बैंकले शुक्रबारदेखि एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको एफपिओ जारी गरेको छ ।
विहिबार दोस्रो बजारमा नेपाल बैंकको शेयर प्रतिकित्ता २९३ रुपैयाँमा कारोबार बन्द भएको थियो । बजार मूल्य भन्दा १३ रुपैयाँ मात्र सस्तो भएपछि लगानीकर्ता बैंकको एफपिओमा लगानी गर्न हच्किएका हुन् ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आवेदन खुलेको पहिलो दिन एक हजार २५८ आवेदकले एक लाख २५ हजार ६५० कित्ताका लागि मात्र आवेदन गरेका छन् । रकमका आधारमा बैंकको एफपिओमा ३ करोड ५१ लख रुपैयाँ बराबरको आवेदन परेको छ । सेयर संख्याको प्रतिशतका आधारमा शुन्य दशमलव ७१ प्रतिशत आवेदन परेको हो ।
पहिलो दिनदेखि नै संस्थागत लगानीकर्तालाई पनि आवेदन खुलाइएको भएपनि उनीहरुको आवेदन पर्न सकेको छैन् ।
लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था छ । एफपिओ छिटोमा असार १९ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा विक्री नभएमा ढिलोमा साउन १३ गतेससम्म जारी हुने विक्री प्रबन्धकले जनाएको छ ।
एफपिओ निष्काशनसँगै बैंकमा सरकारको हाल रहेको ६२ प्रतिशत सेयर स्वामित्व घटेर ५१ प्रतिशत कायम हुनेछ । उता ३८ प्रतिशत रहेको सर्वसाधारणको स्वामित्व बढेर ४९ प्रतिशत पुग्नेछ । सरकारी स्वामित्व घटाएर ५१ प्रतिशतमा झारेर सर्वसाधारण सेयर स्वामित्व ४९ प्रतिशत कायम गर्न एफपिओ विक्रीमा ल्याएको बैंकले जनाएको छ ।
बैंकको एफपिओलाई केयर नेपालले केयर एनपि आईपिओ ग्रेड ३ं रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको अवस्था औषत आधार रहेको जनाउँछ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपिओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलतन गर्नेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।