नियामक र कम्पनीको चरम लापरवाहीले यसरी बन्छन् लगानीकर्ता कंगाल

Jul 22, 2018 Merolagani

नियामक निकाय र सूचीकृत कम्पनीले अाफ्ना लगानीकर्तालाई केन्द्रमा नराखी गर्ने निर्णयले लगानीकर्ताको सम्पत्ति फस्ने गरेको छ । अझ कतिपय कुरालाई विचार नगरी कम्पनीले गर्ने निर्णयलाई नियामक निकायले हुबहु कार्यान्वयन गराईदिँदा लगानीकर्ताको लगानी शुन्यमा आउने गरेको छ । यहाँ एउटा तथ्य केलाइएको छ ।

गत वर्ष रिलायबल डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गर्यो । त्यसको केही समयपछि हकप्रदलाई थाती राखेर रिलायबल ग्लोबल आईएमई बैंकमा विलय हुने सम्झौतामा पुग्यो । हकप्रदको हल्लामा उचालिएर रिलायबलको सेयर किन्नेहरु आन्दोलन गर्ने अवस्थामा पुगे ।

अन्ततः केही समयको रस्साकस्सीपछि रिलायबलको प्रस्तावित हकप्रद रद्ध गरेर विलय प्रकृयाले पुर्णता पायो । यो प्रकृयामा रिलायबले गरेकाे हतारको निर्णयले धेरै लगानीकर्ता समस्यामा परेका थिए ।

तर नियामक धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले समेत लगानीकर्ताको सर्वोपरी हितलाई वेवास्ता गर्दै कतिपय कम्पनीहरुलाई आफ्नो लक्ष्यप्राप्तिको अस्त्र बनाईरहेका छन् । जसले गर्दा लगानीकर्ताको लगानी शुन्य हुने अवस्था उत्पन्न भएको छ ।

मर्जर होस् वा अन्य कुनै विकल्पमा जाँदा लगानीकर्ताको लगानीमा पर्ने नकरात्मक असरलाई कम्पनी वा नियामक निकायले एक पटक पनि मनन् गर्नु नपर्ने हो ? वा लगानीकर्ता कोही पनि हैनन्, हामी कम्पनी अनि नियामक निकाय मात्र सर्वेसर्वा हौं भन्ने सोचले उनीहरु ग्रसित छन् भन्नेमा दुईमत छैन ।

यदि यस्तो नहुँदो हो भने नेपाल स्टक एक्स्चेञ्चमा सूचीकृत भएर वेष्टर्न डेभलपमेण्ट बैंकमा विलय भएको नमस्ते वित्तीय संस्थाका लगानीकर्ता किन टाउकोमा हात लगाउन बाध्य छन् ? यसमा नमस्ते वित्तीय संस्था र वेष्टर्न डेभलपमेण्ट बैंकले आफ्ना लगानीकर्तामाथि सबैभन्दा ठूलो खेलवाड गरेका छन् । त्यसपछि नेपाल राष्ट्र बैंक अनि धितोपत्र बोर्डले दुई बैंकको लगानीकर्तालाई सडकमा ल्याउने निर्णयलाई उत्तिकै मलजल गरेर नमस्ते वित्तीय संस्थाका लगानीकर्ताको सम्पत्ती स्वाहा पारिदिएका छन् । यसमा वेष्टर्न तर्फका मात्र लगानीकर्ताको पनि ठूलो लगानी माटोमा मिलेको छ ।

तथ्यलाई यसरी हेरौं ।


माथिको तालिकाले सन् २०१७ को अप्रिल ९ मा नमस्ते वित्तीय संस्थाको अन्तिम पटक सेयर कारोबार भएको देखाउँछ । सोही दिन नमस्ते वित्तीय संस्था वेष्टर्न डेभलपमेण्ट बैंकमा मर्ज हुने सम्झौता भएपछि सेयर कारोबार रोक्का हुन पुग्यो ।

उल्लेखित मितिमा काल्पनिक पात्र अर्जुनले नमस्ते वित्तीय संस्थाको १ हजार कित्ता सेयर ५५० रुपैयाँको दरमा किन्छन् । ५ लाख ५० हजार रुपैयाँ नमस्ते वित्तीय संस्थामा लगानी गरेको भोलिपल्टै वेष्टर्नसँगको मर्जरले सेयर कारोबार रोक्का हुन्छ । त्यसको १४ महिनापछि सन् २०१८ जुलाई ४ का दिन वेष्टर्न डेभलपमेण्ट बैंकका नाममा नमस्ते वित्तीय संस्थाको सेयर कारोबार खुल्छ ।

यो अवधिमा वेष्टर्नले १७ प्रतिशत बोनस वितरण गर्छ । १४ महिनामा अर्जुनको १ हजार कित्ता सेयर ११७० कित्ता पुग्छ । तर जुलाई ४ मा उनको सेयरकोमूल्य भने २७० रुपैयाँका दरले ३ लाख १५ हजार ९०० रुपैयाँमा झर्छ ।

यो अवधिमा उनको लगानी सोझो भाषामा साढे ४२ प्रतिशतको नोक्सानीमा पुगिसकेको हुन्छ । यस लगत्तै वेष्टर्न फेरी देव विकास बैंकमा विलय हुने निर्णयमा पुग्छ । पहिलेको मर्जरबाट खुलेको सेयर कारोबार जम्मा ३ दिनमात्र सुचारु हुन्छ । यो अवधिमा वेष्टर्नको जम्मा ४७९ कित्ता मात्र सेयर कारोबार हुँदा प्रतिकित्ता सेयर मूल्य २३१ रुपैयाँमा झर्छ । त्यस बेला अर्जुनको लगानी २ लाख ७० हजार २७० रुपैयाँमा झर्छ । यो अवधिसम्म आईपुग्दा उनको कुल लगानीको ५० प्रतिशत रकम स्वाहा भैसकेको हुन्छ । सेयर बेच्ने त कुरै छाडौं ।

 


देवसँगको विलय प्रकृया अघि बढ्दाको दिनसम्म आईपुग्दा अर्जुनसँग देव विकास बैंकको ११७० कित्ता सेयर हात लाग्ने देखिन्छ । देव र वेष्टर्नले एक बराबर एकको स्वापमा विलय गर्ने तयारी थालेका छन् । गत बिहीबार नेप्सेमा देव विकास बैंकको प्रतिकित्ता सेयर १२८ रुपैयाँमा कारोबार भएको छ । यस आधारमा बिहीबार अर्जुनको ५ लाख ५० हजार रुपैँयाको लगानी १ लाख ४९ हजार ७६० रुपैयाँमा झर्छ ।

नमस्ते वित्तीय संस्थामा लगानी गरेको १५ महिनाको अवधिमा अर्जुनको कुल लगानीको झण्डै ७३ प्रतिशत रकम स्वाहा भैसकेको छ । अझै उनले नमस्ते वित्तीय संस्थाको सेयर बेच्न सक्दैनन् । राष्ट्र बैंकले वेष्टर्न र देवलाई विलयको अन्तिम स्वीकृति कहिले देला अनि उनले अझै घटेको मूल्यमा आफुसँग आउने देव विकास बैंकको ११७० कित्ता सेयर बेच्लान् ? यसको जिम्मा राष्ट्र बैंक र वेष्टर्न डेभलपमेण्ट बैंकलाई छाडौं ।

१४ महिनामा व्याजको कुरा पनि गर्नै पर्यो । अर्जुनले नमस्ते वित्तीय संस्थाको सेयर किन्ने बेलामा बैंकहरुको व्याजदर उच्च विन्दुमा थियो । अहिले पनि अवस्था उस्तै छ । ५ लाख ५० हजार रुपैयाँ १५ प्रतिशत व्याजदरमा ऋण लिएर उनले नमस्ते वित्तीय संस्थाको सेयर किनेका रहेछन् भने ४५७ दिनको अवधिमा उनले १ लाख ३ हजार २८० रुपैयाँ त व्याज मात्र तिरिसकेका छन् ।

आजको दिनमा देवको सेयर मूल्यका आधारमा उनको सेयरको मूल्य १ लाख ४९ हजार ७६० रुपैयाँ हुन आउँछ । यसमा व्याज खर्चको १ लाख ३ हजार २८० रुपैयाँ समायोजन गर्दा आज अर्जुनको हातमा ४६ हजार ४७० रुपैयाँ मात्र पैसा हात लाग्ने अवस्था छ ।

 

अब वेष्टर्नको सेयर देव विकास बैंकका नाममा कारोबार सुरु हुने बेलासम्म पनि अर्जुनले १५ प्रतिशतका दरले व्याज तिरिरहनुपर्ने हुन्छ । किनकी उनले चाहेर पनि राष्ट्र बैंकको नियमका कारण आफुसँग भएको सेयर बेच्न पाउँदैनन् । अब सय दिन मात्र उनले व्याज तिर्नुपर्यो भने उनले सेयर बजारमा गरेको साढे ५ लाख रुपैयाँ शुन्यमा झर्नेछ । त्योभन्दा बढी समय लगाएर राष्ट्र बैंकले एकीकृत कारोबारको स्वीकृति दिएको खण्डमा उनको लगानी माटोमा मिलिसक्नेछ भने ऋणात्मक अवस्थामा पनि उनी व्याज तिरिरहेका हुनेछन् ।

उल्लेखित घटनामा दोस अर्जुनको कि, नमस्ते वित्तीय संस्थाको कि, वेष्टर्न डेभलपमेण्ट बैंकको कि, राष्ट्र बैंकको कि, धितोपत्र बोर्डको ? भन्ने चासो लगानीकर्ताको मनमा घुम्छ ।

तर धितोपत्र बोर्डले मर्जर तथा विलयका बेला सूचीकृत कम्पनीको सेयर कारोबार सुचारु गराउनमा पहल नगर्नु, राष्ट्र बैंकले आफ्नो मर्जर योजनालाई मात्र केन्द्रमा राख्दै लगानीकर्ताको सम्पत्तीको ख्याल गर्न नसक्नुले अर्जुनलाई पनि गलत सावित गराउन खोज्छ ।

नमस्ते वित्तीय संस्था र वेष्टर्न डेभलपमेण्ट बैंकले आफ्ना लगानीकर्ताको लगानीलाई गरेको चरम वेवास्ताको नतिजा नै अर्जुनले गरेको लगानी स्वाहा हुनु हो । यसलाई राष्ट्र बैंक र धितोपत्र बोर्डले मलजल गरिरहेका छन् । जसले अरु पनि सयौं, हजारौं लगानीकर्ता घरबार विहीन हुने अवस्थामा पुगेका छन् ।

सूचीकृत संस्था, धितोपत्र बोर्ड, राष्ट्र बैंक यो अवस्थालाई किन रमिता हेरेर बसिरहेका छौ ? अब तिम्रो आँखा खुल्ने बेला भएन ?

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।