बिहीबार दोस्रो बजारमा अन्तिम एक मिनेटमा कमाल देखाउने दुई कम्पनी छन्। भुगोल इनर्जी र रुरु हाइड्रो पावर कम्पनीले अन्तिम एक मिनेटमा कमाल देखाएका हुन्।

बिहीबार भूगोल इनर्जीको शेयर मूल्य न्युनतम्म ६१३.८० सम्म झरेको थियो। उक्त मूल्यमा आउँदा कम्पनीले प्रति कित्ता मूल्य १० प्रतिशतको हाराहारीमा गुमाएको थियो। तर कम्पनीको अन्तिम कारोबार मूल्य भने ७१६ रुपैयाँ कायम भयो। अन्तिम एक मिनेटको कारोबारसम्म पनि कम्पनीको मूल्य ६१३.८० रुपैयाँमा कारोबार भएको देखिन्छ। तर अन्तिम मिनेटमा सबै कित्ता किनिएपछि कम्पनीको शेयर मूल्य ४.९९ प्रतिशत बढ्यो। अन्तिम एक मिनेटमा मात्रै कम्पनीको मूल्य १६.६५ प्रतिशतले बढ्यो। बिहीबार कम्पनीको कुल ९३ हजार ६२ कित्ता शेयर किनबेच भएकोमा एक ब्रोकर मार्फत मात्रै २८ हजार ७ कित्ता शेयर किनिएको छ भने ४७ हजार ५५८ कित्ता शेयर बिक्री गरिएको छ। पहिले धेरै शेयर बिक्री गरिएको छ भने अन्तिम मिनेटमा २५ सय कित्ता शेयर खरिद गर्दै कम्पनीको मूल्यलाई करिब पाँच प्रतिशत बढाएर अन्तिम करोबार मूल्य तय गराइएको छ।
त्यसैगरि अन्तिम समयमा ११ प्रतिशत बढ्ने कम्पनीमा रुरु हाइड्रोपावर कम्पनी छ। उसको दिनभरि नै शेयर मूल्यमा कुनै वृद्धि देखिएन। कारोबारको धेरै जसो समय ७४० देखि ७४५ रुपैयाँको आसपासमा काराेबार भएको कम्पनीको शेयर मूल्य अन्तिम ४९० कित्ताको कारोबारले १० प्रतिशत वृद्धि कायम गराइदिएको छ। कम्पनीको शेयर मूल्य ७५९.९० बाट एकै पटक बढाएर ८३० रुपैयाँ कायम गराइयो।
बिहीबार मात्रै दुई कम्पनीको शेयर मूल्य बढाउन निक्कै ठूलो चलखेल गरियो। यसरी शेयर मूल्य बढाउने क्रम बिहीबार मात्रै देखिएको होइन,पछिल्लो समय अन्तिम समयमा कम्पनीको शेयरमा सर्किट लागेर बढ्ने क्रम बिस्तारै पुनः बढ्न थालेको छ। १५ मिनेटको औसत कारोबार मूल्य गणना बिधि स्थगित गरेपछि उक्त क्रम बढ्न थालेको हो।
यस अघि कम्पनीको शेयर मूल्यमा यस्तै चलखेल बन्द गर्न भन्दै नेपाल स्टक एक्सचेन्जले १५ मिनेटको औसत गणना बिधि अघि सरेको थियो। तर लगानीकर्ताले चर्को बिरोध गरेपछि धितोपत्र बोर्डले उक्त व्यवस्था तत्कालको लागि भन्दै स्थगित गर्ने निर्णय गरेको थियो। अहिले सोही बिधि अन्तिम मूल्य बढाउन लगानीकर्ताहरुले पुनः प्रयोग गर्न थालेका छन्।