३५ उद्योगबाट विद्युत् प्राधिकरणले असुल गर्यो २३ करोड ८८ लाख महसुल बक्यौता

Nov 13, 2025 04:18 PM merolagani



नेपाल विद्युत् प्राधिकरणले हालसम्म ३५ वटा उद्योगबाट करिव २४ करोड रुपैयाँ महशुल असुल गरेको छ ।

प्राधिकराण्का अनुसार, डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका ती उद्योगले पहिलो किस्ता र किस्ताबन्दीलाई निरन्तरता दिएसँगै २३ करोड ८७ लाख ७२ लाख रुपैयाँ महशुल बक्यौता असुलउपर गरेको हो ।

महशुल नतिरेका कारण लाइन काटिएका २५ नयाँ उद्योगले प्रिमियम महशुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । त्यस्तै, यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई नै निरन्तरता दिँदा उक्त रकम महशुलबापत उठेको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीहरुबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिए। उनले उद्योगीहरुबाट बक्यौताको किस्ता तिर्न थालेपछि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

 

उनले भने,‘उद्योगहरुलाई विद्युत नियमन आयोग, अदालतलगायतका निकायमा जाने बाटो खुल्लै छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौ, उद्योगीहरुका जायज मागलाई सम्बोधन गर्न सँधै तयार नै छौं ।’

प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि बक्यौता तिर्न नआएपछि कात्तिक ४ र ७ गते दुई चरणमा उद्योगमा लाइन काटेका थियो ।