दुई वा दुई भन्दा बढी इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभिई नयाँ संस्था बन्ने कार्यलाई मर्जर भनिन्छ । मर्जर पछि त्यसमा संलग्न रहेका दुवै संस्थाको व्यवस्थापनको प्रतिनिधित्व हुने गरी नयाँ व्यवस्थापन बनाइन्छ । मर्जरपछि बन्ने नयाँ संस्थामा सीईओ को रहने, केन्द्रीय कार्यालय कहाँ रहने भन्ने विषयमा छलफल गरी निर्णय गरिन्छ । बैंकको नाम पनि परिवर्तन हुने अथवा दुबै बैंकको प्रतिनिधित्व हुने गरी नाम राख्ने भन्ने विषयमा दुवै पक्षको सहमतिमा निर्धारण गरिन्छ ।

त्यस्तै एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थालाई खरिद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्यलाई प्राप्ति वा एक्विजिशन भन्ने बुझिन्छ । लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनु पूर्व गरेका सम्पूर्ण करारीय दायित्व स्वीकार गर्ने कार्य नै प्राप्ति हो । प्राप्ति गर्दा सीईओ वा केन्द्रीय कार्यालय परिवर्तन गरिँदैन । बैंकको नाम परिवर्तन हुँदैन । प्राप्ति भएको बैंक प्राप्ति गर्ने बैंकमा विलय भएपछि उसको अस्तित्व रहँदैन । मर्जर वा एक्विजिसन गर्दा बैंकहरुले अपनाउनुपर्ने प्रक्रिया भने समान रहेको छ ।
बैंकिङ प्रणालीको संवर्द्धन गर्न एवम् पूँजीगत आधार बलियो बनाउन बैंकहरुबीचमा मर्जर वा एक्विजिसन गराइन्छ । यसबाट बैंकको वित्तीय, मानव संशाधन, प्राविधिक एवम् अन्य क्षमता अभिवृद्धि हुन्छ । कुनै पनि वित्तीय संस्थाले गाभ्ने गाभिने अर्थात मर्जर र प्राप्ति अर्थात एक्विजिसन प्रक्रिया एकैसाथ अगाडि बढाउन नपाउने राष्ट्र बैंकको प्रावधान रहेको छ ।
‘मर्जर’ र ‘एक्विजिशन’ केवल बैंक तथा वित्तीय संस्थामा मात्र हुँदैन, बीमालगायतका व्यवसायिक क्षेत्रमा पनि हुन्छ । सरकारले शिक्षा क्षेत्रमा पनि विद्यार्थी संख्या कम भएका र कमजोर व्यवस्थापन भएका स्कुलहरुबीच मर्जर गराउँदै आएको छ ।
भनिरहनु नपर्ला ‘मर्जर’ र ‘एक्विजिशन’ दुवैको एउटा साझा उद्देश्य हुन्छ—बलियोले कमजोरलाई निल्ने वा कमजोर—कमजोर मिलेर बलियो बनाउने । आफ्नो अस्तित्व जोगाउँदै सकेसम्म प्रभाव देखाउन खोज्ने ।
फागुन २१ को लागि तोकिएको प्रतिनिधि सभाको ‘चुनाव हुन्छ कि क्या हो’ भन्ने अवस्था सृजना हुँदै गरेको बेला अहिले राजनीतिक पार्टीहरुबीच ‘मर्जर’ र ‘एक्विजिशन’को होड शुरु भएको छ । यो होडमा यति बेला ‘कम्युनिष्ट ब्राण्ड’ र वैकल्पिक राजनीति गर्छाैं भनेकाहरुका ‘नयाँ ब्राण्ड’ बीच प्रतिस्पर्धा चलिरहेको छ । त्यसै क्रममा एकातिर ‘कम्युनिष्ट ब्राण्ड’बाट तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले पार्टीहरुबीच ‘मर्जर’ र ‘एक्विजिशन’ गराइरहेका छन् । पछिल्लो एक डेढ महिना यता उनले झण्डै एक दर्जन पार्टीहरुसँग ‘मर्जर’ र ‘एक्विजिशन’ गराइसकेका छन् ।
शक्ति आर्जन गर्नको लागि उनले दुवै विधिलाई अपनाइरहेका छन् ।
अब आउने निर्वाचनमा सकेसम्म आफै सरकार बनाउने हैसियतमा पुग्ने नभए ‘म्याजिक नम्बर’ जितेर फेरि प्रधानमन्त्री बन्ने सपना देखिरहेका तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले जो जसलाई जहाँबाट जसरी हुन्छ, त्यसरी नै ‘मर्जर’ वा ‘एक्विजिशन’ गराइरहेका छन् । त्यही क्रममा उनले आफ्नो पार्टीको मुख्य परिचय बनेको माओवादी शब्दलाई मात्रै हटाएनन्, जनार्दन शर्मा, राम कार्की लगायत देशभरका धेरै पुराना ‘कमरेड’हरुलाई त्यागेर माधव नेपाल, बामदेव गौतम हुँदै प्रेमबहादुर सिंह जस्ता नेपाली राजनीतिका ‘रंगीन पात्र’हरुलाई अंगालेर नयाँ ‘ब्राण्ड’ स्थापित गर्ने प्रयास गरिरहेका छन् ।
जेनजीको भाषामा माओवादी त ‘पुरानो’ पार्टी र प्रचण्ड ‘पुराना’ नेता भए, उनले चुनावमा उत्पन्न हुन सक्ने खतरालाई महसुस गरेर अन्य पार्टी र पक्षसँग ‘मर्जर’ र ‘एक्विजिशन’ गर्नुलाई अस्वभाविक मान्नु पर्दैन । तर, नयाँ भनिएका र आफूहरुलाई ‘उच्च नैतिकताको राजनीति गर्ने’ दावी गर्दै आइरहेका ‘नयाँ पार्टी’हरु समेत ‘मर्जर’ र ‘एक्विजिशन’ मा गइरहेका छन् । कतिसम्म भने एउटा पनि चुनावको सामना नगरेका दलहरु समेत धमाधम त्यसरी ‘मर्जर’ र ‘एक्विजिशन’मा गइरहेका छन् । त्यसैक्रममा पालमा खगेन्द्र सुनारको पार्टी ‘हाम्रो पार्टी नेपाल’ कूलमान घिसिङको पार्टी उज्यालो नेपालसँग ‘मर्जर’ प्रकृयामा गएको छ भने अरु साना तिना पार्टीहरुलाई ‘मर्जर’ प्रकृयामा सामेल गर्ने प्रयास भइरहेका समाचारहरु आइरहेका छन् । काठमाडाैं महानगरपालिका प्रमुख बालेन साहदेखि रास्वपा सभापति रवि लामिछाने, धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीहरुसँग ‘मर्जर’ वा ‘एक्विजिशन’को लागि पटक पटक वार्गेनिङ भए पनि पद मिलान हुन नसकेकोले टुंगोमा पुग्न सकेको देखिदैन ।
त्यसैक्रममा आइतबार रास्वपाले २०७४ को चुनाव अगाडि देखि नै बैकल्पिक राजनीतिको वकालत गर्दै आएको विवेकशिल साझा पार्टीलाई ‘एक्विजिशन’ गरेको छ । र, विवेकशिल साझा पार्टी अस्तित्वविहिन बन्न पुगेको छ ।
यद्धपि उक्त पार्टीका उपाध्यक्ष मिलन पाण्डेले रास्वपाले गरेको ‘एक्विजिशन’लाई अस्वीकार गर्दै पार्टीलाई अगाडि बढाउने घोषणा गरेका छन् ।
चुनाव नजिकिदैं जाँदा के होला भन्न सकिन्न, तर अहिलेको अवस्थामा हेर्दा देशका प्रमुख दुई पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेले ‘मर्जर’ वा ‘एक्विजिशन’लाई वेवास्ता गर्दै आफै अगाडि बढेको देखिन्छ । अन्य पार्टी र समुहहरुले एक अर्काेमा ‘वार्गेनिङ’ गर्दै सहकार्य र पार्टी एकीकरणको नाममा ‘मर्जर’ वा ‘एक्विजिशन’लाई निरन्तरता दिने देखिन्छ ।
बैंंक तथा वित्तीय संस्था वा अरु कुनै संस्थाहरु बीच ‘मर्जर’ वा ‘एक्विजिशन’ हुँदा नयाँ बन्ने संस्था बलियो भएर सम्वन्धित क्षेत्रमा सकारात्मक प्रभाव पर्छ । कतिपय सन्दर्भहरुमा त देशको अर्थतन्त्रले नै नयाँ दिशा अपनाउँछ भन्ने कुरा बैंक तथा वित्तीय संस्थाहरुको ‘मर्जर’ वा ‘एक्विजिशन’पछिका परिणामले देखाउँछ । तर राजनीतिक पार्टीहरुको ‘मर्जर’ वा ‘एक्विजिशन’ले संसदमा उनीहरुको संख्यात्मक उपस्थितिलाई बढाउन सक्छ । त्यो वाहेक नागरिकका चासो र चिन्तालाई कसरी सम्वोधन गर्छ ? समग्र देशको भाग्य र भविश्यलाई के फरक पार्छ ? यसको जवाफ भने त्यति सजिलो छैन । स्वंय ती राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले पनि ‘राजनीतिक पारा’ले जवाफ दिनु वाहेक तथ्यगतरुपमा जवाफ दिन सकिरहेका छैनन् । त्यसैले पनि अहिले राजनीतिक पार्टीहरु बीच चलिरहेको ‘मर्जर’ वा ‘एक्विजिशन’ आम नागरिकहरुको लागि नजाने गाउँको बाटो नसोध जस्तै भएको छ ।