बैंकले साउन १५ देखि १८ गतेसम्म निष्काशन गरेको ४ लाख ६३ हजार ८२६ कित्ता एफपिआेमा ६४ हजार ७१० वटा आवेदन परेको छ ।
सिटिजन्सले एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको थियो ।
बैंकले निष्काशन गरेको एफपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार प्रत्येक आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार ४६ हजार ३८२ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पार्नेछन् । मागभन्दा आवेदन उच्च हुँदा बाँकी १८ हजार ३२८ जना आवेदकको हात खाली हुने निश्चित भएको छ ।
बैंकले कूल ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँको एफपिओ निष्काशन गरेकोमा १३.५१५ गुणा बढी अर्थात एक अर्ब २५ करोड ३७ लाख २८ हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएको छ । बैंकले एक सय रुपैयाँ प्रिमियम सहित एफपिओ निष्काशन गरेकाले कूल ६२ लाख ६८ हजार ६४० कित्ता एफपिओ माग परेको हो ।
बैंकले संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गर्न एफपिओ निष्काशन गरेको थियो ।हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । एफपिओपछि बैंकको चुक्ता पूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ ।
एनएफअार प्रणाली अनुसार बैंकले गत आर्थिक बर्षमा एक अर्ब २७ करोड ३४ लाख रूपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ८६ पैसा कायम गरेकाे छ । बैंककाे लाभांश क्षमता ९६ कराेड ४९ लाख बराबरकाे रहेकाे वित्तीय विवरणमा उल्लेख छ ।