शुक्रबार मात्रै झण्डै दुई दर्जन वाणिज्य बैंकहरुले नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । बैंकहरुले असोज २६ गते शुक्रबारदेखि नै लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।
बैंकर्स संघको बैठकमा साधारण बचतमा पाँच प्रतिशतभन्दा कम ब्याज नदिने तथा मुद्धती बचतमा दश प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति भएको थियो ।
यस्तै व्यक्तिगत मुद्धती खातामा दश प्रतिशत र संस्थागत मुद्धती खातामा भने नौं प्रतिशतसम्म व्याज दिने सहमति गरेका छन् । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार संस्थागतमा बैंकहरुले प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढी दिन सक्छन् भने ब्यक्तिगतमा आधा प्रतिशत बिन्दु बढी दिन सक्छन्।
बैंकहरुले यसअघि साधारण बचतमा सात प्रतिशतसम्म र मुद्धतीमा १० दशमलव ५० प्रतिशतसम्म ब्याज दिने समझदारी बैंकहरुले गरेका थिए । तर केही बैंकले भने संस्थागत बचतकर्तालाई तोकिएभन्दा बढी व्याजदर दिएको भन्दै बैंकर्स संघमा उजुरी गरेका थिए ।
गत साउनदेखि हालसम्म बैंकहरुले ३९ अर्ब निक्षेप संकलन गरेका छन् । तर सोही अवधिमा ९२ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सन्तुलन नभएपछि बजारमा फेरि लगानीयोग्य रकमको अभाव हुनसक्ने सम्भावना देखिएको छ । बजारमा करिब ३५ अर्बको हाराहारीमा मात्रै तरलता रहेको छ ।