यान्वयन नभएमा कर्मचारी युनियन र सङ्गठनले आन्दोलनलाई निरन्तरता दिँदै अझ सशक्त ढङ्गबाट अगाडि बढ्ने,” धितोपत्र बोर्ड कर्मचारी युनियन र सङ्गठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कर्मचारीहरूका अनुसार गत आइतबार अर्थ मन्त्रालयका प्रतिनिधि उत्तर खत्री र कर्मचारीहरू बीच विभिन्न सहमति भएको र सोही सहमतिकै आधारमा कर्मचारीले आन्दोलनको स्वरूप परिवर्तन गरेको विज्ञप्तिमा उल्लेख छ। जुन छलफलमा अर्थ मन्त्रालय, कर्मचारीहरूले उठाएको मागहरू पूरा गर्न तयार भएको, कर्मचारीहरूले प्राप्त गरिरहेको सेवा सुविधामा कटौती गर्ने र विगतमा प्राप्त गरेको सुविधा सरकारी बाँकी सरह फिर्ता गर्नुपर्ने अमानवीय प्रावधान अर्थ मन्त्रालय र सञ्चालक बोर्डले कार्यान्वयन नगर्ने र २०८२ कात्तिक मसान्तसम्ममा कर्मचारीका मागहरू सम्बोधन गरी बोर्डको कर्मचारी सेवा सर्त नियमावलीमा अर्थ मन्त्रालयले आवश्यक संशोधन सहित स्वीकृति गर्ने सहमति भएको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यता धितोपत्र बोर्डको गत आइतबार बसेको सञ्चालक बोर्ड बैठकले सेबोनका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ। तीन सदस्यीय समितिमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य सदस्य छन्। समितिलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन म्यान्डेट दिइएको छ। समितिले दिएको सुझाव अनुसार अघि बढ्ने सञ्चालक बोर्डको योजना छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि,२०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न गत असोज २ गते निर्देशन दिएको थियो। अझै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्नु पर्ने समेत निर्देशनमा भनेको थियो। सोही निर्देशन विरुद्ध कर्मचारीले ५० दिन देखि निरन्तर विरोध गरिरहेका हुन्।