शिवजीले कैलाशबाट चलाउने हो र सोचे जसरी आउँछ अनलाईन कारोबार ?

Jul 19, 2018 Merolagani

- लगानीकर्ता र सेयर दलालको नजरमा अनलाइन

गत वर्षको कात्तिक २१ गते अनलाइन प्रणालीबाट सेयर कारोबार हुने उद्घोष नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गर्यो । तर अनलाइनको काम सुरुवाती चरणमा मात्र भएकाले लगानीकर्ता त्यस बेला जिल्लिए । अहिले नेप्सेले साउन १ गतेदेखि अनलाइन कारोबार सुरु गर्ने भने पनि त्यस अनुसारको तयारी नहुँदा आम लगानीकर्ता मात्र नभई सेयर दलालहरु समेत सेवा दिने विषयमा अन्यौलमा छन् ।

नेपाल स्टक एक्सचेञ्जले अनलाइन प्रणाली मार्फत सेयर कारोबार सुरु गराएको दुई दिन बिति सकेको छ । लगानीकर्ताले भने अनलाइन कस्तो हुन्छ भनेर अझै अनुभुत गर्न पाएका छैनन् ।

यस बिचमा बल्लतल्ल सेयर दलालहरुको क्लाउडमा आधारित प्रणालीमा वाईको प्रालिले तयार गरेको सफ्टवेयर इन्टिग्रेट भएको छ । तर कतिपय सेयर दलालहरुका लागि यो प्रणाली नयाँ भएको छ, जसले गर्दा उनीहरु आफैं यो प्रणाली चलाउन सिक्ने तरखरमा छन् । अब त्यहाँबाट आम लगानीकर्ताले अनलाइन कारोबारको के अपेक्षा गर्ने ?

नतिजा खोज्नेभन्दा पनि प्राविधिक काममा मिति तोक्ने हतारोले गर्दा अनलाइन प्रणाली लगानीकर्ताका लागि 'आकाशको फल आँखा तरी मर' भने झैं भएको छ । बजार सुधार गर्न अनलाइन प्रणालीले सघाउने अपेक्षा गरिरहेका लगानीकर्तामा निराशा समेत उत्पन्न हुन थालेको छ ।

आखिर किन ?

बुधबार मेरोलगानी राजधानीका विभिन्न सेयर दलाल व्यवसायीकोमा पुग्यो ।

अधिकांश लगानीकर्ता र सेयर दलाल कम्पनीका कर्मचारी अनलाइनकै बारेमा भलाकुसारी गरिरहेका भेटिए ।

सेक्युर सेक्युरिटिजका प्रबन्ध निर्देशक सन्तोष मैनाली भन्छन्, 'अनलाईन प्रणालीका बारेमा धरै लगानीकर्ताले चासो देखाएको भएको पनि १० जानाले मात्र यूजर र पासवर्ड लिएका छन् । ब्रोकर कम्पनी र लगानीकर्ताले परीक्षणका रुपमा मात्र अनलाइन कारोबार गर्न पाउने भएकाले लगानीकर्तामा सोचे जस्तो उत्साह नदेखिएको हो । कारोबार गर्न पाउने कहिले हो कहिले, परीक्षणका लागि मात्र किन यूजर र पासवर्ड लिने भन्ने मानसिकता आम लगानीकर्तामा परेको छ ।'

उता अनलाईन प्रणाली मार्फत साउन १ देखि कारोबारको सुरुवात हुने भनिए अनुसार काम गर्न नपाउँदा आशावादी बन्न नसकिएको लगानीकर्ताको तर्क छ । 'सबैका लागि नभएर परीक्षण मात्र गर्न लागिएको भन्ने सुने पछि मैले अनलाइनको युजर पासवर्ड लिन हतारो गरिन ।' सेयर दलालकोमा भेटिएकी दीपा श्रेष्ठ भन्छिन् । उनलाई अनलाइनबाट छिट्टै नै सेयर कारोबार गर्ने रहर छ । उनी भन्छिन्, 'रहर त छ नि, खै कहिले आउने हो ? छिटो आए हुन्थ्यो ।'

निभ सेक्युरिटिजमा पनि उस्तै वाताबरण देखियो । अनलाईन प्रणालीको सफ्ट्वेयर निभ सेक्युरिटिजको क्लाउडमा आधारित हार्डवेयरमा इन्स्टल इन्स्टल हुन नसकेको गुनासो त्यहाँका कर्मचारीले गरे । नाम नखुलाउने शर्तमा त्यहाँका एक कर्मचारी भन्छन्, 'केही लगानीकर्ता अहिले नै अनलाइनको परीक्षण गर्न तयार छन् । तर के गर्नु, हतारको तयारी, पुरा नहुँदा कसैलाई युजर र पासवर्ड बितरण गर्न सकिएको छैन ।'

अनलाइनको मिति पटक पटक तोक्ने नेप्सेको शैलीप्रति लगानीकर्ताको आक्रोस पनि बढ्दै गएको छ । मेरो लगानी बुधबार कारोबार समयमा सेयर दलाल नम्बर ४७ पुग्दा लगानीकर्ताहरुले एक स्वरमा आफ्नो आक्रोस यसरी पोखे, 'बजारमा अनलाईन प्रणाली आयो भनेर एक पछि अर्को गर्दै खबर आयो । तर नेप्सेले आधिकारीक रुपमा यसको सूचना निकालेको छैन । अनि आफ्नो कमजोरी लुकाउन बाख्रालाई हरियो घास देखाएर पछाडिबाट धपाए जस्तै गरी हामीलाई किन अनलाइनका नाममा फसाइएको हो ? यसले हामी उत्साहित हुने नभई हतोत्साहित बनिरहेका छौं ।'

निभ सेक्युरिटिजमा भेटिएका लगानीकर्ता सुमन थापाको बुझाई भने अलि फरक छ । बजारमा देखिएको सेयरको अधिक तरलतालाई नियन्त्रण गर्ने र माग उत्पन्न गराउनेमा ध्यान नदिँदा अहिलेको अवस्था उत्पन्न भएको उनको बुझाई छ ।

उनी भन्छन्, 'बजारमा अनलाईन आवश्यक थियो, तर त्यो भन्दा बढी सेयरको बिक्री चाप र खरिद चाप सन्तुलन गर्ने नीति जरुरी थियो, त्यो हुन सकेन । अब कमाई हुने आधार नै नदेखे पछि के का लागि चाहियो अनलाइन ? अनलाइनको हाउगुजी छाडेर बजार सुधार गर्नेतर्फ नलागेसम्म जस्तो सुकै अनलाइन आए पनि आम लगानीकर्ताको चासो अनि रहर बन्दैन ।'

स्टक ब्रोकर नम्बर ३३ मा भेटिएका अर्का लगानीकर्ता नियामकका बिचमा तालमेल नमिल्दा अनलाइनका नाममा लगानीकर्ता फसेको आरोप लगाउँछन् । आक्रोसित मुद्रामा उनी भन्छन्, 'धितोपत्र बोर्ड, नेप्से र सिडिएससिको एक आपसमा समन्वय नभएकाले अहिलेको समस्या आएको हो ।

अझ राष्ट्र बैंक नेप्सेको लगानीकर्ता भए पछि पेमेण्ट मोडलका बारेमा बेलैमा सोच्नु पर्दैन ? समय बित्ने बेलामा सफ्ट्वेयर जडान, पेमेण्ट मोडलमा केही लचकताका कुरा आए, तर हामी जस्ता लगानीकर्ता यसबाट आशावादी हुन सकिरहेका छैनौं ।'

लगानीकर्ता ज्योति सुवेदी पनि अन्तिम समयमा कामको चटारो सुरु गर्ने चलनले अनलाइन कारोबार प्रणाली सोचे जस्तो रहरको विषय बन्न नसकेको बताउँछिन् । आक्रोसित भावमा उनी भन्छिन्, 'साउन १ देखि कारोबार गराउने भनेर ढोल पिटेपछि मध्य असार भित्रै परीक्षण सक्नुपर्ने हैन ? आज साउन २ गते सेयर दलालहरु नै अनलाइनका बारेमा बेखबर छन्, अनि लगानीकर्ताले कहिले पाउने सेवा ? मिति तोक्ने काम बन्द गरेर बरु अझै एक वर्ष काम गरे हुन्छ । सबै तयारी सकिए पछि तोक्नु नि मिति । सबैलाई आफ्नो मात्र हेर्नु छ, आम लगानीकर्ताको यहाँ कसलाई के चिन्ता ?'

विभिन्न स्थानमा रहेका दलाल कम्पनी पुग्दै गर्दा लगानीकर्ता मधुसुधन थापा पनि अनलाइनको हल्लाबाट आजित बनेको भेटिए । जसरी अरु लगानीकर्तामा एक किसिमको आक्रोस थियो, त्यो थापामा पनि थियो । आक्रोसित मुद्रामा थापा कड्किन्छन्, 'यो अनलाईन प्रणाली नामको वस्तु झारा टर्ने माध्यम मात्र हो ।

लगानीकर्तालाई फुटबल खेलाए जसरी यताबाट उता अनि उताबाट यता गराउन बेला बेला चर्को रुपमा अनलाइनको ढोल पिटिँदै आएको छ । अनि हामी पनि त्यसै पछि पछि फनफनी घुमिरहेका छौं, मैले बुझेको अनलाइन यत्ति नै हो । नत्र समय तोकेको विषयमा गम्भिर अध्ययन गर्नु पर्दैन ? अझ यो त प्राविधिक कुरा हो । काम के हो अत्तोपत्तो छैन मिति तोक्नै हतारो, अनि अहिलेको अवस्था नआए के शिवजीले कैलाशबाट चलाई दिन्छन् अनलाइनको भाँडो ?'

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।