छिमेकले गत बर्ष २० प्रतिशतले बोनस वितरण गरेर ८३ करोड ४० लाखको चुक्ता पूँजी एक अर्ब पुर्याएको छ । पूँजी अनुसार नै कम्पनीले गत बर्ष ५७ करोड ६४ लाख कमाएको खुद नाफालाई १५.१८ प्रतिशतले बढाएर ६६ करोड ३८ लाख आर्जन गरेको छ ।
समीक्षा अवधिमा ११ अर्ब ९२ करोड ९६ लाख निक्षेप संकलन तथा ४ अर्ब ४३ करोड १७ लाख सापटीबाट १६ अर्ब ५६ करोड ६२ लाख कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले एक अर्ब ४९ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको छ जुन गत बर्षको तुलनामा १९.६५ प्रतिशत बढी हो । यस अवधिमा कम्पनीले निक्षेप ३१.५५ र कर्जा लगानी ३२.५४ प्रतिशतले बढाएको छ ।
अहिले लघुवित्त भन्दैमा खराब र कमजोर पूँजी आधार भएको कम्पनीको सेयर उच्च मूल्यमा किन्नेहरुलाई नराम्रो झट्का लाग्ने गरेको छ तर छिमेक लघुवित्त जस्तै बलियो र राम्रो प्रगति गर्ने कम्पनीलाई कमैले पत्याएको पाईन्छ । सेयर किन्दा तीन बर्ष यता राम्रो प्रगति विवरण पस्किएका कम्पनीको नै किन्नुपर्छ, जुन अरु भन्दा सस्तो, सुरक्षित र ढुक्कले प्रतिफल पाईने खालको होस् ।
ग्रामिण तहमा सिधा कर्जा प्रवाह गर्ने अरु लघुवित्त भन्दा धेरै तल ०.११ प्रतिशतमा निस्क्रिय कर्जा अनुपातलाई ल्याएर बर्ष भरि सदस्य विस्तार गरेर तीन लाख ४७ हजार सदस्य बनाएको संस्था वास्तवमै बलियो रुपमा देखा परेको छ । कम्पनी जगेडा कोष समेत साढे २३ प्रतिशत बढाएर चुक्ता पूँजीभन्दा बढी एक अर्ब १७ करोड ९० लाख पुर्याएको छ ।
राष्ट्रियस्तरमा थोक कर्जा प्रवाह गर्ने लघुवित्तको जगेडा आर्कषक भएकाले गत बर्षको खुद नाफाबाट पनि आकर्षक बोनस बाँड्न सक्ने अवस्था रहेको छ । चुक्ता पूँजीकै हाराहारीमा जगेडा कोष रहेकाले पनि जोखिम ब्यवस्थापन धेरै सहज छ । प्रति सेयर नेटवर्थ २१७ रुपयाँ ९० पैसा हुनु अर्को बलियो पक्ष हो ।
पूँजी वृद्धिको असरले प्रतिसेयर आम्दानी दुई रुपैयाँ ७२ पैसाले घटेपनि ६६ रुपैयाँ ३९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १३.२१ गुणा बढी अर्थात सेयरमूल्य ९०० हाराहारी रहेकाले अन्य लघुवित्तको हिसाबले धेरै भन्न मिल्ने अवस्था छैन।
एक, दुई करोड हातमा लिएर लघुवित्त सेयर मूल्य उचाल्न र थचार्न खोज्नेहरु छिमेकमा सफल नहुने भएकाले यसको सेयर मूल्यमा तीब्र उतार चढावको सम्भावना देखिँदैन । जस्तो दुई, चार करोडवाला लघुबित्तमा हुने गरेको छ ।
छिमेक जस्तै अरु केही लघुवित्त पनि छन् जसको पूँजी आधार र प्रगति राम्रो छ र सेयर मूल्य सस्तो पनि छ । यस्ता कम्पनीहरु छानेर लगानी गर्न सकेमा सर्वसाधारण लगानीकर्ताको लगानी जोखिम कम हुन्छ ।
छिमेकलाई हिमालयन बैंक, बैंक अफ काठमाण्डु लगायतका वाणिज्य बैंकहरुले प्रबद्र्धन गरेका कारण पनि यो संस्था सधै प्रगतिउन्मुख देखिँदै आएको छ ।