पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको आईपिओमा तीन दिनमा ६.७० गुणा आवेदन परिसकेको छ । शुक्रबार पर्ने आवेदनबाट कम्पनीको आईपिओमा १० गुणा बढी आवेदन पर्नेछ ।
बिहीबारसम्म ९५ हजार ७०० आवेदनबाट ३७ लाख १८ हजार कित्ता सेयर माग भैसकेको छ । कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमा कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको हो ।
एक अर्ब १० करोड रुपैयाँ जारी पूँजी रहेको पञ्चकन्याले जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । कम्पनीले कूल ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । १० लाख एक हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
लगानीकर्ताले आईपिओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।
कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझिन्छ ।
उता घलेम्दी र माउन्टेन हाइड्रोपावर दुबैले स्थानीयका लागि निष्काशन गरेको सेयर विक्री नभएकाले आवेदन गर्ने म्याद ढिलो मितिसम्म लम्बिएको हो । अब घलेम्दीमा म्याग्दीबासीले साउन २० गतेसम्म र माउन्टेन हाइड्रोपावरमा पाँचथर बासीले साउन २२ गतेसम्म आवेदन गर्न पाउनेछन् ।