नयाँ आर्थिक बर्ष लागे यता साउन १ गतेदेखि असोज ४ गतेसम्मको अवधिमा नेप्से सूचक ५०.७६ अंकले बढेको छ ।
दुई महिनाको अवधिमा नेप्सेमा ४.२१ प्रतिशतको सुधार देखिएको हो। साउन १ गते १२०४.३१ बिन्दुमा रहेको नेप्से सूचक असाेज ४ गतेसम्ममा १२५५.०७ अंकमा पुगेको छ ।
साथै यसबीचमा समग्र बजार पूँजीकरण समेत ६९ अर्बले बढेको छ । साउन, भदौ र असोजको पहिलो सातासम्म शेयर बजारका लगानीकर्ताको सम्पति झण्डै ७० अर्ब बढेको छ । गत साउन १ गते १४ खर्ब २६ अर्ब रहेको बजार पूँजीकरण असोज ४ गतेसम्म १४ खर्ब ९५ अर्ब रूपैयाँमा उक्लेकाे छ ।
पछिल्लो दुई महिनामा शेयर बजारका सूचकहरुलाई केलाउँदा यसबीचमा बजार प्रवेश गरेका अधिकांश लगानीकर्ताको नेटवर्थमा सुधार आएको देखिन्छ । विगतमा बजार उच्च अङ्कमा पुग्दा लगानी गरेर घाटा सहेका लगानीकर्तालाई पनि बजारले केही राहत दिएको छ ।
दुई महिनाको अवधिमा एघार समूहमध्ये सात समूहको सूचक बढेको छ भने चार समूहको घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको सूचक एक सय अंकले बढेको छ । वाणिज्य बैंक, विकास बैंक, होटल, वित्त, व्यापार र अन्य समूहको सूचकमा सुधार देखिएको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ४४५.१० अंकले घटेको छ । यस्तै निर्जीवन बीमा, लघुवित्त र जलविद्युत समूहको सूचक ओरालो लागेको छ । समूहगत सूचकमा आएको फेरबदलको आधारमा वाणिज्य बैंक सूमहको सूचक सबैभन्दा धेरै ७.५६ प्रतिशतले बढेको छ भने जीवन बीमाको सबैभन्दा धेरै ७.२७ प्रतिशतले घटेको छ ।
समग्रमा पछिल्लो दुई महिनामा शेयर बजारका अधिकांश सूचक सकारात्मक अवस्थामा देखिएका छन । गत दुई साता यता बजारमा कारोबार रकममा समेत क्रमश सुधार हुँदै गएको छ । औषतमा २० करोड बराबरको कारोबार हुने बजारमा ५० करोड बढीको कारोबार हुन थालेको छ । यसले शेयर बजारमा केही सुधारको संकेतहरु देखाएको छ ।
आगामी दिनमा के होला बजार ?
सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्नुका साथै साधारणसभा आह्वान समेत गर्न थालिसकेका छन् ।
लाभांश घोषणाको क्रमले बजार चलायमान हुन थालेको छ । अझै पनि लगानीकर्ताको ध्यान वाणिज्य बैंकहरुले घोषणा गर्ने लाभांशमा नै देखिन्छ ।
वाणिज्य बैंकहरुले लगानीकर्तालाई निराश नपार्नेगरी लाभांश योजना ल्याएमा बजारले सकारात्मक बाटो समात्ने आंकलन गर्न सकिन्छ ।
यसबीचमा बजारमा आएको सुधारले अधिकांश लगानीकर्ताले बैंकहरुबाट आउने मार्जिन कलको तनावबाट मुक्त रहेका छन् । बजार सुधारीएको मार्जिन कलको समस्या रहँदैन जसले लगानीकर्तामा उत्साह नै पैदा गर्छ ।
अर्कातर्फ केही वाणिज्य बैंक तथा विकास बैंकहरुले शेयर कर्जाका नयाँ योजना सार्वजनिक गरेका छन् भने अन्य बैंकहरुले पनि यस्ता योजना ल्याउने अपेक्षा गरिएको छ । शेयर कर्जामा हुने बढोत्तरीले बजारलाई नयाँ उचाईमा पुर्याउन सक्छ ।
सबैभन्दा महत्वपूर्ण असोज लागेपछि बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर घटाउने ठूलो अपेक्षा लगानीकर्तामा छ । बैकर्सहरुले पनि यसअघि पटक पटक असोजपछि बैंक ब्याजदर घट्ने बताउँदै आएको थिए । कर्जाको ब्याजदर घट्न गएमा बजारलाई झन् टेवा पुग्ने देखिन्छ । त्यस्तै चाडपर्व नजिकिदै गर्दा बजारमा नगद प्रवाह समेत बढ्ने हुँदा शेयर कारोबार समेत थप चलामायन हुने अपेक्षा सर्वत्र छ ।
नेप्सेले अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउने अन्तिम तयारी गरेको छ । अर्थमन्त्रालयले शेयर बजारको करको बिषयमा उत्पन्न विवाद समाधान गर्ने प्रयास गरिरहेको छ । मार्केट मेकरको रुपमा कर्मचारी सञ्चयकोष लगायतलाई परिचालन गर्ने तयारी समेत गरेको छ ।
बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने लगायतका कामहरु पनि अगाडि बढ्दै जाँदा यी कुराहरुले आगामी दिनमा शेयरबजारलाई थप चलायमान बनाउने सहजै अनुमान गर्न सकिन्छ ।