पछिल्लो समय डिम्याट खातामा हकप्रद र बोनस शेयरको अंकित मूल्य १ सय रुपैयाँको आधारमा मात्रै ‘भ्यालुएसन’ हुने गरेको छ जसले गर्दा महँगो मूल्यमा शेयर किनेका लगानीकर्ताले पनि १ सय रुपैयाँकै आधारमा साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्दा लगानीकर्ता मर्कामा परेका हुन् ।

सीडीएससीको हकप्रद र बोनस शेयरको सवालमा आफैंले भारित औसत पुँजी लागत (वेटेज एभरेज कस्ट अफ क्यापिटल, डब्ल्यूएसीसी) निर्धारण गर्ने विकल्प ‘डिसेबल’ हुँदा दीर्घकालीन लगानीकर्ता भन्दा बढी ट्रेडरलाई मर्का परेको हो । दीर्घकालीन लगानीकर्ताको सवालमा हकप्रद र बोनस शेयरको बुकक्लोज हुनुभन्दा अगाडि किनेको शेयर नै हकप्रद र बोनस शेयर नेप्सेमा सूचीकृत भएपछि मात्रै बिक्री गर्न खोज्ने हुँदा केही समस्या पर्दैन किनभने नेपाल स्टक एक्सचेन्जमा हकप्रद र बोनस शेयर घोषणा भएको छ भने बुक क्लोज पछि सोही आधारमा शेयरको मूल्य समायोजन हुन्छ ।
बोनस र हकप्रद शेयर सूचीकृत भएपछि सोही आधारमा मूल्य समायोजन हुने हुँदा दीर्घकालीन लगानीकर्ता (इन्भेष्टर्स)लाई सीडीएससीको नीतिले केही असर पर्दैन तर अल्पकालीन लगानीकर्ता (ट्रेडर) जसले बोनस वा हकप्रदको बुक क्लोजपछि नै माउ शेयर बिक्री गर्दछ । त्यस्ता लगानीकर्तालाई भने सीडीएसीको कदमले धेरै नै घाटा पार्ने गरेको एक ब्रोकरले मेरो लगानीलाई बताए ।
नेप्सेमा सूचीकृत कुनै कम्पनीले ४० प्रतिशत बोनस शेयर दिएको छ र त्यसको मूल्य बुक क्लोज अगाडिसम्म २ हजार चलिरहेको छ भने बुक क्लोजपछि शेयरको समायोजित मूल्य १४२८.५७ रुपैयाँ हुन्छ । त्यो बोनस शेयर लगानीकर्ताको खातामा आउन १ देखि डेढ महिना लाग्छ । नेपालको शेयर बजारमा इन्भेष्टर्स भन्दा ट्रेडर बढी हावी छन् । ट्रेडरले आफूले किनेको शेयर लामो समय ‘होल्ड’ गरेर बस्दैन । कुनै ट्रेडरले बोनस शेयर खाने गरी शेयर किनेको छ भने सो बोनस शेयर १ सय रुपैयाँ लागत मूल्य मानेर बेच्नुपर्ने हुन्छ । यहाँ अघिको उदाहरणमा लगानीकर्ताको लागत (डब्ल्युएसीसी) नै १४२८।५७ रुपैयाँ पर्न गएको छ तर अहिलेको प्रणाली अनुसार १ सय रुपैयाँ मानेर त्यो भन्दा माथिको फरक सबैलाई नाफा मानेर कर तिर्नुपर्ने भएको छ । यदि उक्त लगानीकर्ताले बोनस शेयर सूचीकरण हुँदासम्म पहिला किनेको शेयर नबेचीकन राखेको छ भने यो समस्या हुँदैन ।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले महालेखा परिक्षकको प्रतिवेदनले हकप्रद र बोनस शेयरको लागत मूल्य १ सय रुपैयाँ नै हुने भनेर लेखेपछि र लगानीकर्ताले समेत आफैले किनेको शेयरको मूल्य विभिन्न कारण दिएर आफै लागत तोक्न मिल्ने विकल्पको दुरुपयोग गरेको देखिएपछि मूल्य ‘इडिट’ गर्न मिल्ने विकल्प ‘डिसेबल’ गरिएको बताए । महालेखा परिक्षकको प्रतिवेदनले हकप्रद र बोनस शेयर लगानीकर्ता आफूले ‘इडिट’ गर्न दिनु हुँदैन भनेर निर्देशन आएपछि बन्द गरिएको उनले बताए।
करिब दुई महिना अघिदेखि मात्रै यो विकल्प बन्द गरिएको उनले बताए । हकप्रद र बोनसको हकमा लगानीकर्ता आफैलाई रिमार्कमा कारण लेख्न लगाएर ‘डब्ल्यूएसीसी’को स्वघोषणा गर्न दिने गरिएको भए पनि पछि बन्द गरिएको हो । आन्तरिक राजस्व कार्यालयले समेत सीडीएससीलाई हकप्रद र बोनस शेयरको अंकित मूल्य १ सय नै हुने भनेर लेखेको उनले बताए ।