डान्सबारकी युवतीको नाममा ऋण र ऋणीको ठेगाना बाढी पिडित वस्ती
शुक्रबार सीआबीको अप्रेसनमा समातिएका तत्कालीन एपेक्स डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसहितका शाखा प्रमुखहरुले बिभिन्न स्थानमा कैयौं विगाहा जमिन आफै किनेर जग्गाको कित्ताकाट गरेर फर्जी व्यक्तिहरुलाई लालपूर्जा दिई ऋण प्रवाह गरे ।
जग्गाको गलत मूल्याकंन गरेर १० देखि ३५ लाख रुपैयाँसम्म ऋण प्रवाह गरियो । आफैले मुल्याकंन गरेर ऋण प्रवाह गर्न सक्ने कार्यविधि टेकेर उनीहरुले पदको चरम दुरुपयोग गरेका थिए । इटहरी र नवलपरासीका विभिन्न स्थानमा भएका जग्गाको नाममा दिइएको ऋणी खोजी गर्दै जाँदा उनीहरुको ठेगाना अचम्मित पार्ने खालको थियो । कुनै हैसियत नै नभएका मानिसहरुलाई ऋणी बनाइएको थियो ।
इटहरीको ४ विगाहा जमिनलाई कित्ताकाट गरेर गरिएको ऋणीको परिचय खोज्दै जाँदा ४ दिन अगाडि नागरिकता बनाएकी किशोरी भेटिएकी थिइन् । त्यस्तै ऋण प्रवाह भएको एक युवती डान्सबारमा काम गर्थिन, उनलाई आफुले बैंकबाट ऋण लिएको समेत थाह थिएन । यस्तै नवलपरासीमा रहेको जग्गामा भएको ऋणीको परिचय खोज्दै जाँदा ठेगाना बाढी पिडित बस्ती भनेर देखाइएको थियो ।
यसरी ऋण प्रवाह गर्नेहरु सबै तत्कालिन एपेक्स डेभलपमेण्ट बैंकका जिम्मेवार अधिकारीहरु थिए । यसमा केही ठूला जग्गा कारोबारीको पनि संलग्नता रहेको स्रोत बताउँछ ।
जग्गाको मूल्याङ्कन हाँस्यास्पद
बैंकले ऋण प्रवाह गर्नका लागि धेरै दुखः दिन्छन् भन्ने धारणा आम नागरिकमा छ । अझ जग्गा धितो राखेर बैंकबाट ऋण लिन त निकै पापड बेल्नु पर्ने ऋणीहरु बताउँछन् । तर एपेक्स डेभलपमेण्ट बैंकका तत्कालीन सिइओ तथा बिभिन्न शाखाका प्रमुखहरुले ऋण दिएको हेर्दा सबैलाई हाँसो उठ्छ ।
उनीहरुले भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी स्वीकृत गरेका थिए । उनीहरुले केही कृत्रिम ऋणीहरु खडा गरेका थिए । त्यस्तै निश्चित क्षेत्रको कमसल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले ऋणीको नक्कली आयस्रोत सम्बन्धी विबरणहरूलाई स्वीकृत गरेका थिए भने मोटरबाटो नभएको, भिरालो पाखोबारीहरु र वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेका थिए । धितो निरीक्षण, कर्जा निर्णय, जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह जस्ता प्रक्रियगत कुराहरु बैंक मार्फत एकै दिनमा भएको थियो । बैंककै मिलोमतोमा कमसल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको स्रोत बताउँछ ।
कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको, सावाँ र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पुन दोस्रो कर्जा प्रवाह गरेको, एउटै व्यक्ति संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको अनुसन्धानले पुष्टि गरेको छ ।
मर्जरलाई टेकेर एनसीसीमाथि प्रहार
नेपाल राष्ट्र बैंकको बाध्यकारी मर्जरमा जानु पर्ने नीतिका कारण आफ्नो व्यापारिक सम्बन्ध राम्रा भएका बैंकहरुबिचमा मर्जरको कुरा गर्न एनसीसी, एपेक्स लगायतले अरु बैंकसँग कुरा चलाए । कुमारी बैंक, इन्टरनेशनल डेभलपमेण्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकले राष्ट्र बैंकको पहलमा मर्जर सम्झौता गरे । तर कुमारी बैंक बिच बाटोबाट नै मर्जर प्रकृयाबाट बाहिरियो ।
एपेक्स सहितका अरु बैंकहरु एनसीसी बैंकसंग मर्जरमा जाने सहमति अनुसार अघि बढे । डीडीए र स्वाप रेसियो पनि तय भयो । यस पछि मर्जरका लागि ८ महिना समय लाग्यो । पहिलो महिनामा तय भएको ऋणको दायित्व दोश्रो, तेस्रो महिनामा बढ्दै गयो। जति प्रकृया लम्बियो, एपेक्सबाट उत्तिनै धेरै यस्तो कर्जा प्रवाह हुँदै गयो ।
गत वर्ष पुष १७ गते एनसीसी र एपेक्सबिचमा एकीकृत कारोबार सुरु भयो त्यस पछि पुष मसान्तमा हेर्दा एकै पटक खराब ऋणहरु प्रवाह भएको खुलासा भयो । त्यही आठ महिनाको बिचमा एपेक्सका कर्मचारीले डामाडोल गरेर कर्जा प्रवाह भएको खुलासा भएको थियो । साथै समस्याको जड पनि यहीँबाट सुरु भयो ।
चौसठ्ठी करोडको बैंक किन्दा २ अर्बको नोक्सान दायित्व
एनसीसीले ६४ करोड पूँजीको एपेक्स बैंक ४८ रुपैंया प्रतिसेयरका दरमा ३१ करोडमा आफुमा गाभेको थियो । तर बिजनेसको घाटा भने भण्डै २ अर्ब बराबर भयो । यस्तो भएपछि राष्ट्र बैंकले विशेष चासो राखेर यो घटनाको अनुसन्धान थाल्यो । राष्ट्र बैंक आफ्नै पहलमा मर्जर गराइएका कारण पनि विशेष चासोका साथ राष्ट्र बैंकले हेर्नु स्वभाविक थियो । त्यसपछि एनसीसी बैंककै माताहतमा रहे पनि एपेक्सको कारोबारबारे बैंकको टोलीले विशेष निरीक्षण थाल्यो । र प्रतिवेदन राष्ट्र बैंकलाई बुझायो ।
सोही प्रतिवेदनका आधारमा राष्ट बैंकको आग्रहपछि शुक्रबार सीआइबीले कारबाही अगाडी बढायो । राष्ट्र बैंकको उक्त अनुसन्धानमा देखिएका दोषी विवरण सीआइबी र राष्ट्र बैंकलाई मात्रै जानकारी भएका कारण घोटालामा संलग्नको संख्या अझै बढ्न सक्ने देखिन्छ । कर्जा प्रवाहका दौरान सहभागि भएका जग्गा कारोबारी, मूल्यांकनकर्ता लगायतका सबै प्रकृयामा सहभागि व्यक्तिहरु सीआईबीको अप्रेशनमा पर्न सक्छन् ।