९ महिनामै सवा २ खर्बकाे निर्यात हुँदा पनि व्यापार घाटा साढे १२ खर्ब नाघ्याे, इन्धन र इभी आयातको भार उच्च

Apr 20, 2026 06:12 PM Merolagani



चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापारमा केही सुधारका संकेतहरू देखिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा कुल १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ।

यस वर्ष निर्यातको वृद्धिदर आयातको तुलनामा झण्डै ५ प्रतिशतले बढी देखिनु सकारात्मक पक्ष हो। गत साउनदेखि चैत मसान्तसम्म निर्यात १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँको मात्र निर्यात भएको थियो।

निर्यातमा सुधार देखिए पनि आयात निकै ठूलो हुँदा व्यापार घाटाको चुनौती भने कायमै छ। ९ महिनामा कुल १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँको वस्तु आयात भएको छ, जसमा इन्धन र खाद्यान्नको हिस्सा सबैभन्दा बढी छ। तथ्यांक अनुसार २ खर्ब ८६ अर्ब ५४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको देखिन्छ। यस्तै, सवारी साधनको क्षेत्रमा विद्युतीय सवारी र तिनका पार्टपूर्जाहरूको आयात ८३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ। इभी आयातले इन्धनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने देखिए पनि यसले तत्कालका लागि आयातको ठूलो हिस्सा ओगटेको छ। सवारी साधनको आयातबाट मात्रै सरकारले यस अवधिमा ६४ अर्ब २७ करोड ५८ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।

आयात र निर्यात दुवैमा वृद्धि भएपछि ९ महिनाको कुल व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.०४ प्रतिशतको वृद्धि हो। व्यापारिक नाकाहरूको तुलना गर्दा वीरगञ्ज भन्सार अझै पनि प्रमुख द्वारको रूपमा कायम छ। कुल आयातको ४६.५६ प्रतिशत र निर्यातको ३५.६८ प्रतिशत हिस्सा वीरगञ्ज नाकाले ओगटेको छ।

समग्रमा, आयात १३.८२ प्रतिशतले बढ्दा निर्यात १८.४६ प्रतिशतले बढ्नुले व्यापार सन्तुलनमा केही आशा जगाएको छ। यद्यपि, आयात–निर्यात अनुपात ६.६९ रहनुले अझै पनि १ रुपैयाँको निर्यात गर्दा नेपालले ६ रुपैयाँ ६९ पैसाको वस्तु बाहिरबाट मगाउनुपर्ने बाध्यतालाई चित्रण गर्दछ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।