पुनःनिर्माणले गति लिएसँगै बजेट खर्च बढ्न थाल्यो, बाँकी काम सम्पन्न गर्न थप ६ खर्ब लाग्ने

Oct 08, 2018 RSS

 भूकम्पपछिको पुनःनिर्माणका लागि ४ खर्ब १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता भएकामा हालसम्म ३ खर्ब ६ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ । भूकम्पपछि विसं २०७२ असारमा सम्पन्न दाता सम्मेलनमा भएको प्रतिबद्धताअनुसार सम्झौताको क्रम चलिरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 

  प्रतिबद्धता भएको बजेटमध्ये ६७ अर्ब रुपैयाँ तत्कालको उद्धार तथा राहतमा खर्च भएको थियो । पञ्चवर्षीय पुनःनिर्माण योजना अन्तर्गतका योजना तथा कार्यक्रम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आँकलन गरिएको छ ।

चालु आर्थिक वर्षसम्म पुनःनिर्माणका लागि ३ खर्ब ३८ अर्ब रुपैयाँ बजेट छुट्याइसकिएको प्राधिकरणका सहप्रवक्ता एवं सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए ।

पुनःनिर्माणका बाँकी काम सम्पन्न गर्न थप करीब ६ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । “पुृनःनिर्माणमा बजेटको अवस्था के छ रु भनेर हाल समीक्षा भइरहेको छ, असोजमै बजेटको अवस्था र बाँकी कति रकम आवश्यक पर्छ भन्ने सूक्ष्म प्रतिवेदन ल्याउने तयारी भएको छ,” उनले भने। आव २०७२/०७३ र २०७३/०७४ मा निजी आवास पुनःनिर्माणमा छुट्याएको बजेट पनि खर्च हुन सकेको थिएन । आव २०७४/०७५ देखि निजी आवास पुनःनिर्माणले गति लियो ।

पुनःनिर्माणले गति लिएसँगै बजेट पनि बढी खर्च हुन थाल्यो । गत आर्थिक वर्षमा पुनःनिर्माणमा १ खर्ब ८६ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको थियो । प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको आठौँ बैठकले सरकार र दातृ निकायसँगको सहकार्य एवं छलफलमा पुनःनिर्माणमा देखिएको आर्थिक अन्तरलाई पूरा गर्न पहल गर्ने निर्णय गरेको थियो ।

 

बैठकले दाताले प्रतिबद्धता जनाएका रकमको सम्झौतालाई प्राथमिकता दिन पहल गर्ने निर्णयसमेत गरेको थियो । पुनःनिर्माणमा केही स्रोत गैरसरकारी तथा निजी क्षेत्रबाट पनि परिचालन भएको छ । पञ्चवर्षीय पुनःनिर्माण योजना परिमार्जनको क्रममा रहेको र त्यसपपछि वास्तविक वित्तीय आवश्यकता आउने जनाइएको छ ।

भूकम्पबाट प्रभावित ८ लाखभन्दा बढी घर परिवारमध्ये निजी आवास निर्माणका लागि ९० प्रतिशतले पहिलो किस्ता, ६२ प्रतिशतले दोस्रो किस्ता र ३२ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेका छन् । भूकम्पबाट क्षति भएका घरमध्ये ३६ प्रतिशतको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

पुनःनिर्माण हुनुपर्ने सात हजार ५०० विद्यालयमध्ये ३ हजार ८०० विद्यालयको निर्माण सम्पन्न भएको छ । २ हजार ७०० विद्यालय निर्माण क्रममा छन् । १ हजार २०० स्वास्थ्य संस्थामध्ये ६५० को निर्माण पूरा भएको छ । १५० स्वास्थ्य संस्था निर्माणाधीन छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ७५३ सम्पदामध्ये १८५ वटा सम्पदाको निर्माण सम्पन्न भएको छ । ३१० सम्पदा निर्माणका क्रममा छन् ।

भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी ऐेन, २०७२ मा विकास सहायताद्वारा सञ्चालित कार्यक्रमलाई प्रभावकारी र पारदर्शी बनाउन, अनुमगन गर्न गराउन प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार र नागरिक समाजको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने व्यवस्था छ । प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरे बजेट अभाव भएरै हालसम्म पुनःनिर्माण नरोकिएको बताउछन् । छुट्याइएको बजेट नै पुनःनिर्माणमा खर्च हुन नसकेकाले काम गर्ने क्षमता बढाउनु आवश्यक रहेको उनको भनाइ छ ।

चारवटा एकीकृत बस्ती पुनःनिर्माण योजना स्वीकृत

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरण कार्यकारी समितिको आजको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका–३ फुयाँल गाउँस्थित फुयाँल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याँडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याँडीटोल एकीकृत माझी बस्तीको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो ।

बैठकले सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–१२ गिराञ्चौरस्थित सामुदायिक पुनःनिर्माण पर्यटन प्रवद्र्धन परियोजना र काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–७ पुखुलाछीस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई समेत स्वीकृत गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको सहप्रवक्ता एवं सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए।

फुयाँलगाउँ एकीकृत नमूना बस्तीमा १२, झ्याँडीटोल एकीकृत बस्तीमा ५६, गिराञ्चौरस्थित सामुदायिक पुनःनिर्माण पर्यटन प्रवद्र्धन परियोजनामा १३५ र सिर्जनशील एकीकृत बस्ती विकासमा १६ घरधुरी रहनेछन् ।

तीन लाख बढी घर पुनःनिर्माण

पुनःनिर्माण सम्पन्न निजी आवासको सङ्ख्या ३ लाख नाघेको छ । प्राधिकरणको सूचना प्रणालीमा प्राप्त तथ्याङ्कअनुसार ३ लाख ५ हजार ८८३ निजी आवासको पुनःनिर्माण सम्पन्न भएको छ । २ लाख ५१ हजार ५२७ घर निर्माण भइरहेको उनले जानकारी दिए ।

निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको सङ्ख्या सात लाख २६ हजार ९१७ छ । आजै बसेको कार्यकारी समितिको बैठकले गुनासो सुनुवाइबाट ४४५ लाभग्राही थपेको छ । थपिएसँगै लाभग्राहीको सङ्ख्या ८ लाख ११ हजार १३५ पुगेको छ ।

गुनासो सुनुवाइबाट दुई हजार ३४३ भूकम्पपीडित प्रवलीकरण सूचीमा समावेश भएका छन् । प्रवलीकरण सूचीमा सूचीकृत लाभग्राहीको सङ्ख्या ६४ हजार २३४ पुगेको प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माण सूचीमा परेका लाभग्राहीले ३ लाख र प्रबलीकरण सूचीमा सूचीकृत लाभग्राहीले १ लाख रुपैयाँ अनुदान पाउँछन् । ३ लाख तीन किस्ता र १ लाख रुपैयाँ दुई किस्तामा दिने प्राधिकरणको कार्यविधिमा उल्लेख छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।