तनहुँ जलविद्युतको ठेक्का सम्झौता, डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य

Oct 01, 2018 Merolagani

तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बा“ध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सारभूत रुपमा तथा न्यूनतम मूल्याङकित इटालियन कम्पनी सिएमसीसँग सम्झौता भएको छ ।

तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिएमसीसँग रु.२० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको हो ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम ९ पावरहाउस, वाटरवे र सम्बन्धित समाग्री ) सारभूत रुपमा तथा न्यूनतम मूल्याङकित चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड सँग सम्झौता भएको छ ।  

तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिनो हाइड्रोकातर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गरे । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि कर बाहेक)मा खरिद सम्झौता भएको हो ।

दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ ।

प्रवन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गरे ।

उनले आयोजना निर्माण निर्धारित समयमा सम्पन्न गर्र्ने प्रतिबद्धताका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र निर्माण कम्पनीहरुका उच्च तहको व्यवस्थानबीच दशै अगावै छलफल गर्न लागिएकोले सोही अनुसार तयारी गर्न आग्रहसमेत गर्नु भयो । निर्माण कम्पनीहरुले आयोजना निर्धारित समयमै सम्पन्न  गर्ने प्रतिबद्धता जनाएका थिए ।

तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । 

पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहुँको रिसिङ गाउँपालिका–१मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ । जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५ मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण सुरु गर्ने प्रक्रियामा छ ।

कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ ।

यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।