अमेरिकी संसद् भवनमाथि आक्रमण भएको दिन ट्रम्पले गरेको भाषण सही ढङ्गले सम्पादन नगरी गत वर्ष कार्यक्रममा प्रसारण गरिएकोप्रति बीबीसीले औपचारिक रूपमा क्षमायाचना गरेको छ। तर १ अर्ब डलर क्षतिपूर्ति दिनुपर्ने राष्ट्रपति ट्रम्पको माग उसले अस्वीकार गरेको छ। योसंगै उनीहरुबीचको विवाद थप चर्किन सक्ने देखिएको छ ।

सोही प्रकरणलाई लिएर बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले आइतवार पदबाट राजीनामा दिएका छन् भने बीबीसीका अध्यक्ष समीर शाहले क्षमायाचना सहितको छुट्टै पत्र पठाएका छन् ।
तर, बीबीसीले आफ्नो बयान फिर्ता नलिएसम्म, क्षमायाचना नगरेससम्म र क्षतिपूर्ति नदिएसम्म एक अर्ब डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्ने ट्रम्पका वकिलहरूले चेतावनी दिँदै आएका छन्।
सन् २०२२ मा न्यूजनाइट कार्यक्रममा सोही प्रकृतिले सम्पादन गरिएको क्लिप प्रसारण भएको भन्दै द डेली टेलिग्राफ पत्रिकाले केही दिन अघि समाचार प्रकाशन गरे लगत्तै हंगामा मच्चिएको थियो, त्यो अझै रोकिएको छैन ।
बीबीसीका अध्यक्ष समीर शाहले ह्वाइटहाउसलाई छुट्टै एउटा व्यक्तिगत पत्र पठाएर सन् २०२१ को जनवरी ६ को भाषणको सम्पादनका लागि उनी र बीबीसी क्षमाप्रार्थी रहेको राष्ट्रपति ट्रम्प समक्ष स्पष्ट पारेका छन्।
‘भिडिओ क्लिप जसरी सम्पादन गरियो त्यसका लागि क्षमाप्रार्थी छौँ, तर मानहानीका आधारप्रति हामी दृढ रूपमा असहमत छौँ,’ उनले पठाएको पत्रमा भनिएको छ ।