लौ हेर्नुहोस्, भूकम्प पछि बाणिज्य बैंकको घर तथा आवास कर्जा प्रवाहमा के भयो ?

Mar 09, 2016 Mero Lagani

गत बैसाख १२ र त्यसपछिको भूकम्पका कारण धेरै भौतिक संरचना भत्किए भने कतिपय बैंक तथा वित्तीय संस्थाले लगानी गरेर निर्माण भएका व्यवसायिक महलहरु पनि क्षत विक्षत भए । यसले बैंकहरुलाई घर तथा आवासमा गर्दै आएको लगानी कति सुरक्षित छ भनेर सोच्न बाध्य तुल्यायो । कतिपय बैंकहरुले भूकम्प पछि घर तथा आवास निर्माणका लागि प्रवाह गर्ने ऋणको व्यवस्थामा परिवर्तन गरे । तर पनि गत आर्थिक वर्षको चौथो वित्तीय विबरणको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तमा वाणिज्य बैंकहरुको घर तथा आवास कर्जामा बढोत्तरी भएको छ ।<

वाणिज्य बैंकको घर तथा आवास कर्जा वृद्धि यस्तो छ

बैशाख १२ गते गएको विनासकारी भुकम्पका दौरान वाणिज्य बैंकहरुको यस्तो किसिमको कर्जा प्रवाह केही हदसम्म सिमित हुन पुग्यो । गत आर्थिक वर्षको असारसम्ममा ३० वटा वाणिज्य बैंकले व्यवशायिक घर तथा आवास कर्जा शिर्षकमा ५९ अर्ब ५८ करोड रुपैंया लगानी गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नै ३० वाणिज्य बैंकको यस्तो कर्जा ६७ अर्ब ९० करोड रुपैंया पुगेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ३० वाणिज्य बैंकले प्रवाह गरेको यस्तो कर्जा ८ अर्ब ३१ करोड रुपैंयाले बढेको हो । यस क्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकहरुको ब्यवसायिक घर कर्जाको मात्रा बढेको देखिन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक र प्राइम कमर्शियल बैंकले पुस मसान्तसम्ममा व्यवशायिक घर कर्जामा सबैभन्दा धेरै लगानी गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तमा इन्भेष्टमेण्ट बैंकले ४ अर्ब ५४ करोड तथा प्राइम बैंकले ४ अर्ब २३ करोड रुपैंया लगानी गरेकोमा यस पटक दुवै बैंकले ४ अर्ब ५७ करोड रुपैंया ऋण लगानी गरेका छन् ।

यी दुई बैंकलाई क्रमशः नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनलले पछ्याएकोमा व्यवसायिक घर कर्जामा सिद्धार्थ बैंकले सबैभन्दा थोरै ऋण लगानी गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३१ करोड रुपैंया मात्र ऋण लगानी गरेको सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५७ करोड रुपैंया ऋण प्रवाह गरेको छ ।

 

व्यक्तिगत घर कर्जा शिर्षकमा वाणिज्य बैकहरुले व्यवसायिक घर कर्जामा भन्दा धेरै लगानी गरेका छन् । भूकम्पका कारण पुनरबासको क्रम बढ्दा बैंकहरुको यस्तो कर्जा गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ३० वटा वाणिज्य बैंकले ८५ अर्ब ४२ करोड रुपैंया ऋण लगानी गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नै त्यो मात्रा बढेर ९२ अर्ब ७० करोड रुपैंयामा पुगेको छ । ६ महिनाको अवधिमा बैंकहरुको यस्तो कर्जा प्रवाह ७ अर्ब २७ करोड रुपैंयाले बढेको हो ।

व्यक्तिगत घर कर्जामा एभरेष्ट बैंकले सबैभन्दा धेरै अर्थात ८ अर्ब ६४ करोड रुपैंया लगानी गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा एभरेष्टले ८ अर्ब ४० करोड रुपैंया व्यक्तिगत घर कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा सबैभन्दा कम व्यक्तिगत घर कर्जा प्रवाह गर्ने वाणिज्य बैंकको सुचीमा ग्राण्ड बैंक रहेको छ । उसले गत आर्थिक वर्षको चौथो त्रैमासमा १७ करोड रुपैंया कर्जा प्रवाह गरेकोमा पुस मसान्तसम्ममा १३ करोड रुपैंया मात्र कर्जा प्रवाह गरेको छ । ग्राण्ड बैंक प्रभुमा बिलय भईसकेकोले उसले प्रबाह गरेको हिसाव अब तेस्रो त्रैमासमा प्रभुको एकीकृत बित्तीय बिबरणमा समाबेश हुनेछ । 

३० वाणिज्य बैंकमध्ये २५ वटाले व्यक्तिगत घर कर्जामा लगानी बढाएका छन् भने ५ वटाको कर्जा प्रवाहमा गिरावट आएको छ । यस क्रममा एनएमबी बैंकले व्यक्तिगत घर कर्जा अधिक मात्रामा बढाएर २ अर्ब ९० करोडलाई ४ अर्ब १९ करोड रुपैंयामा पुर्याएको छ । यस्तो कर्जा घटाउनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, इन्भेष्टमेण्ट बैंक, सिभिल बैंक र ग्राण्ड बैंक रहेका छन् ।

समिक्षा अविधमा व्यवसायिक घर कर्जा प्रवाहका दौरान ४ वटा बैंकले १ अर्ब रुपैंयाभन्दा थोरै लगानी गरेका थिए भने व्यक्तिगत घर कर्जामा असार मसान्तमा ५ वटा बैंकले १ अर्बभन्दा कम लगानी गरेकोमा पुस मसान्तमा यो संख्या ६ पुगेको छ ।

राजनीतिक अन्योल, भुकम्प तथा भारतीय नाकाबन्दीको प्रभावले अन्य क्षेत्रमा कर्जाको माग नभएको, लगानीको वातावरण बिग्रिएकोले घरजग्गा क्षेत्रमै बैंकहरुको लगानी बढेको देखिएको छ । यस क्षेत्रमा धितो बन्धक लिन दिन सजिलो हुनुका साथै राष्ट्र बैंकले तोकेको सिमा भित्र कर्जा प्रबाह गर्नलाई कुनै अबरोध छैन् । अर्को तर्फ कर्जा प्रबाह गर्ने सम्पतिको बिमा र पुनर्बिमा पनि हुने भएकाले जोखिम ब्यवस्थापन गरी एभरेष्ट बैंक जस्ता लगानीयोग्य रकम धेरै भएका बैंकले घरजग्गा क्षेत्रमा कर्जा केन्द्रित गरेको देखिएको छ । 

घरजग्गा क्षेत्र अनुत्पादक भएपनि बैंकहरुले लगानी बढाईरहेका छन् । यस क्षेत्रमा परिचालन भएको कर्जाको सावाँ ब्याज असुलीमा समस्या आउने बित्तिकै बेंकहरुको निस्क्रिय कर्जा अनुपात बढ्ने गरेको छ । विगतमा किष्ट, ग्राण्ड, बिभोर लगायतका बैंकहरु घरजग्गामा परिचालन भएको कर्जा असुलीमा समस्या आएपछि संकटमा फसेका थिए । अरु धेरै बैंकहरुलाई समस्यामा पर्न नदिन त्यतिखेर राष्ट्र बैंकले लिएको नयाँ नीतिले ठूलो भुमिका खेलेको थियो । 

 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।