नयाँ पार्टी गठनको लागि २ दिन बाँकी, बालेनले आँट नगर्दा जेनजीको एउटा पनि पार्टी दर्ता नहुने सम्भावना

Nov 13, 2025 05:53 PM mero lagani



फागुन २१ गते हुने निर्वाचनको लागि अहिले पार्टी दर्ता र मतदाता नामावली दर्ताको काम भइरहेको छ । निर्वाचन आयोगले ती दुवै कामको लागि कात्तिक मसान्तसम्मको समय तोकेको छ । 

त्यो अनुसार बिहीबारसम्म झण्डै २ लाख मतदाता थपिएका छन् भने अहिलेसम्म १२६ वटा दल दर्ता भएका छन् ।

तर, यो निर्वाचनको मुख्य कारक तत्व मानिएका र पुरानो भनिएका दलहरुलाई मुख्य चुनौति दिने ठानिएका जेनजीहरुको भने एउटै पनि दल अहिलेसम्म दर्ता भएको छैन । आयोगका अनुसार अहिले दर्ता भएका मध्ये अधिकांश पुरानै राजनीतिक दलहरु छन् भने केवल ४ वटा मात्र जेनजी आन्दोलन पछि गठन भएका दलहरु छन् । अहिले गठन भएका ४ वटा नयाँ दलहरु कुनै पनि जेनजी पुस्ताको नेतृत्वमा दर्ता भएका दलहरु होइनन् ।

अहिले करिब २२ वटा दल दर्ताको प्रक्रियामा छन् । त्यसमा पनि जेनजी पुस्ताका युवाहरुले नेतृत्व गरेको कुनै पार्टी नरहेको आयोग स्रोतले जानकारी दिएको छ । कतिसम्म भने केही दिन एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर नै नयाँ पार्टी गठन गरेको घोषणा गरेका जेनजी नेता मिराज ढुङ्गानाले पनि अहिलेसम्म दल दर्ताका लागि आयोगमा निवेदन दिएका छैनन् ।

अब नयाँ दल दर्ता गर्न शुक्रवार र आइतवार दुई दिन मात्रै समय छ ।


जेनजी अभियन्ताहरु आफूहरुसंग कानुनी र व्यवहारिक ज्ञानको अभाव, जेनजीका अगुवा भनिएकाहरुबीच नै कसकाे नेतृत्वमा पार्टी गठन गर्ने र पार्टीको संचालन कसरी गर्ने भन्ने बारेमा विवाद रहेकोले पार्टी गठन हुन नसकेको बताउँछन् । ‘पार्टी गठनको लागि धेरै पटक बैठक, भेलाहरु गरिएका छन् । तर एकले अर्काको नेतृत्व स्वीकार नगर्ने र म नै नेता हुँ, अरु सबै कार्यकर्ता हुन् भन्ने मानसिकताले पार्टी गठन हुन सकेन । अझै २ दिनको समय छ, हेरौं के हुन्छ,’ जेनजीका एक अगुवाले मेरो लगानीसँग भने ।

उनका अनुसार धेरै जेनजीले काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहको नेतृत्वमा पार्टी गठन गर्ने र त्यसमा अधिकांश पदाधिकारी जेनजी उमेर समुहबाट राख्ने प्रयास गरेका थिए । रास्वपा त्यागेकी सुमना श्रेष्ठलगायतका नेताहरुले पनि त्यस्तो प्रयास गरेकी थिइन् । तर बालेनले नै आँट नै गरेनन् । उनले न आफ्नो नेतृत्वमा पार्टी खोल्ने आँट गरे न त कुलमान घिसिङले जस्तै अरु कसैलाई नेतृत्व स्वीकार गरेर पार्टी खोल्ने र आफूले पर्दा पछाडिबाट नेतृत्व लिने प्रयास नै गरे । ‘हामी बालेनको आस गरेर बस्यौं, तर उहाँ त के हो के हो ? हामीले कुरै बुझ्न सकेनौ,’ ती अगुवाले भने ।

जेनजीको भावना र पुराना पार्टीहरुप्रतिको आक्रोसलाई ‘क्यास’ गर्दै भोट बढाउनको लागि कुलमान घिसिङ, हर्क साम्पाङदेखि विरेन्द्र बस्नेतसम्मका नयाँ राजनीतिक पार्टीका हर्ताकर्ताहरुले प्रयास शुरु गरेका छन् । उता कांग्रेस, एमाले, माओवादी जस्ता पुराना भनिएका राजनीतिक पार्टीहरुले पनि जेनजीलाई दिग्भ्रमित बनाइएको भन्दै आफूहरुले नै उनीहरुको भावनाको वास्तविक प्रतिनिधित्व गर्ने दावी गरिरहेका छन् ।

जेनजी अभियानकर्मी भावना राउतले पनि भइरहेकै दलमा जेनजी पुस्ताको हस्तक्षेप बढाएर जाने वा नयाँ दल दर्ता गर्ने विभिन्न विकल्पमा छलफल भइरहेको बताउँछिन । उनका अनुसार जेनजी भित्रैबाट खोल्ने कि कसैको संरक्षकत्वमा खोल्ने कि वा भइरहेकै पार्टी प्रयोग गर्ने धेरै विकल्पमा कुरा भइरहेको छ, तर टुंगोमा पुगेको छैन ।