कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले बिहान १० बजे आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कूल आवेदकमध्ये ६८ प्रतिशत अर्थात एक लाख एक सय जना आवेदकले सेयर पाएका छन् भने ३२ प्रतिशत अर्थात ४६ हजार २८९ जनाको मात्र हात खाली भएको छ ।
कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।
आईपिओमा एक लाख ४६ हजार ३८९ जना आवेदनबाट एक करोड ८४ लाख ७३० कित्ता सेयर प्रमाणिकरण (भेरिफाई) भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।
हाइड्रोपावरको सेयरमा सर्वसाधारणमा निष्काशन भएको कित्ताको अनुपातमा १८ गुणा बढी अर्थात एक अर्ब ८४ करोड ७३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।
पञ्चकन्याले साउन १ देखि ४ गतेसम्म सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको थियो ।
पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले जारी पुँजी एक अर्ब १० करोड रुपैयाँको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो ।
हाइड्रोले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामेलीका लागि ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ ।
आईपिओ बाँडफाँडको नतिजा मेरोलगानीमा केही बेरमा प्रकाशित गरिनेछ ।