३७ खर्बको विदेशी मुद्रा सञ्चिति र साढे ८ खर्ब शोधनान्तर बचतको रेकर्ड, तर व्यापार घाटा भने १४ खर्ब नाघ्यो

Jun 09, 2026 05:48 PM Merolagani



नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको तथ्याङ्कले नेपालको बाह्य अर्थतन्त्र अन्त्यन्तै बलियो रहेको देखाएपनि परनिर्भरता र उपभोगमुखी प्रवृत्तिबाट भने अझै निस्कन सकेको छैन ।

देश भित्रिने र बाहिरिने रकमको अन्तर जनाउने शोधनान्तर स्थिति इतिहासकै उच्च विन्दु अर्थात ८ खर्ब ६३ अर्ब ५६ करोड बचतमा रहनु र विदेशी मुद्राको सञ्चिति ३७ खर्ब ४४ अर्ब ५५ करोड नाघ्नु नेपाली अर्थतन्त्रका लागि सबैभन्दा सुखद पक्ष हुन्। यो सञ्चितिले १९ महिनाभन्दा बढीको आयात धान्न सक्छ, जुन आवश्यकता धेरै बढी हो। तर, यो सफलता देशको आफ्नै आन्तरिक उत्पादन वा बलियो निर्यातका कारण नभई पूर्ण रूपमा रेमिट्यान्समा आएको ४१.२ प्रतिशतको वृद्धि (१९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ)का कारण सम्भव भएको हो। राष्ट्रको चालु खाता नै ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहनुको पछाडि पनि यही रेमिट्यान्सको टेको रहेको छ। यसले के देखाउँछ भने नेपालको वित्तीय स्थिरता अझै पनि वैदेशिक रोजगारी र डलरको विनिमय दरकै भरमा टिकेको छ।

बाह्य सूचक बलियो, भित्र खोक्रो

अर्कोतर्फ, देशको वैदेशिक व्यापार र रोजगारीको प्रवृत्तीलाई हेर्दा केही गम्भीर विरोधाभासहरू देखा पर्छन्। समीक्षा अवधिमा नेपालको निर्यात १४.२ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने आयात पनि १४.८ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। नतिजास्वरूप, कुल वस्तु व्यापार घाटा १४.९ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ। आयातित वस्तुहरूको सूचीमा पेट्रोलियम पदार्थ र यातायातका साधनहरू प्रमुख छन्, जसले रेमिट्यान्स बढेसँगै नेपालीहरूको उपभोग गर्ने बानी बढेको र देशको पैसा पुनः बाहिरिएको संकेत गर्छ। निर्यात–आयात अनुपात जम्मा १४.७ प्रतिशत मात्र हुनुले नेपालको आन्तरिक उत्पादन अझै पनि नाजुक रहेको पुष्टि गर्छ।

त्यस्तै, वैदेशिक रोजगारीतर्फ नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १७.३ प्रतिशतले घटेर ३ लाख ३५ हजार ५१० मा सीमित भएको छ भने पुनः श्रम स्वीकृति लिएर जानेहरूको संख्या १६.४ प्रतिशतले बढेर ३ लाख २६ हजार ३६४ पुगेको छ। नयाँ जानेको संख्या घट्नु र पुराना, अनुभवी कामदारहरू पुनः विदेशिने क्रम बढ्नुले विदेशको अनुभव हासिल गरेका जनशक्ति स्वदेशमा टिक्न नसकेको पुष्टि हुन्छ । पुराना र दक्ष कामदारहरू फर्किएका कारण नै अहिले रेमिट्यान्सको परिमाण र डलरको आयमा उच्च वृद्धि भएको देखिन्छ।

वित्तीय व्यवस्थापन र बाह्य क्षेत्रको सुरक्षाका हिसाबले नेपाल अहिले निकै सहज र सुरक्षित स्थानमा छ। राष्ट्र बैंकसँग भएको विदेशी मुद्रा सञ्चितिले सरकार र निजी क्षेत्रलाई ढुक्कसँग काम गर्ने वातावरण दिएको छ। तर, यो अनुकूल समयलाई उपयोग गरेर आन्तरिक उत्पादन बढाउन र व्यापार घाटा कम गर्न ठोस कदम नचाल्ने हो भने, भविष्यमा वैदेशिक रोजगारीमा जाने सामान्य धक्काले पनि अर्थतन्त्रलाई संकटमा पार्न सक्ने जोखिम उत्तिकै रहन्छ।