आधारभूत मूल्यमै विकास बैंकको सेयरमा लगानी गर्ने अवसर

Sep 10, 2018 Merolagani

धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै सेयर बजारमा कारोबार हुने धेरै समूह तथा उप समूह प्रभावित भएका छन्। अहिले केही कम्पनी तथा वित्तीय संस्थाको सेयर बाहेक अधिकांश संस्थाको सेयरमूल्यमा उच्च गिरावट आएको छ । यसैको मारमा परेको छ, विकास बैंक समूह। 

पछिल्लो पटक बजार उतार-चढावको अवस्थामा छ। बजार तलमाथि हुँदा कारोबार तथा परिसूचक समेत नकारात्मक रहँदै आएको हो।  

नेपाल स्टक एक्सचेञ्जमा कूल ३३ वटा विकास बैंकको सेयर सूचीकृत छन् । मुक्तिनाथ र एक्सेल डेभलपमेन्ट गरि दुई विकास बैंकको सेयरमूल्य बाहेक धेरैको सेयर दुई सय रुपैयाँभन्दा कम अर्थात आधारभूत मूल्य अर्थात १०० रुपैयाँको हाराहारीमा मात्रै छ । 

दुई सय रुपैयाँ भन्दा कम सेयरमूल्य हुने बैंकको संख्या २० रहेको छ । १५० रुपैयाँभन्दा कम सेयरमूल्य हुने विकास बैंकको संख्या १२ वटा रहेको छ । कर्पोरेट विकास बैंक र कर्णाली विकास बैंकको सेयरमूल्य एक सयमा नै झरेको छ ।

चार विकास बैंकको सेयर कारोबार अन्य बैंकसँग मर्जर तथा प्राप्तीका कारण अहिले रोकिएको छ । यसरी कारोबार रोकिने विकास बैंकहरुमा ओम डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक, सहारा विकास बैंक विकास बैंक रहेका छन् । एनआईडिसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकसँग विलय भैसकेको छ भने नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त भएर कारोबार ठप्प छ ।

विकास बैंकको सेयरमुल्य आधारभूत मूल्यभन्दा माथि नजाँदा अधिकांश लगानीकर्तालाई निराश बनाएको छ । लामो समयदेखि सेयर कारोबारमा संलग्नलाई पछिल्लो बजार मूल्यले निराश बनाएको हो । तर यसले नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ । बजार तल्लो बिन्दुमा झर्दा नयाँ लगानीकर्तालाई सेयर कारोबारमा प्रवेश गर्न सहज हुन्छ ।

स्टकमा सूचीकृत मुक्तिनाथ विकास बैंकको सेयर सोमबार प्रतिकित्ता ३८८ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष मुक्तिनाथको शेयर ५८६ रुपैयाँमा कारोवार भएको थियो ।

एक्सेल डेभलपमेन्ट बैंकको सेयर सोमबार प्रतिकित्ता ३११ रुपैयाँमा कारोबार भएको छ । गत वर्षको भदौ अन्तिम साता सो विकास बैंकको सेयर ४७१ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै काबेली विकास बैंकको सेयर प्रतिकित्ता २९४ रुपैयाँ, कैलाश विकास बैंकको २३१ रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको २७५ रुपैयाँ र सहयोगी विकास बैंकको सेयर प्रतिकित्ता २०६ रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष प्रतिकित्ता ३४६ रुपैयाँमा कारोबार भएको सो बैंकको सेयरमा समेत घटबढ भएको छ ।

साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सेयर प्रतिकित्ता २८० रुपैयाँमा कारोबार भएको छ । सो बैंकको गत वर्ष ३८७ रुपैयाँमा कारोबार भएको थियो ।

एकाध विकास बैंक बाहेक अधिकांश विकास बैंकको सेयर ओरालो लाग्दा लगानीकर्र्ता नराम्ररी प्रभावित बनेका छन् । सोमबार कारोबारमा आएका २७ विकास बैंकमध्ये १६ विकास बैंकको सेयरमूलयमा गिरावट आएको छ । ७ को सेयरमूल्य स्थिर रहेको छ भने चार विकास बैंकको मात्र सेयरमूल्य बढेको छ ।

 

स्टकमा सूचीकृत सबै विकास बैंकको तथ्याङ्क हेर्ने हो भने अवस्था एकदमै खराब देखिन्छ । अघिल्ला वर्षमा लगानीकर्तालाई राम्रो प्रतिफल दिएका विकास बैंकको सेयर बजारको चक्रका आधारमा ओरालो लागेर न्यून बिन्दुमा कायम भएका छन् ।

नेप्सेका अनुसार भार्गव विकास बैंकको सेयर १२६ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष पनि सो बैंकको अवस्था राम्रो थिएन । गत वर्षको भदौ अन्तिम साता सो बैंकको सेयर २६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

कर्पोरेट डेभलपमेण्ट बैंकको सेयर १०० रुपैयाँमा कारोबार भएको छ । गत वर्ष बैंकको सेयरमूल्य १४७ रुपैयाँ थियो । यस्तै विकास बैंकमा राम्रो मानिएको देव विकास बैैंकको सेयर समेत १२९ रुपैयाँमा सीमित भएको छ । गत वर्ष सो बैंकको सेयर र २४९ रुपैयाँमा कारोबार भएको थियो ।

गण्डकी विकास बैंकको १९८ रुपैयाँ, गरिमा विकास बैंक १९१ रुपैयाँ, ग्रीन डेभलपमेण्ट बैंक १२४ रुपैयाँ, ज्योति विकास बैंकको १३८ रुपैयाँ, कामना सेवा विकास बैंकको १४३ रुपैयाँ, कञ्चन डेभलपमेन्ट बैंकको सेयर १९७ रुपैयाँ, कन्काई विकास बैंकको १२५ रुपैयाँ, लुम्बिनी विकास बैंकको १५४ रुपैयाँ तथा कर्णाली डेभलपमेन्ट बैंकको सेयर सोमबार प्रतिकित्ता १०२ मा कारोबार भएको छ ।

यस्तै महालक्ष्मी विकास बैंकको १९० रुपैयाँ, मिसन डेभलपमेण्टको १७८ रुपैयाँ, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० रुपैयाँ, पूर्णिमा विकास बैंकको १६३ रुपैयाँ, सहयोगी विकास बैंकको २०६ रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको ११६ रुपैयाँ, सांग्रीला डेभलपमेन्ट बैंकको १४६ रुपैयाँ, सिन्धु विकास बैंकको १२१ रुपैयाँ र तिनाउ विकास बैंकको सेयर १७७ रुपैयाँमा कारोबार भएको छ ।

विकास बैंक एसोसिएसनका अध्यक्ष भरत ढकालले विकास बैंकको कारोबार तथा वासलात एकाधको बाहेक धेरैको राम्रो रहेको बताए । सेयर बजारमा उतार चढाव आउँदा त्यसबाट अरु क्षेत्र जस्तै विकास बैंक समूह समेत प्रभावित भएको उनको भनाई छ ।

बजार बढाउने वा घटाउने विषय आफूहरुको नभएको जानकारी दिँदै अध्यक्ष ढकालले भने, “ग्रामीण क्षेत्रमा हामीले वित्तीय सेवा दिएका छौं । सेयर बजार कहिले बढ्छ कहिले घट्छ यो सामान्य प्रक्रिया हो । हामी आत्तिएका छैनौं ।”

सेयर बजारका जानकारका अनुसार नयाँ लगानीकर्तालाई भने लगानीको सुवर्ण अवसर प्राप्त भएको छ । शेयर विश्लेषक प्रकाश तिवारीले दीर्घकालीन फाइदाका लागि बजार घटेको बेला सेयर खरिद गर्न सहज हुने बताए ।

(माथिको सामाग्री राससको सहयोगमा निमार्ण गरिएको हो । )

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।