प्रभु इन्स्योरेन्सले १५ हजार ८६१ कित्ता संस्थापक समूहको तथा एक लाख २१ हजार १५४ कित्ता साधारण तर्फको शेयर लिलामी गर्ने भएको हो । लिलामीको शेयरमा भदौ १७ देखि २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
लिलामी शेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । न्यूनतम एक सय रुपैयाँ तोकिएको शेयरमा दश कित्ताले भाग जानेगरी कम्तिमा सय कित्ताका लागि आवेदन गर्न पाइनेछ ।
कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले ३१ लाख ६६ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दा रितपुर्वक आवेदन दिनलाई ३० लाख २९ हजार ६६१ कित्ता हकप्रद बाँडफाँड गरिसकेको छ।
कम्पनीले हकप्रद शेयर सकारेसँगै चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ। कम्पनीमा संस्थापक शेयरधनीहरुको हिस्सा ३६ प्रतिशत, कर्मचारी संचयकोषको १५ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत छ।
हाल कम्पनीको दोस्रो बजारमा ४७८ रुपैयाँमा कारोबार भैरहेको छ। गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ नाफा गरेको कम्पनीको हालको पूँजी अनुसार प्रति शेयर आम्दानी ३२ रुपैयाँ छ।