नेपाल धितोपत्र बोर्डले तोकेको सूचीकरणको नयाँ दरका कारण केही समय नेप्सेमा सबै कम्पनीहरुको सूचीकरण हुन सकेको थिएन । त्यसै बेला पञ्चकन्याले पनि सेयर सूचीकरण गराई सक्नु पर्ने थियो । तर प्रकृयागत ढिलासुस्तीको कारण देखाउँदै कम्पनीले सेयर सूचीकरण नगराएको हो ।
तत्कालिन समयमा घट्दो अवस्थामा रहेको बजार अहिले बढ्ने क्रममा छ । कम्पनीले लगानीकर्ताको सम्पत्तीको वेवास्ता गर्दा बढ्दो बजारमा कोही पनि लगानीकर्ताले पञ्चकन्याको सेयर बिक्री गर्न पाईरहेका छैनन् ।
यसले पञ्चकन्या माई हाइड्रो लगानीकर्ताका सम्बन्धमा लापरवाह भएको देखिएको छ । कम्पनीले गत जुलाई २७ तारिखका दिन सेयर बाँडफाँड गरेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको थियो । यस सम्बन्धमा क्यापिटलका एक अधिकारीले केन्द्रीय निक्षेप प्रणालीले राखेका शर्तका कारण सेयर सूचीकरणमा ढिलाई भएको बताए ।
नेप्सेमा सेयर सूचीकरण अबरुद्ध भए पछि सिडिएससीले वित्तीय विबरण हेरेर मात्र पञ्चकन्याको सेयर सूचीकरणको प्रकृया अघि बढाउने शर्त राख्दा ढिलाई भएको उनको भनाई छ । अहिले सबै प्रकृया पुरा भएको भन्दै उनले केही दिनमा नै सेयर सूचीकरण हुने बताए ।
यद्यपी लगानीकर्ताले गरेको लगानी महिनौंसम्म बिनाकुनै आधार बन्धक हुँदा नियामक निकाय भने मौन बसेको छ । यसले आम लगानीकर्ताहरु नियामक निकाय तथा सूचीकृत कम्पनीहरुप्रति सकारात्मक हुन नसक्ने अवस्थालाई उजागर गरेको छ ।