बीमा समितिको तथ्यांक अनुसार एक्चुअरी मुल्यांकन भएका ८ जीवन बीमा कम्पनीहरू मध्ये ५ कम्पनीको व्यतीत दरमा सुधार आएको छ भने ३ कम्पनीको यो दर बढेको छ ।
अघिल्लो आर्थिक वर्ष सबैभन्दा उच्च रहेको सूर्या लाइफ इन्स्योरेन्सको बीमालेख व्यतीतदर २७ प्रतिशतले घटेको छ । कम्पनीको बीमालेख व्यतीतदर ३० प्रतिशत रहेकोमा यो दर २७ प्रतिशतले घटेर ३.१२ प्रतिशतमा झरेको हो ।
यस्तै नेपाल लाइफको ९ प्रतिशतले घटेर १५.१५ प्रतिशत, गुराँस लाइफको ५.५६ प्रतिशतले घटेर १५.९१ प्रतिशत, एलआइसी नेपालको १.४३ प्रतिशतले घटेर ५.१२ प्रतिशत रहेको छ ।
यसैगरी सबै भन्दा कम एशियन लाइफ इन्स्योरेन्सको बीमालेख व्यतीत भएको छ । एशियन लाइफको ०.०४ प्रतिशत बीमालेख व्यतीत भएको बीमा समितिको तथ्यांक छ ।
यता प्राइम लाइफको बीमालेखको व्यतीत दर सबैभन्दा धेरै छ । अघिल्लो वर्ष १९.३८ प्रतिशत रहेको व्यतीत दर २.६३ प्रतिशतले बढेर २२.०१ मा पुगेको हो । यस्तै मेटलाइफको २१.३५ प्रतिशत, नेशनल लाइफको १८.५० प्रतिशत रहेको छ ।
१० प्रतिशत सम्म रहेको बीमालेख व्यतीत अनुपातलाई सामान्य मानिन्छ । यस्तै १० प्रतिशत देखि २० प्रतिशत सम्मको अवस्थालाई मध्यम र २० प्रतिशत देखि ३० प्रतिशत सम्मलाई भने जोखिमयुक्त मानिन्छ ।
के हो ? बीमालेख व्यतीत
बीमितले तोकिएको समयमा बीमालेख नवीकरण अर्थात बीमाशुल्क भुक्तान नगरे बीमालेख व्यतीत हुन्छ । तोकिएको समयावधि सकिएपछि बीमा शुल्कको किस्ता भुक्तानी गर्न ३० दिनको समय थपिनेछ । त्यस अवधिभित्र पनि बीमा शुल्क भुक्तान नगरेमा बीमालेख निष्क्रिय अर्थात व्यतीत हुन्छ ।
बीमितले मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा बीमालेख नवीकरण गर्न सकिने प्रावधान छ ।
किन हुन्छ बीमालेख व्यतीत ?
नेपालमा अझै पनि जबर्जस्ती बीमा गराउने प्रचलन छ । यसरी बिक्री गरिएका अधिकांश बीमालेख नवीकरण नहुनुमा बीमित र अभिकर्ताकै कारण भएको पाइन्छ । नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार साना बीमालेखहरूको मात्रा धेरै भएकोले बीमालेख व्यतीत अनुपात धेरै देखिएको बताए ।
एउटा कम्पनीमा रहेको पोलिसी छोडेर अर्को कम्पनीमा बीमा गराउँदा पनि बीमालेख व्यतीत हुने गरेको उनको भनाई छ । विगत ३/४ वर्ष देखि बीमालेखको व्यतीत अनुपात घट्दै गएको उनले दाबी गरे ।