नेपाल बैंकको एफपिओ नबिक्नुमा सरोकारवाला सबै 'फेलिएर'

Aug 03, 2018 Merolagani

दोस्रो बजारमै शेयर कारोबार सुस्ताएको बेला नेपाल बैंक(NBL) ले ठूलो संख्याको एफपिओ जारी गर्यो । तोकिएको समयमा बैंकको एफपिओ बिक्री नभएपछि अन्डरराइटरहरुले सकार्नु पर्ने भएकाे छ ।  विश्लेषकहरुले नेपाल बैंकको एफपिओ बिक्री नहुनुमा सरकार, धितोपत्र बोर्ड, कम्पनी र बिक्री प्रबन्धक सबै फेलिएर भएको निष्कर्ष निकालेका छन् ।

सरकारी स्वामित्व धेरै भएको नेपाल बैंकले कूल एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गरेकाे थियाे ।

बैंकले फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँका दरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको एफपिओ जारी गरेको थियो ।

शेयर बजारमा देखिएको अस्थिरता र झण्डै झण्डै बजार मूल्यकै हाराहारीमा एफपिओ निष्काशन भएकाले बैंककाे एफपिअाेमा लगानी गर्न लगानीकर्ताले खासै रुचि देखाएनन् । नेपाल बैंककाे सरह वित्तीय आधार भएका बैंकहरुको सेयरमूल्य पनि एफपिओको मूल्यभन्दा सस्तोमा पाएपछि नेपाल बैंकको एफपिओमो किन लगानी गर्ने ? प्रश्न नउठेको पनि हैन । केही समय अघि निष्काशन भएको एनएमबि बैंकको एफपिओ बिक्री गर्न पनि निकै सकस झेलेको तथ्य जगजाहेर थियो ।

नेपाल बैंकले एफपिओ निकाल्ने समय ठीक होइन भनेर लगानीकर्ताले सार्वजनिक फोरमहरुमा व्यापक बिरोध जनाएका थिए ।

वित्तीय क्षेत्रलाई लामो समयदेखि नियालीरहेका बिश्लेषक अनलराज भटराईको बिचार पनि सामान्य लगानीकर्ता भन्दा फरक छैन । उनी भन्छन् , 'नेपाल बैंकले बजार निरन्तर ओरालो लागेको बेला एफपिओ बिक्रीमा ल्यायो। सरकारी बैंकको सेयर बिकिहाल्छ भन्ने भयो । निष्काशन गर्दा बजारमा सचेत लगानीकर्ता पनि छन् भन्ने कुरा बिर्सिने काम भयो । जसले गर्दा शेयर बिक्न मुस्किल पर्यो । बैंकको एफपिओ बिक्री नहुनुमा सरकार, धितोपत्र बोर्ड, कम्पनी र बिक्री प्रबन्धक सबै फेलिएर भए ।'

एफपिओ जारी गर्ने बेलामा सरकारी बैंक हो, जसैपनि एफपिओ बिकिहाल्छ भन्ने मनोविज्ञानले हचुवाको भर निर्णय भएको देखिन्छ ।

शुक्रबारसम्मको स्थिति हेर्दा नेपाल बैंकको एफपीओ सञ्चालक र कर्मचारीले पनि नकिनेपछि बिक्री हुन नसकेको ८३ लाख ९ हजार १०८ कित्ता शेयर अब आठ वटा अन्डरराइटरहरुले ब्यहोर्नुपर्ने भएको छ ।

सर्वसाधारणले एफपिओ प्रति कुनै मतलब नराख्नु, १ अर्बको कर्मचारी सन्चयकोषले सेयर किनेर पनि अन्डरराइटरको थाप्लोमा भारी पर्नु, सन्चालक तथा कर्मचारीले एफपिओमा कुनै रुचि नदेखाउनुले एफपिओ निष्काशनमा सरकार असफल भएको बिश्लेषण गरिन थालेको छ ।

विश्लेषक ललित ढुंगाना भन्छन्, सरकारी बैंकको एफपिओको यो हालत हुनुमा सरकार मुख्य रुपमा दोषी छ, यसको नैतिक जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले लिनुपर्छ ।

विश्लेषक अनलराज भट्टराईको विचारमा पनि कुनै योजना नहेरी एफपिओ ल्याइनाले समस्या भएको छ । जनताले नकिनेको सेयर अन्डरराइटिङ्ग गर्नेहरुले लिइहाल्छन् भन्ने सोच नै गलत हो । ठूलो परिमाणमा सेयर उठाउने उनीहरुको क्षमता र पूँजीको श्रोतको बिषयमा विचार गरेको देखिएन । जसले गर्दा शेयर सकार्ने अन्डरराइटहरु नै अब समस्यामा पर्ने स्थिति नआउला भन्न सकिन्न ।

नेपाल बैंकको एफपिओमा बिक्री प्रबन्धकले पनि कमिसनको लोभ गरेको देखियो । आफूले अन्डरराइटिङ्ग गर्नु नपर्ने भएपछि बिके पनि नबिने पनि हामीलाई के मतलब भन्ने सोचमा सिद्धार्थ क्यापिटल देखियो । इस्सू म्यानेजर भएका नाताले उसले लगानीकर्तालाई बुझाउन सकेको देखिएन । अन्डराइटिङ्ग गर्ने कम्पनीहरुले पनि आफनो क्षमता, सीमा र श्रोत व्यवस्थापनप्रति ध्यान दिएको पाइएन ।

अन्डरराइडिङ्ग गरेको क्यापिटलहरुले एफपिओ सकार्ने भएपनि आगामी दिनमा त्यो बिक्री कसरी गर्ने भन्ने चिन्ता गर्न थालेका छन् । कतिपयले अहिलेदेखि नै उक्त शेयर खरिद गर्ने लगानीकर्ता समेत खोजी गर्न सुरु गरीसकेका छन् ।

नेपाल बैंकका प्रमुख कार्यकारीले समयलाई ख्याल नगरी अन्धाधुन्ध एफपिओ जारी गर्दा लामो समयदेखि हजारौं कित्ता नेपाल बैंकको सेयर होल्ड गरेर बस्ने लगानीकर्तालाई परेको चोटलाई विचार पु¥याउन सकेनन् ।

नियामक निकाय धितोपत्र बोर्ड पनि यहाँ चुकेको छ । एफपिओका कारण ३५० मा रहेको सेयर मूल्य एक हप्तामा २८० झर्दा कति घाटा भयो भन्ने कुरामा कसैले ध्यान पु¥याएन । यसअघि नेपाल लाइफको एफपिओ पहिले २ हजार ८५० मा निकाल्ने भनेर पछि १ हजार ४५० मा निकाल्दा सो कम्पनीको ४ हजार ४०० पुगेको शेयर मुल्य २ हजार ४०० मा झरेको थियो । कम्पनीले प्रस्ताव ल्याएकै भरमा समय र मूल्य निर्धारण हचुवाको भरमा गर्दा धितोपत्र बोर्ड पनि आलोचित हुने गरेको छ ।

जनताले नकिने सरकारले किन्छ भन्ने मान्यतामा नेपाल बैंकले समयलाई विचार नगरी एफपिओ जारी गरेको भान हुन्छ । अन्तिम दिन सन्चयकोषले १ अर्बको सेयर किनेको दृष्टान्तले पनि त्यही देखाउँछ ।

सुरुमा सञ्चयकोषलाई नेपाल बैंकको एफपिओमा लगानी गर्न रोक लगाएको सरकारले अन्तिम समयमा दिनुले पनि सरकारको नियत पनि यहाँ सही देखिएन । त्यही रकमले पाँच दिन अघिमात्र सेयर किनेको भए बजारमा अर्कै प्रभाव पर्थ्याे । नेपाल बैंकको एफपिओमा लगानी गर्न नचाहने अर्थमन्त्रीले अन्तिममा मात्र सन्चय कोषलाई अनुमति दिएको श्रोत बताउँछ । किनभने अर्थमन्त्रीले कोषका सन्चालकलाई एफपिओमा लगानी गर्नुभन्दा अन्य भर्जिन क्षेत्रमा लगानी गर्नु भनेर पटक- पटक निर्देशन दिएको सूचना बाहिरिएको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्काशनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपिओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।