स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउँदै उनले सङ्क्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पारे ।
भ्रष्टाचार नियन्त्रण कार्यलाई नियन्त्रण गर्न आयोग सक्रियताका साथ लागेको बताउँदै उनले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए-नभएको, कानूनको पालना भए-नभएको जस्ता विषयमा अध्ययन अनुसन्धान भइरहेको उल्लेख गरे ।
पोखरामा निर्माणाधीन कार्यालय भवनले पोखराबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पु¥याउने घिमिरेको भनाइ छ ।
आयोगका सचिव महेश्वर न्यौपानेले सङ्घीय संरचनाअनुरुप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको बताए।
मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै आयोगको कामको प्रभावकारिताका लागि जनशक्तिलाई तालीम प्रदान गरिएको बताए ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले तीन तहका सरकार गठन भई काम थालिसकेको वर्तमान अवस्थामा सुशासनका लागि आयोगको निगरानी आवश्यक हुने बताए।
आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले नवनिर्मित भवन कूल १४ करोड ७२ लाख ३६ हजार ५७३ लागतमा ठेक्का सम्झौता भई काम अघि बढेको जानकारी दिए।