शेयर बजारको विकास गर्छु भन्नेहरु फाइभ स्टारमा मस्त, यता सेयर बजार ध्वस्त

Jul 27, 2018 Merolagani

- सुधा देवकोटा ।
पछिल्लो समय सेयर बजार लगातार आरालो लागिरहेको छ । बजारको घट्दो गतिले पूँजी बजारका लगानीकर्ताहरु आजित भएका छन् । यसलाई अनलार्इन कारोबार प्रणालीले कुनै मलजल गर्न सकेन । अन्तत: त्यसको आक्रोश लगानीकर्तामा व्याप्त भएको छ ।

साउन १ गतेदेखि परीक्षणका रुपमा कार्यान्वायनमा आएको अनलाईन प्रणालीले बजारलाई सुधारको बाटोमा लैजाने आम लगानीकर्ताको अपेक्षा थियो । तर अहिले नतिजा ठीक उल्टो देखिएको छ ।

लगानीकर्ताको आशा अनुसार बजारले लय नसमातेपछि मेरोलगानीले बजार छिरेर लगानीकर्ताको धारणा बुझेको छ ।

रित्ता छन् ब्रोकर कार्यालय

साउनको हरियालीका बीच राजधानीका ब्रोकर कार्यलयमा लगानीकर्ताको उपस्थितिले नेप्सेको पारोसँग मेल खाएको छैन । जब नेप्सेको पारो उकालो चढ्छ ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड थाम्नै नसक्ने अवस्थामा पुग्छ । यतिबेला नेप्सेको पारो ओरोलो लाग्ने क्रममा छ । त्यसैले ब्रोकर कार्यालयहरु रित्ता छन् । केही लगानीकर्ताहरु आउने जाने गरिरहेका छन् तर ब्रोकर कार्यलयमा भेटिएकाहरुमा पनि चरम निराशा छ ।

अनलाईन प्रणालीले निम्त्यायो दिग्दारी

नेप्सेले आम लगानीकर्ताहरुलाई आ-आफ्नो ब्रोकर कार्यालयबाट अनलाईन प्रणालीमा जानका लागि यूजर नेम र पासवर्ड लिन आग्रह गरेको छ । बजारमा हरियाली छाएको भए अहिले अनलार्इन जस्तो स्वरुपको भए पनि युजर र पासवर्ड लिन लगानीकर्ता लम्बेताँति भीड लाग्ने थिए होला । तर बजारको उँधो गति र अनलाईन प्रणालीमा देखिएको समस्याका कारण लगानीकर्तामा एक किसिमको दिक्दारी देखिएको छ ।

ब्रोकर कार्यालयमा भेटिएका एक जना लगानीकर्ता आफ्नो गुनासो पोख्दै भन्छन्, 'मैले युजर नेम र पासवर्ड लिएको तर आफ्नो अर्डर मात्र हेर्न क्लिक गर्ने ठाउँ दिए पनि त्यो चल्दैन । अब यसको के काम ?'

पुर्णरुपमा अनलार्इन प्रणाली मार्फत कारोबार गर्न अहिलेको शैलीले प्रबिधि मैत्री बन्न दवाब दिने भए पनि हालका लागि यो सुविधा रहर जस्तो मात्रै बनेको छ । अर्का लगानीकर्ताको बुझाईमा नेपालमा उपलब्ध इन्टरनेटले शेयरको अनलाईन कारोबारमा समस्या मात्रै थप्नेछ ।

उनले भने, 'न्युन गतिको इन्टरनेट सेवाले शेयर खरिद र बिक्रीमा २० प्रतिशत जरीवानाको त्रास हामीलाई छ । पछि पनि सिष्टममा लगर्इन गरेर यता उता हेर्दा नचाहेको कारोबार भएर क्लोजआउटमा फस्ने डरले पनि अनलार्इनप्रति भर छैन ।'

'अर्थमन्त्रीको सर्मथनमा अर्को लगानीकर्ता संघ खोल्छु'

बजार के गर्दा बढ्छ ? ब्रोकर कार्यालयमा भेटिएका लगानीकर्ताहरुसँग स्पष्ट जवाफ छैन । तर घटेको बजारमा मुख्य आरोप अर्थमन्त्री डा. युवराज खतिवडाको टाउकोमा थुपारिएको छ ।

ब्रोकर कार्यालयमा छिर्दै गरेका एक लगानीकर्ताले ठट्यौली पारामा भने, 'अब अर्थमन्त्रीले राजीनामा नगरेसम्म अनलार्इन प्रणालीबाट कारोबार गर्दिन ।' उनको अडान सुनेर ब्रोकर कार्यालयमा हाँसोको खित्का छुट्छ ।

ती लगानीकर्ताको अनुहारको भाव देख्दा लाग्थ्यो कि अर्थमन्त्रीको ठट्याैली आलोचना गर्दा पनि उनीहरुलाई सन्तोष मिल्छ ।

नेप्सेको इन्डेक्स हेर्दै गरेका लगानीकर्ताको भीडमा अर्थमन्त्रीको मजाक उडाउन अर्का लगानीकर्ता पनि आतुर हुन्छन् । आकाशे निलो रंगको टिर्सटमा ठाँटिएका उनी थप्छन्, 'अब अर्थमन्त्री खतिवडाको सर्मथनमा अर्को लगानीकर्ता संघ खोल्ने हो । नेपालमा गरेको र बोलेको भन्दा उल्टो हुने भएकाले अर्थमन्त्रीलाई सहयोग गर्ने सोच बनाएको छु ।'

फुलबुट्टे समाचारले रमाईलो मात्र

अर्थमन्त्री पछि उनीहरुले मजाक गर्ने पात्र शेयर बजारमा कलम चलाउने पत्रकारहरुप्रति लक्षित थियो ।

'सवाल नाफा र घाटाको हो, कहिल्यै आफुले सोचेजस्तो समाचार आउँदैन । फुलबुट्टा भरेका समाचार मात्र कति पढ्ने हो ? निर्णय गर्नेभन्दा पनि यस्ता समाचार पढेर रमाइलो गर्ने गरेका छौं ।'

नेताहरु फाइभ स्टारमा मस्त, सेयर बजार ध्वस्त

घट्दो शेयर बजार सुधारका लागि महत्वपूर्ण कदमहरु चाल्नुपर्ने लगानीकर्ताका नेताहरु गैह्र जिम्मेवार भएको उनीहरुको बुझाई छ । जसका कारण आफ्नो हीतमा केही हुने नदेखेर उनीहरुको निराशा झनै बढेको छ ।

'आम लगानीकर्ताको हितमा काम गर्नुपर्ने बेलामा कुनै बैंकको दारु पार्टीमा हाम्रा नेताहरु मस्त हुन्छन् । अनि हामीले के अपेक्षा गर्ने ?' अर्का लगानीकर्ताले तत्काल थपे, 'सेयर बजारमा विकास गर्छु भन्ने संघका नेताहरु फाइभ स्टारको दारु पार्टीमा मस्त, यता सेयर बजार ध्वस्त ।'

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।