कम्पनीको श्रावण ११ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम पूँजीको एक बराबर एक अनुपातमा हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर उक्त सूचना श्रवाण १४ गते सोमबार मात्र नेप्सेको वेवसाइट मार्फत सार्वजनिक गरियो ।
कम्पनी सञ्चालक समितिले श्रावण ११ गते हकप्रदको निर्णय गरेको भएपनि शेयरबजार भने यस सम्बन्धि सूचना त्यो भन्दा अगाडि नै चुहिएको संकेत कम्पनीको कारोबारको ट्रेन्डले देखाएको छ ।
बीचमा एक दिन बाहेक श्रावण ७ गतेदेखि नै कम्पनीको कारोबार र मूल्य निरन्तर बढ्न सुरु भएकाले कम्पनीको सञ्चालक समितिमै निर्णय गर्नु अगावै शतप्रतिशत हकप्रदकाे सूचना चुहिएको प्रष्ट हुन्छ ।
कम्पनीले औपचारिक निर्णय सार्वजनिक गर्नु पूर्व नै शतप्रतिशत हकप्रद र आठ प्रतिशत बोनस आउने सूचनाले शेयर बजारमा चलखेल गर्नेहरुले राम्रो मौका पाएका थिए ।
यसबीचमा कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता १५४ रुपैयाँबाट बढेर १७६ रुपैयाँसम्म पुगेको देखिन्छ । औपचारिक निर्णय सार्वजनिक भएकै दिन कम्पनीको शेयर मूल्य घटेर उच्च कारोबार हुनुले पनि पूर्व सूचना पाउनेहरुले शेयर बिक्री गरेको संकेत गर्छ ।
एक त कम्पनीको सञ्चालक समितिबाट निर्णय हुनुपूर्व बजारमा चलखेल देखिनु र अर्को शुक्रबार भएको निर्णय सोमबार मात्र सार्वजनिक गरिनुले पनि बजारमा कम्पनीमा सूचनाको पहुँच राख्नेहरुबाटै भित्री कारोबार हुनसक्ने आँकलन गर्न सकिन्छ ।
नेप्सेले गर्ला त कारबाही ?
यता नेप्से स्रोतले पनि एचआइडिसिएलले श्रावण १४ गते सोमबार मात्रै हकप्रद सम्बन्धी सूचना नेप्सेमा पठाएको पुष्टि गरेको छ । कम्पनीले किन ढिलागरी शेयरमूल्यमा प्रभावित पार्ने सूचना नेप्सेमा पठायो यस बिषयमा कम्पनीलाई स्पष्टीकरण सोध्ने भएको छ ।
'सुरुमा हामी स्पष्टिकरण सोध्छौ चित्तबुझ्दो जवाफ नआएमा कम्पनीको आधिकारिक निर्णय आउनु अगावैको कारोबार रद्ध गरी छानबिन हुन्छ', नेप्सेका एक अधिकारीले भने । नेप्सेले कम्पनीको कारोबार रोक्का समेत गर्न सक्छ । यस बिषयमा नेप्सेमा कुनै आधिकारीक निर्णय नभएको ती अधिकारीले बताए ।