चिनियाँ प्रविधि कम्पनी ह्वावेले आफ्ना नयाँ फ्ल्यागशिप स्मार्टवाच (ह्वावे वाच जीटी ६) सिरिजअन्तर्गत विभिन्न मोडेलहरू सार्वजनिक गरेको हो ।
यी नयाँ स्मार्टवाचहरू पहिलेका भर्सनहरूको तुलनामा थप सुविधासहित ‘फिचर लोडेड’ रहेका छन् । यो सिरिज १९ सेप्टेम्बर, २०२५ मा फ्रान्सको पेरिसमा भएको एक ग्लोबल लन्च इभेन्टमा पहिलो पटक सार्वजनिक गरिएको थियो ।

उच्च फेसन डिजाइनलाई एड्भान्स हेल्थ र फिटनेस ट्र्याकिङ क्षमतासँग सफलतापूर्वक संयोजन गरेर यो स्मार्टवाच तयार पारिएको छ ।
विशेषता :
ह्वावे वाच जीटी ६ सिरिजमा दुई मुख्य मोडेलः ह्वावे वाच जीटी ६ र ह्वावे वाच जीटी ६ प्रो रहेका छन् । प्रो मोडेल (GT 6 Pro) मा सेफायर ग्लास, एभिएशन-ग्रेड टाइटेनियम अलोय बडी र नानोक्रिस्टल सिरामिक रियर कभर जस्ता प्रिमियम सामग्री प्रयोग गरिएको छ । स्ट्यान्डर्ड जीटी ६ (४६ एमएम) मा ग्लास फ्रन्ट र स्टेनलेस स्टिल फ्रेम छ ।
स्ट्यान्डर्ड ह्वावे वाच जीटी ६ ४१ एमएम र ४६ एमएम साइजमा उपलब्ध छ । ४६ एमएम जीटी ६ ग्रे (भेगन लेदर), ग्रिन (कम्पोजिट लेदर स्ट्राप) र ब्ल्याक (फ्लोरोइलास्टोमर स्ट्राप) मा उपलब्ध छ ।
४६ एमएम मोडेलहरूमा ठुलो १.४७ इन्चको एमोलेड डिस्प्ले छ । जसको अधिकतम ब्राइटनेस ३,००० निट्स रहेको छ । यसले चर्को बाहिरी घाममा पनि स्पष्टता सुनिश्चित गर्छ ।
यस सिरिजले पहिलो हाई-सिलिकन स्ट्याक्ड कस्टम-शेप्ड ब्याट्री प्रयोग गरेको छ । जसले ऊर्जा घनत्व (energy density) लाई ३७% ले बढाएको कम्पनीको भनाई छ ।
जीटी ६ प्रो र ४६ एमएम जीटी ६ मोडेलहरूले सामान्य प्रयोगमा २१ दिनसम्मको ब्याट्री लाइफ प्रदान गर्छन् । जबकि ४१ एमएम जीटी ६ मोडेल भने विशिष्ट अवस्थामा १४ दिनसम्म टिक्छ ।
यो वाच ह्वावेको आफ्नै हार्मोनी ओएस ६.० मा चल्छ । वाचहरू आईपी ६९ र ५ एटीएम रेटिङका साथ धुलो र पानी प्रतिरोधी छन् ।
नयाँ एन्टेना डिजाइन र एड्भान्स एल्गोरिदमका कारण पोजिसनिङको शुद्धता २०% ले राम्रो भएको बताइएको छ । यसले डुअल-ब्यान्ड GNSS लगायत GPS, BDS, GLONASS, GALILEO र QZSS प्रणालीलाई सपोर्ट गर्दछ ।
वाचमा १०० भन्दा बढी वर्कआउट मोड रहेका छन् । यसमा विश्वको पहिलो नाडीमा आधारित भर्चुअल पावर मिटर पनि समावेश छ । जसले साइकल चालकको पावर आउटपुट गणना गर्दछ ।
यसले थर्ड-पार्टी सहायक उपकरणहरू जस्तै मुटुको धड्कन नाप्ने स्ट्राप्स, पावर मिटर र स्पीडोमिटरहरूसँग पनि कनेक्ट गर्न सक्छ ।
जीटी ६ प्रोमा गोल्फ मोड पनि छ । जसमा भेक्टर म्यापिङ र हाई-डेफिनिसन फेयरवे म्याप समावेश हुन्छ । जीटी ६ सिरिजमा नयाँ ह्वावे ट्रुसेन्स स्वास्थ्य व्यवस्थापन प्रणाली समावेश छ ।
यसमा २४/७ मुटुको धड्कन र एसपीओ २ (रगतमा अक्सिजनको मात्रा) मापन समावेश छ । ह्वावे ट्रुस्लिपको प्रयोग गरी यसले निद्राको अवधि र चरणहरू (गहिरो निद्रा, हल्का निद्रा, र्यापिड आई मुभमेन्ट स्लिप) स्वतः रेकर्ड गर्छ । यसमा निद्राको समयमा हुने अवरोधहरू पत्ता लगाउन स्लिप ब्रिदिङ अवेरनेस पनि रहेको छ ।
वाचमा लडेको पत्ता लगाउने (फल डिटेक्सन) र आपत्कालीन एसओएस सुरु गर्ने सुविधा पनि छ । ईसीजी मापन सुविधा केवल ह्वावे वाच जीटी ६ प्रोमा उपलब्ध छ, जसले अनियमित मुटुको धड्कन पहिचान गर्न मद्दत गर्दछ ।
धमनी कठोरता पत्ता लगाउने (Arterial Stiffness Detection) फिचर पनि जीटी ६ प्रोमा मात्रै पाउन सकिन्छ । यसले धमनीको क्षति र मुटु रोगको सम्भावित जोखिमको प्रारम्भिक सूचकको रूपमा पल्स वेभ भेलोसिटी (PWV) मापन गर्दछ ।
